एभरेस्ट होटेल बस्न अयोग्य

May 27 2015 01:31
काठमाडौं : बानेश्वरस्थित पाँचतारे होटेल बस्न नमिल्ने भएको छ। गत वैशाखमा गएको भूकम्पक त्यसपछिका पराकम्पनका कारण होटेलका प्रमुख तीनवटा पिलरमा क्षति पुगेपछि पर्यटक राख्न नमिल्ने अवस्था आएको हो।
पर्यटन विभाग र होटेल संघ नेपाल (हान)को संयुक्त टोलीले मंगलबार होटेलको निरीक्षण गरी बस्न नहुने भन्दै रातो स्टिकर टाँसेको छ। होटेलको लबिमै रहेका तीनवटा मुख्य पिलर कमजोर भएका छन्।
पटकपटक भूकम्पको धक्का महशुश भइरहेकोले पर्यटकीय सुरक्षाका लागि जोखिम बढी देखिएर रातो स्टिकर टाँसिएको अनुगमन टोलीका प्राविधिक पोषनाथ अधिकारीले जानकारी दिए।
उनका अनुसार कपडाले छोपेर राखिएका तीनवटै पिलर कमजोर भएकोले तत्काल होटेल खाली गर्न निर्देशनसहित रातो स्टिकर टाँसिएको हो। उनले भने, ‘हाम्रो टोलीले होटेलको राम्रोसँग निरीक्षण गरेपछि बस्न नमिल्ने भनेका हौं।’
उनका अनुसर यो होटेलको रेक्ट्रोफिटिङसहितको प्राविधिक प्रक्रिया अपनाएर मर्मत गरेको अवस्थामा भने बस्न मिल्ने बनाउँन सकिने जानकारी दिएको छ।
नेपाल आउने विदेशी पर्यटक महँगो शुल्क तिरेर बस्न जाने पाँचतारे होटेल जोखिमपूर्ण देखिएकोले होटेलमा पर्यटक नराख्न र भएका पर्यटक पनि तत्काल हटाउन होटेल व्यवस्थापनलाई निर्देशन दिइएको अधिकारीले जानकारी दिए।
एभरेस्ट होटेलका महाप्रबन्धक प्रह्लाद कुँवरले सरकारी टोलीले रातो स्टिकर टाँसेपछि होटेल असुरक्षित छ भन्ने सन्देश गएको र यसको जानकारी पर्यटकलाई दिइसकिएको बताए।
होटेलमा करिब ५० प्रतिशत अकुपेन्सी छ। सबै पाहुँनालाई होटेलको अवस्था बारेमा जानकारी दिइएको छ। होटेलमा रहेको सबै गेस्टले आफ्नो अनुकूल मिलाएर अर्को होटेलमा सर्ने काम गर्न थालेको पनि कुँवरले जानकारी दिए।
उनका अनुसार होटेलको दुईवटा पिलरको सिमेन्टको प्लास्टर उप्किएको र पिलरमा लगाएको मार्वल खसेको छ। पिलरको बाहिरी भाग पुगेको भए पनि सरकारी टोलीले रेक्टो फिटिङ गरेर मात्र पर्यटक राख्न सकिने सुझाव दिएको छ।
यसका लागि २/४ दिनभित्रै आवश्यक मर्मतको काम हुने जानकारी पनि उनले दिए। यो होटेल १२ गते गएको भूकम्पपछि हानले प्राविधिक टोलीसहित अनुगमन गरेको थियो।
 ‘पहिलो अनुगमनबाट हरियो स्टिकर टाँस गरेको भएपनि पछिल्ले २९ गतेको पराकम्पनले होटेलाई बढी क्षति पुर्‍याएको रहेछ’ हानका प्रथम उपाध्यक्ष अमरमान शाक्यले भने।
उनका २९ गते अगाडि १६ वटा होटेलको निरीक्षण गरिएको भने पनि सबैको फेरि दोहो:याएर हेर्नुपर्ने अवस्था आएको छ। पहिलो पटकको निरीक्षणबाट भूकम्पले संरचना ध्वस्त बनाएको ठमेलको बजेट होटेलमा रातो स्टिकर टाँसिएको छ। निरीक्षबाट रातो स्टिकर पाउँनेमा अन्नपूर्ण होटेलमा रहेको क्यासिनो अन्ना, धुलिखेल लज रिसोर्टको एउटा ब्लक, गोकर्ण रिसोर्टको एउटा हल्ट ब्लक र काठमाडौं गेस्ट हाउसको एउटा हेरिटेज ब्लक रहेका छन्।
मर्मत गरेर बस्ने मिल्ने भनेर पहेलो स्टिकर टाँसिएकामा काठमाडौं गेस्ट हाउसकै एउटा ब्लक र ह्यात रिजेन्सी होटेमा रहेको क्यासिनोको भवन रहेको अनुगमन समितिले जानकारी दिएको छ।
पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा गठन भएको पर्यटन पुनरूत्थान समिति अन्र्तगतका होटेल क्षेत्रको अनुगमन गर्ने यो उपसमितिले २९ गते अगाडि नै १६ वटा होटेलको अनुगमन गरेको थियो।
समितिले पर्यटन विभागमा दर्ता भएका दुई सयभन्दा बढी होटेल सबैको अनुगमन गर्ने जानकारी दिएको छ।पहिलो चरणको अनुगमनबाट सोल्टी, साङ्ग्रीला, अमर, प्लाटिनम, ग्रान्ड, ह्यात, :याडिसन, मल्ल, मनाङ र अन्नपूर्ण होटेलको निरीक्षण भैसकेको छ।
यी होटेल सबैमा पर्यटक राख्न योग्य भनेर हरियो स्टिकर टाँसिएको छ। पहिले निरीक्षण गरेका यी होटेलको राम्रो छ भनिए पनि फेरि एकपटक निरीक्षण भने हुने भएको शाक्यले जानकारी दिए।
साँस्कृतिक सम्पदाको दृश्यावलोकन
भूकम्पले क्षति पुर्‍याएका काठमाडौं उपत्यका सबै पर्यटकी क्षेत्रमा जेठ ३२ देखि दृश्यावलोकन गर्न सकिने भएको छ। उपत्यकाको साँस्कृतिक तथा प्राकृतिक पुरातत्वका क्षेत्रको सरसफाइ गरी जेठ मसान्तबाट खुला गर्ने निर्णय भएको नेपाल पर्यटन बोर्डले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हाम्रा सम्पदा जे जस्तो अवस्थामा छन त्यस्तै अवस्थामा देखाउन पर्यटकका लागि खुला गरिएको पर्यटन विभागको सोमबारको बैठकले निर्णय गरेको जानकारी पनि बोर्डले दिएको छ।
पुरातत्व विभागको समन्वयमा पर्यटन क्षेत्रका सरकारी तथा निजी संघ सस्थामा कार्यरत पदाधिकारी/कर्मचारीको सहभागितामा भएको बैठकले पर्यटकका लागि उपत्यकाको साइटसिन खुला गर्ने निर्णय गरेको हो।
दक्षिण एसिया पर्यटन परिषद्मा नाट्टा
दक्षिण एसिया पर्यटन परिषद्मा नेपालको तर्फबाट नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले प्रतिनिधित्व गरेको छ।
बंगलादेश फाउन्डेसन फर टुरिजम डेभलपमेन्टले आयोजना गरेको परिषद्को बैठकमा नेपाललाई सहभागी गराएको नाट्टाले जानकारी दिएको छ।
नाट्टाका अध्यक्ष डीबी लिम्बुले द्वितीय उपाध्यक्षको जिम्मेवारी पाएको बताएका छन्। परिषद्मा नाट्टाका प्रमुख कार्यकारी अधिकृत डा. हरि शर्मा संस्थापक सदस्य छन्।
बंगालादेशको राजधानी ढाकामा गठन भएकको यो परिषद्मा बंगलादेश अन्तर्राष्ट्रिय होटेल एसोसिएशनका प्रमुख अध्यक्ष रहेका छन्।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top