सक्छौ भने भूकम्पलाई थुन, ज्योतिषीलाई होइन !

0 12
१९९० साल माघ २ गते महाभूकम्प जानुअघि एक ज्योतिषी चिन्तामणि योगीले भनेछन्, ‘माघ २ गते बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म महाविपत्ति आउँदैछ, सावधान !’
उनी समाजमा स्थापित र प्रतिष्ठित मानिएकाले उनको भनाइ एक कान दुई कान मैदान हुने नै भयो। त्यतिखेर देशका राजा श्री ५ त्रिभुवन र प्रधानमन्त्री श्री ३ जुद्धशमशेर थिए।
राजकाज श्री ३ का हुकुममा चल्थ्यो। चिन्तामणि योगी (शब्दसागर कोषका लेखक वसन्तकुमार शम्र्मा नेपालअनुसार) लाई समाजमा आतंक फैलाएको आरोपमा सरकारले समातेर थुन्दै भन्यो, ‘त्यो दिन प्रलय भएन भने तँलाई सीधै सुली चढाइनेछ !’
यो कुराको पनि अत्यन्त प्रचार भयो। थुनामा परेका चिन्तामणिले माघ १ गते नै आत्महत्या गरे। माघ २ गते दिउँसो २.१० मा महाभूकम्प गयो। त्यो महाभूकम्पबाट कति क्षति भयो भन्नेबारेमा ब्रह्मशमशेरको पुस्तकमा वर्णन छ।
यो जानकारी गुरु वसन्तकुमारबाट पाइएको हो। उहाँसँग सोध्न गएको थिएँ, ‘गुरु , भुइँचालोको बारेमा पूर्वीय ज्ञान, ध्यान र अध्ययन छैन?’ उहाँले भन्नुभयो, ‘पूर्वीय अध्ययन पद्धतिमा खगोलशास्त्र, ज्योतिषशास्त्र छ नि ! तर पश्चिमका हरेक कुरामा हामी परनिर्भर भएकाले यतातिर खासै मान्छेको ध्यान जाँदैन। तिमी पत्रकारहरूले त झन् यिनका कुरा के सुन्छौ र?’
खगोलशास्त्र जसलाई अंग्रेजीमा एस्ट्रोनोमी र ज्योतिषशास्त्रलाई एस्ट्रोलोजी भनिन्छ। यी दुवैको सुरुआत र विकास हाम्रै महाद्वीपमा भएको हो। ग्रिकहरूले यहींबाट सिकेका हुन्।
यो गणित र ग्रह-नक्षत्रको गतिविधि र प्रभावको गहन अध्ययन हो। पश्चिमाहरूको यस क्षेत्रको ज्ञानको आधार पनि हाम्रै पुर्खाको ज्ञान हो। त्यसैले कहिले ग्रहण लाग्छ र त्यसको प्रभाव के पर्छदेखि अंकमा शून्यको योगदान पनि यही क्षेत्रका विद्वान्ले गरेका हुन्, पश्चिमकाले होइन।
९० वर्ष काटिसकेका वसन्त सरको कुराले मथिंगल रिंगायो। हाम्रो सभ्यता पनि तगडा रहेछ र विभिन्न विषयका बारेमा अध्ययन पद्धति पनि रहेछ, तर त्यो पश्चिमी र उनीहरूको अध्ययन पद्धतिभन्दा फरक ढंगको रहेछ।
अंग्रेजहरूले जे कुराको खोजी वा समस्याको समाधान जुन तरिकाले खोजेका छन्, त्यसभन्दा हजारौं वर्षअघि नै ती कुराको खोजी तथा समाधान भारतीय उपमहाद्वीपमा भइसकेको पो रहेछ !
पश्चिमाहरूले प्रयोग गरेको पद्धति र औजार हाम्रो प्राचीन पद्धति औजारसँग नमिल्ने भएकाले हामी पश्चिमी जीवन पद्धति अँगालेका आजका पुस्ताका मानिसहरू नै त्यस्तो पद्धतिको विकास भएको, त्यो कुन लिपि र भाषामा रहिरहेका र कसले अँगालिरहेको छ भन्ने खोजीतर्फ समेत वास्ता गर्न छोडेका रहेछौं।
विख्यात भारतीय समाजशास्त्री श्रीनिवासन्को ‘वेस्टरनाइजेसन भर्सेस संस्कृताइजेसन’ पुस्तक एमए पढ्दा पाठ्यक्रममा रहेको स्मरण भयो। श्रीनिवासन्ले कसरी पूर्वीय जीवनका मूल्य मान्यतालाई विकासका नाउँमा पश्चिमी सभ्यताले गाँजेको मात्र होइन, त्यसलाई पश्चिमी जीवनशैलीमा बदलिरहेको छ भन्ने गहिरो खोजबिन अध्ययन गरेका छन्।
श्रीनिवासन्को चर्चाले आफैंलाई पोलेको घटना पनि सुनाउँछु। केही वर्षअघि पत्रकार भनेर रिपोर्टिङको लागि एउटा कार्यक्रममा निमन्त्रणा आयो। कार्यक्रम थियो, स्वास्थ्य र सरसफाइको।
बिहानै गइयो, खासमा हातमुख धुनुपर्छ र खाना खानुअघि हात यसरी धुनुपर्छ भन्ने सिकाउने अभियानको सुरुआत रहेछ।  त्यसका लागि पर्चा, पोस्टर, स्टिकर र पुस्तिकाको पनि व्यवस्था थियो।
कार्यक्रमपछि खाना खाने मेलो रहेछ। खाना खाएर आफ्नो दैनन्दिनीयमा हिँडियो। साँझ सुत्ने बेलामा दिनभर भएगरिएका कामकुरा स्मरण गर्ने बानी रहेकाले हात धुनेबारे मनमा कुरा खेले। निदाएँ। सपना पनि हात धुने नै देखियो।
एकजना ऋषिजस्ता, तालु खुइलिएका र दारी-कपाल सेतै फुलेका वृद्ध आए। उनी चोरीऔंला ठड्याउँदै भन्न थाले, ‘बाबु, म तेरो हजुर बा, पण्डित काशीनाथ उपाध्याय ! तँ न मलाई सम्झन्छस् न चिन्छस् ! किनभने तँ दुई वर्षको नपुग्दै मेरो इहलीला सकियो। तर म तँलाई र तेरा गतिविधि यमलोकबाट हेरिरहेको छु।
आफूले सानैदेखि घर-गाउँको महिमा सुनेका पण्डित हजुर बासँग साक्षात्कार हुन पाउँदा म उद्वेलित बनिरहेको थिएँ। मैले हजुर बालाई ढोग्न खोजें।
उहाँले भो पर्दैन भनेर दुवै हात मेरो थाप्लोमाथि राखिदिँदै भन्नुभयो, ‘आज तँ गजबको कार्यक्रममा गएर भात खाएर आइस् हगि? तर तैंले त्यसबारे केही सोचविचार गरिस्?’
मैले भनें, ‘हो हजुर बा, के हामी साँच्चै हात पनि धुन नजान्ने, नुहाइधुवाइ, सरसफाइ, चोखोनितो, साझीबासीसमेत गर्ने सभ्यता नभएका मानिस हौं र? तपाईं माथिल्लो डोलको धारोमा सधैं नुहाउन जानु हुन्थ्यो रे !
नुहाइसकेपछि हिजो लगाएका लँगोटी र धोती फेरेर धुनु हुन्थ्यो रे! धोएको लँगोटी र धोती फेरेर अम्खोरामा पानी लिएर पीपलको बोट परिक्रमा गर्दै त्यसमा जल सिँचन गर्नुहुन्थ्यो रे !
त्यसपछि तामाको घल्चामा चोखो जल लिएर घरमा गई शालिग्रामको पूजाअघि तिनलाई पनि नुहाइदिएर पूजाअर्चना गर्नुहुन्थ्यो रे! शालिग्रामको जल तुलसीको मोठमा सेलाउन हुन्थ्यो रे! काग, कुकुरलाई खान दिएपछि मात्र अप्सनी हालेर आफू ढिँडो-भात जे छ खानु हुन्थ्यो रे, हो?’
हजुर बा मुसुक्क हाँसेर भन्न थाल्नुभयो, ‘बाबु, म मात्र होइन, मेरा हजुर बा, उहाँको पनि हजुर बा, उहाँको पनि हजुर बाको हजुर बा र उहाँको पनि कुप्रा बा र त्यसभन्दा पनि अघि सयौं पुस्तादेखिको चलन हो यो।
तर तैंले आज हात धोएर खाना खानुपर्छ भन्ने कार्यक्रममा बोलिस् पनि। प्रवचन दिइस्। केहीले ताली पनि बजाए। तँ गमक्क परिस्, मलाई त्यो देख्दा खिन्नता भयो !’
म हजुर बाका कुरा सुनेर हक्क न बक्क भएँ। बूढाले जे भने सही भने। म टोलाएको देखेर हजुर बाले करुण स्वरमा भन्नुभयो, ‘मेरा कुराले विचलित नहो बाबु। मैले तँलाई सम्झाउन के मात्र खोजेको हुँ भने, हामी पनि आफ्नो सभ्यता भएका जाति हौं।
हाम्रो पनि धर्म, दर्शन, संस्कृति र मूल्य मान्यता छन्। तिनमा सुधार पनि आवश्यक छ, तर अंग्रेजले आज तँ गएको कार्यक्रमको रिपोर्टमा के लेख्यो, थाहा छ तँलाई?’
उसले लेख्यो, मेरो जबाफै नखोजी उहाँ भन्दै जानुभयो, ‘हात धोएर पनि खान नजान्ने, पिछडिएको नेपाली जातिलाई हामीले हात धोएर खानुपर्छ भनेर सिकायौं।
हाम्रो कार्यक्रम सुरु भएपछि अब तीन करोड नेपालीले हात धोएर खानुपर्ने कुरा सिकेका छन्। यसपछि खुला दिसा गर्दैनौं भन्ने सिक्नेछन्।
 हाम्रो कार्यक्रमले नेपालीलाई सभ्य बन्न सिकाएको कुरा नेपाली समाजका राजनीतिज्ञ, विशेषज्ञ, समाजसेवी, सरकारी कर्मचारी, एनजीओकर्मी र पत्रकारले पनि महत्त्व दिएर यो सभ्यता सिकाउने कार्यक्रम देशभर विस्तार गर्नुपर्छ।
त्यो पत्रकार भनेको तैं होस् बाबु ! मेरो नातिले नै त्यो विदेशी जो आफू आची धुँदैन, पुस्छ, बाट हात धुन सिकेको कुरा सुन्दा मलाई यमलोकमा पनि आत्मग्लानी भयो बाबु !’
हजुर बाका खिन्नताको कुराले मलाई दु:खी बनायो। हात धुने कार्यक्रमको अर्को पाटोबाट म अनभिज्ञ रहेछु। झल्याँस्स भएँ। यताउति हेरें। पानी पिएँ र घडी हेरें, रातको तीन बजेको रहेछ।
त्यसपछि म सुत्न सकिनँ। छेउमा सुतेकी श्रीमतीलाई पनि उठाइनँ। मनमा कुरा खेलिरहे। त्यसपछि नै हो मेरो बुद्धिको घैंटोको बिर्को उघ्रिएको !
जहाँ जाँदा र जे विषयमा लेख्दा वा बोल्दा मैले आफ्नो र अर्काको संस्कृति, परम्परा, रीतिथिति र रैथाने ज्ञानले के भन्छ? त्यसको सन्दर्भबारे बुझ्न थालें। आजको आलेख भुइँचालोको भए पनि त्यसबारे हाम्रो रैथाने ज्ञान र परम्परा, बुद्धिले के भन्छ? त्यसको खोजी मात्र गर्न खोजिएको हो।
०७२ वैशाख १२, १३ र २९ गते गएका ठूला र त्यस उप्रान्त गइरहेका परकम्पबारे हामी सबैलाई थाहा छ। विभिन्न सञ्चारमाध्यमदेखि घरघरमा मात्र होइन, अनेक देशका विद्वान्बीच पनि भूकम्पबारे चर्चा र विश्लेषण चलिरहेछ।
यूएसजीएस ( अमेरिकी भूगर्भ समाज) सबैभन्दा बढी चर्चामा छ। उसले भूकम्प यति नै बेला जान्छ त भन्न सकेको छैन, तर गएपछि यति रेक्टर स्केलको गयो भनेर जनाउ दिइहाल्छ।
उसले के पनि भन्यो भने ठूलो कम्पपछि साना कम्प मात्र आउँछन्। त्यसबाहेक उसले के पनि भन्यो भने तिब्बती र भारतीय प्लेटको घर्षणले भूकम्प गएको हो र यसबाट जति शक्ति गयो त्यसअनुरूप काठमाडौंमा कम्पन भएन। हुनुपथ्र्यो ७०, भयो जम्मा १७ ! त्यसैले नेपालको भूकम्प अनौठो खालको छ।
कर्मकाण्डी ज्योतिषीले भूकम्प जान्छ भन्ने गणना गरेर निकालेको फलले डर-त्रास मच्चियो भने यूएसजीएसले भनेविपरीत पछिल्लो विनाशकारी भुइँचालो आयो, तर कोइराला सरकारले यूएसजीएसलाई पक्राउ गर्न सकेको छैन। ठूलो भुइँचालो आउँछ भन्ने निहत्था ओजराजलाई भने पक्राउ गर्‍यो।
यता नेपालका खगोलशास्त्री भनौं वा ज्योतिषशास्त्री, उनीहरू पूर्वीय विद्याका आधारमा ग्रह, नक्षत्र, पृथ्वी, चन्द्रमाको गति र अवस्थितिको हिसाबमा प्राकृतिक र दैवी विपत्तिको गणना गरिरहेका छन्। फलित र सिद्धान्त ज्योतिषका ग्रन्थका आधारमा व्याख्या-विश्लेषण गरिरहेछन्।
ज्योतिषी ओजराज लोहनीको अन्तर्वार्ता मैले हेर्न पाइनँ, तर डा. रुद्रनाथ अधिकारीसँग इमेज टीभीले १ वैशाख ०७२ मा प्रसारित अन्तर्वार्ता भुइँचालो गइसकेपछि हेर्न पाएँ।
उनले ग्रह, नक्षत्र, कुण्डलीको हिसाब गरेर भनेका कुराले अहिलेको भूकम्प वर्षामा आउने बाढीपहिरोलाई सीधै इंगित गरेका थिए। त्यस्तै संयोग ०५८ सालको बारेमा मलाई परेको छ।
०५७ सालको अन्तिम शुक्रबार प्रकाशित कान्तिपुरको सहप्रकाशन साप्ताहिकमा ज्योषिती ओजराज लोहनीको भविष्यवाणीले जेठ महिनामा राजा वीरेन्द्रमाथि अनिष्ट छ भनेर इंगित गरेको थियो।
राजा वीरेन्द्रको वंशविनाशपछि मैले यही स्तम्भमा कान्तिपुरमा चर्चा पनि गरेको थिएँ। भन्न के खोजिएको मात्र हो भने, पूर्वीय पद्धतिको खगोल वा ज्योतिषशास्त्रमा यूएसजीएसभन्दा बेग्लै प्राकृतिक वा दैवी विपत्तिबारे अध्ययन गर्ने पद्धति छ, जसलाई पश्चिमी पद्धतिले वैज्ञानिक होइन भन्छ।
तर यसको अस्तित्व छ भन्ने उदाहरण १९९०, २०५८, २०७२ साललगायतका घटना र त्यसबारेको भविष्यवाणीले उजागर गरेका छन्। होइन, यी सबै हावाको भरमा गरिएका कुरा मान्ने हो भने कसरी विपत्ति जानु र भविष्यवाणी मिल्नु एकैपटक मिल्न गए?
एकपटक होइन, पटकपटक ! अमेरिकी र नेपाली (पाश्चात्य विज्ञानका अनुयायी) का कुरा बेग्ल्याउनु पनि जरुरी छैन किनभने ती एउटै ज्ञानमा आधारित छन्, जसरी चिन्तामणि, ओजराज वा डा. रुद्रनाथको राशिफल एउटै खगोल र ज्योतिषशास्त्रमा आधारित छ।
ज्योतिषका कुरा भनेर पन्छाउन पनि सकिएन। समयतालिका वैज्ञानिक होला र त मिल्छ ! तर मेथोडोलोजी विदेशीसँगको मिल्दैन। तोयनाथ पन्तको पात्रोमा सय वर्षमा कुन दिन चन्द्र-सूर्य ग्रहण लाग्ने ट्वाक्कै भनिएको छ। यसो भन्न सक्ने ज्योतिषीको भूकम्पबारेको भनाइमा साँच्चै दम नहोला त?
तर उदेकलाग्दो कुरा के भयो भने १९९० सालमा श्री ३ प्राइममिनिस्टर जुद्धशमशेरको शासनमा जे भएको थियो, संघीय लोकतान्त्रिक गणतन्त्रका प्राइममिनिस्टर सुशील कोइरालाको शासनकालमा ज्योतिषीमाथि एउटै व्यवहार गरियो। भिन्नता के मात्र रह्यो भने योगीले आत्महत्या गरे, लोहनीले गरेनन्।
कर्मकाण्डी ज्योतिषीले भूकम्प जान्छ भन्ने गणना गरेर निकालेको फलले डर-त्रास मच्चियो भने यूएसजीएसले भनेविपरीत पछिल्लो विनाशकारी भुइँचालो आयो, तर कोइराला सरकारले यूएसजीएसलाई पक्राउ गर्न सकेको छैन। ठूलो भुइँचालो आउँछ भन्ने निहत्था ओजराजलाई भने पक्राउ गर्‍यो।
जबकि तिनै लोहनीको भनाइ मानेर हातका औंलाभन्दा बढी मुगा, पन्ना, माणिकजस्ता रत्नको औंठी लगाउने शेरबहादुर देउवा भावी प्रधानमन्त्रीको दाबा गरेर राष्ट्रिय सरकारको वकालत गरिरहेछन्।
अर्का त्यत्तिकै औंठी लगाउने पूर्वमन्त्री हृदयेश त्रिपाठी पनि राष्ट्रिय सरकारको पक्षमा छन्। कोइराला सरकार भने बारा जिल्ला कि वृद्धा गायत्री घिमिरेले भने झैं ‘निजामतीले पालेको बिरालो’ मात्र साबित भइरहेछ !