स्कूल बन्द गरेर यार्सागुम्बा टिप्‍न लेकतिर

0 3
भीमदत्तनगर : यार्सागुम्बा सङ्कलन आम्दानीको राम्रो स्रोत बन्न थालेपछि दार्चुलाका उच्च पहाडी भेगका ६० भन्दा बढी सरकारी विद्यालय बन्द भएका छन् ।
विद्यार्थी यार्सागुम्बा सङ्कलनका लागि गएपछि जिल्लाको दुहुँ र मार्मा क्षेत्रका ती विद्यालयको पठनपाठन बन्द भएको हो। विगत सात वर्षदेखि त्यहाँ विद्यालय व्यवस्थापन समितिले हिउँदे बिदा कटौती गरी सङ्कलनका लागि बिदा दिन थालेको छ । शिक्षा कार्यालयका विद्यालय निरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार यो समयमा १५ देखि २५ दिनसम्म बिदा दिने गरिन्छ । खण्डेश्वरी, सिप्टि र सुनसेरा स्रोतकेन्द्र अन्तर्गतका सबै विद्यालय यतिवेला बन्द भइसकेका छन् ।
“सिङ्गो गाउँ नै यार्सा सङ्कलनमा जुट्छ” उनले भने। शिक्षक, विद्यार्थी र अभिभावक सवै जेठ महिना सुरु भएपछि यार्सा सङ्कलन गर्न हिमाली भेगतर्फ उक्लिने गरेका छन् । खण्डेश्वरी स्रोत केन्द्रका १४, सिप्टीमा ३३ र सुनसेराका १३ वटा विद्यालय बन्द छन् । खण्डेश्वरी स्रोत केन्द्रका स्रोत व्यक्ति नरेन्द्रबहादुर सिंहले आफ्नो स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा १५ दिनको बिदा दिएको बताए।
“बिदा नदिए पनि यो समयमा विद्यार्थी स्कुल आउँदैनन्” उनले भने। विद्यालय व्यवस्थापन समितिले नै बिदाको निर्णय गरेको हो । यार्सागुम्बा सङ्कलनबाट प्रति विद्यार्थीले एक सिजनमा रु ५० हजारदेखि रु तीन लाखसम्म कमाउने गरेको उनले बताए । “यो क्षेत्रमा स्थानीयको आम्दानीको स्रोत नै यार्सा सङ्कलन हो ।” उनले भने–“त्यही भएर सिङ्गो परिवार सङ्कलनमा लाग्छ ।”
खण्डेश्वरी स्रोत केन्द्रका १४ विद्यालयका एकहजार ३०० विद्यार्थी यार्सा सङ्कलन गर्न घुसा गाविसको लोलुवन, चाइँमटेलालगायतका ठाउँमा गएका छन् । पढाइ प्रभावित हुन नदिन हिँउदे बिदा कट्टी हुने गरी विद्यालय व्यवस्थापन समितिले यार्सा बिदा मिलाउने गरेको छ।
शिक्षा कार्यालयका विद्यालय निरीक्षक भट्टले तीनवटा स्रोत केन्द्रबाहेक अन्य क्षेत्रका विद्यालय पनि फाट्टफुट रुपमा यार्सा सङ्कलनका लागि केही दिन बन्द भएको जानकारी दिए । शिक्षक–विद्यार्थीले यार्सा सङ्कलन गर्न जाने स्थलमा घुम्ती विद्यालय सञ्चालन गर्ने गरेको पाइएको छ ।
यार्सागुम्बाको सङ्कलन सुदूरपश्चिममा दार्चुला र बझाङ्मा मात्र हुन्छ । यार्सा सङ्कलन क्षेत्र दार्चुलामा ‘अपि नाम्पा’ संरक्षण क्षेत्रमा पर्छ भने बझाङमा जिल्ला वन अन्तर्गत रहेको छ । तर यार्सा सङ्कलन पुँर्जीको उचित व्यवस्थापन यहाँका सरकारी निकायले गर्न सकेका छैनन् । अपि नाम्पा संरक्षण क्षेत्रले यार्सा सङ्कलन प्रवेश शुल्कका लागि वन मन्त्रालयसित निर्देशन मागेको भए पनि आएको छैन । तर सङ्कलकले यार्सा सङ्कलन गर्न थालिसकेका छन् ।
यार्सा सङ्कलन गर्न हिमाली क्षेत्रमा रहुन्जेलसम्मका लागि उनीहरुले अस्थायी वसोवास र खाद्यान्नको जोहो गर्छन् । सङ्कलनका लागि कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, हुम्ला, धादिङलगायतका जिल्लाबाट समेत सर्वसाधारण दार्चुला र बझाङ पुग्ने गर्दछन् ।
“प्रतिकिलो यार्साको राजस्व रु १० हजारका दरले बुझाउनुपर्छ” अपि–नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले भने–“व्यापारीले छुटपूर्जी लिएर मात्रै बिक्रीका लागि लैजान बाटो खुला हुन्छ ।” गत वर्ष दार्चुलामा यार्सा सङ्कलन गर्ने सर्वसाधारणको सङ्ख्या ५० हजार पुगेको थियो । बझाङमा उक्त सङ्ख्या २० हजार नाघेको थियो । दार्चुलामा साढे आठ क्विन्टल र बझाङमा तीन क्विन्टल ८० किलो सार्यागुम्बा सङ्कलन भएको थियो ।
सङ्कलकबाट व्यापारीले रु १२ लाखदेखि रु १५ लाख प्रति किलोका दरले खरिद गर्छन् । गत वर्ष उनीहरुले प्रति किलो यार्सा रु २० देखि रु २२ लाखसम्ममा बिक्री गरेका थिए ।