भूकम्पपीडितलाई आएको तेल खानै नहुने

0 14
काठमाडौं : भूकम्पपीडित लागि आएको तेल खान अयोग्य भेटिएको छ। खाद्य संस्थानको थापाथलीस्थित गोदाममा राखिएको तेल अखाद्य भेटिएको हो।
भूकम्प पीडितका लागि भनेर संयुक्त अरब इमिरेट्स (यूएई) को दिल्लीस्थित दूतावासबाट प्याक भई आएको राहत सामग्रीमध्ये हिमालयन ब्रान्डको पामोलिक ओयल (तेल) खान अयोग्य भेटिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रतिवेदनमा उक्त तेल खान अयोग्य भनेर लेखिएको छ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले राजधानीमा गरेको बजार अनुगमनको क्रममा यस्तो तथ्य भेटिएको जनाइएको छ।
नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग (उपभोक्ता हित शाखा) ले विभागको नियमित अनुगमन कार्यतालिका र प्राप्त उजुरीको आधारमा खटिएको बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा यस्तो तथ्य भेटिएको हो।
अखाद्य तेल खाद्य संस्थानको गोदामबाट दुई हजार ६५ लिटर तेलका बोतल वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा ल्याइएको छ। भण्डारण गरिएको गोदाममा रहेका बाँकी तेल समेत संकलन गरी विभागमा ल्याएर सो तेल नष्ट गर्ने कार्य भइरहेको अनुगमन टोली प्रमुख एवं विभागका उपमहानिर्देशक कमलप्रसाद भट्टराईले बताए।
यसअघि जेठ ९ गते गरिएको बजार अनुगमनको क्रममा पनि खाद्य संस्थानको गोदाम थापाथली काठमाडौंमै भूकम्प पीडितका लागि भनी संयुक्त अरब इमिरेट्सको दिल्लीस्थित दुतावासबाट प्याक भई आएको राहत सामग्रीमध्येको सोही तेल अखाद्य भेटिएको विभागले जनाएको छ।
अनुगमनपछि संस्थानको गोदाममा अलग गरिएका एक हजार एक सय ७० बोतल तेल वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा ल्याई भण्डारण गरिएको जनाइएको छ। गोदाममा रहेका थप सोही ब्रान्डको तेल वितरण नगर्न निर्देशन दिइएको छ।