बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई आँधीखोला

0 3
काठमाडौं : भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनामा मुलुक नै व्यस्त भएका बेला ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले एउटा चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा आँधीखोला जलाशययुक्त आयोजना (एक सय ८० मेगावाट) दिन विद्युत् प्राधिकरणमा प्रस्ताव लगेकी छन्।
चीनको गेजुवा क पनीलाई उक्त आयोजनाको जि मा दिन मन्त्री ज्ञवालीले लगेको प्रस्ताव विद्युत् प्राधिकरण सञ्चालक समितिको बिहीबारको बैठकमा पेस हुनेछ।
प्राधिकरणले एक दशकदेखि अध्ययन गर्दै आइरहेको आन्तरिक खपतका लागि अत्यन्त आकर्षक मानिएको आँधीखोला आयोजना अपारदर्शी ढंगले गेजुबालाई दिलाउन प्राधिकरणका उच्च तहका कर्मचारी, सम्पूर्ण सञ्चालक समितिका सदस्य सकारात्मक छन्।
सञ्चालक समितिका सदस्यहरूले भने यस प्रस्तावबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका छन्। स्रोतका अनुसार गेजुवाका स्थानीय एजेन्टले राजनीतिक दबाबमा उक्त आयोजना हात पार्न लागेका हुन्।
करिब साढे दुई महिनाअघि नै ऊर्जामन्त्री ज्ञवालीले चिनियाँ कम्पनीलाई यो आयोजना दिलाउन वार्ताका लागि प्राधिकरणका सुरेन्द्र राजभण्डारीको संयोजकत्वमा समिति गठन गर्न लगाएकी थिइन्।
समितिले उक्त कम्पनीसित गोप्य वार्ता गरी आयोजना उसलाई सुम्पन हुने गरी प्रतिवेदन दिइसकेको छ। उक्त प्रतिवेदनलाई आधार मानेर बिहीबार बस्ने बोर्ड बैठकबाट प्रस्ताव पारित गराउन लागिएको हो।
गेजुवासित वार्ताका लागि समिति गठन गर्ने प्रस्ताव प्राधिकरणबाट पारित भएको थियो। उक्त प्रस्तावमा अर्थ सचिव सुमनप्रसाद शर्मा र सञ्चालक लक्ष्मण अग्रवालले हस्ताक्षर गरेका छैनन्।
भूकम्प आउनुअघि नै प्राधिकरण बोर्डबाट प्रस्ताव पारित गर्ने तयारी थियो। वैशाख १२ गते आएको भूकम्प र त्यसपछि लगातार आइरहेका पराकम्पका कारण प्राधिकरण सञ्चालक समितिको बैठक बस्न सकेको थिएन।
‘बैठक बस्ने भनेर तय गरिएको दिनमा भूकम्प गएर सबैलाई आतंकित पार्‍यो’, प्राधिकरण स्रोतले भन्यो, ‘भोलि (बिहीबार) भूकम्प गएन भने बस्ने बैठकले गेजुवाको फाइल सदर गर्छ।’
प्राधिकरणले आफ्नै खर्चमा अध्ययन गरिरहेको यो आयोजना गेजुवा आफैंले प्राधिकरणसित मिलेर निर्माण गर्न प्रस्ताव गरेको थियो। उसलाई प्रस्ताव हाल्न लगाएर मन्त्री ज्ञवालीले ऊर्जासचिव, प्राधिकरणका कार्यकारी निर्देशक र सञ्चालक समितिका सबै सदस्यलाई पारित गराउन दबाब दिँदै आएकी छिन्।
प्राधिकरण बोर्डले पारित गर्नुअघि मन्त्रीले प्राधिकरणका इन्जिनियरलाई खटाएर चिनियाँ कम्पनीसित आँधीखोलाको साइट भिजिट पटकपटक गराइसकेकी छन्।
प्रसारण लाइन र प्रवेश मार्ग करिब बनिबनाउ रहेको, लोडसेन्टरदेखि नजिक रहेको, अहिलेको प्रणालीमा उपयुक्त रहेको र वित्तीय हिसाबले पनि आकर्षक देखिएकाले गेजुवाले यो आयोजनामा आँखा लगाउँदै आएको हो।
एक सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत्गृहको बाँधस्थलदेखि करिब एक किलोमिटर माथि पर्ने भएकाले आँधीखोलाको प्रवेशमार्ग र प्रसारण लाइनमा खर्च लाग्दैन।
‘मन्त्रीको नियत सफा भइदिएको भए यो आयोजनामा प्रतिस्पर्धा हुनुपर्थ्यो ‘, प्राधिकरणका अर्का इन्जिनियरले भने, ‘सरकारले पनि विद्युत् ऐनको दफा ३५ बमोजिम प्रतिस्पर्धा गराएर मात्र विदेशी कम्पनीलाई दिनुपर्थ्यो, सोझै दिनु भनेको नीतिगत भ्रष्टाचार हो।’
स्रोतका अनुसार यो आयोजनामा गेजुबाको बहुमत सेयर हुने गरी ‘मोडालिटी’ तयार गरिएको छ।