राष्ट्रपतिलाई जंगी अड्डामा विशेष ब्रिफिङ

0 6
भूकम्पपछिको उद्धार तथा राहतमा सेनाको भूमिका प्रशंसनीय’
काठमाडौं : नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपति डा. रामवरण यादव बुधबार जंगीअड्डा पुगेर विनाशकारी भूकम्पपछिको उद्धार तथा राहत वितरणमा सेनाबाट भइरहेका कामबारे जानकारी लिएका छन् ।
भूकम्प पीडिततहरुको लागि खोज, उद्धार, राहतसामाग्री बितरण तथा भग्नावशेष व्यवस्थापन एवम् जोखिमयुक्त घरहरु हटाउन हालसम्म नेपाली सेनाले गरिरहेको काम तथा अपनाएको विधिबारे सैनिक मुख्यालयमा विशेष व्रिफिङ गरिएको थियो । नेपाली सेनाले अपनाएको विपद व्यवस्थापन प्रणालीबारे राष्ट्रपतिसमक्ष प्रस्तुति देखाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति गौरव शम्शेर ज.ब.रा. ले राष्ट्रपतिलाई स्वातग गरेका थिए।  सम्बन्धित विभागका अधिकृत प्रतिनिधिहरुले नेपाली सेनाले बैशाख १२ गते गएको आम विनाशकारी भूकम्प पश्चात गरेको खोज, उद्धार, राहत लगायत अन्य गतिविधिहरुको जानकारी एवम् हालसम्मको कार्य प्रगति प्रतिवेदन तथा भावी योजनाको बारेमा प्रस्तुतीकरण गरेका थिए।
यसैक्रममा राष्ट्रपति यादवले शक्तिशाली भूकम्पबाट जंगी अड्डाको भौतिक संरचनाहरुलाई पारेको असर सम्बन्धमा समेत प्रत्यक्ष अवलोकन गरेका थिए। निरीक्षण भ्रमण पश्चात राष्ट्रपति यादवले नेपालीमाथि आइपरेको यस राष्ट्रिय विपद्को कठिन घडीमा भूकम्प पीडितहरुको खोज, उद्वार, राहत लगायत अन्य गतिविधिहरु संचालन गरी आम नागरिकहरुको रक्षार्थ एवम् दैनिकी सामान्यीकरण गर्न नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए।
निरीक्षण कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महत, रक्षा सचिव ईश्वरी प्रसाद पौडेल लगायत नेपाली सेनाका उच्च अधिकारी तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।