भूकम्प आए लगत्तै अस्पताल कुद्‌ने डाक्टर

0 5

वैशाख १४ गते वीर अस्पतालको ट्रमा सेन्टरमा भूकम्पका घाइतेको घुइँचो नै थियो।

इमर्जेन्सी वार्डमा नअटाएर बाहिर छिँडिसम्मै घाइतेहरू राखिएको थियो।

इमर्जेन्सी वार्डको ठीक बीच भागमा औषधि र सामान राखिएको, ड्युटी स्टेसन। त्यहीँ वरिपरि केही सिनियर डाक्टरहरू चिन्तित मुद्रामा उभिइएरै केही छलफल गरिरहेका थिए। केही भने घाइतेलाई जाँच्न व्यस्त।

भूकम्पका धक्काहरू आइरहेका थिए, तर उनीहरूलाई केही मेसो थिएन।

घाइतेको उपचार नै उनीहरुको मुख्य ध्यान थियो।

केही दिनअघि, वीर अस्पतालका निर्देशक स्वयम् प्रकाश पण्डितले सेतोपाटीसँग भनेका थिए, ‘हाम्रा केही डाक्टर र नर्सहरुले ३६ घण्टासम्म भोक निन्द्रा पनि नभनेर निरन्तर विरामीको उपचार गरे, खाना खाउ न भनेर सम्झाउनुपर्‍यो कतिलाई।’

डाक्टर र नर्सहरूको कामलाई निर्देशक पण्डितको मात्रै होइन धेरैले प्रसंसा गरे यसपाली। सरकारी अस्पताल आइपुगेका हजारौँ विरामीलाई एकैपटक उपचार गर्नु चानचुने कुरा थिएन।

‘जब भूकम्प आयो, घरमा थिएँ मलाई अस्पतालको मात्रै चिन्ता थियो,’ डाक्टर मानबहादुर चन्दले भने।

उनी वीरको एनेस्थेसीया विभाग प्रमुख हुन्। उनकै जिम्मामा हुन्छ, इमर्जेन्सीवार्ड!

उनी आफ्नो ड्यूटी सकेर घर जान त पाउँछन् तर अस्पतालको आवश्यकता अनुसार जतिखेर पनि हाजिर हुन आउनुपर्छ।

जब भूकम्प आयो, आफू र आफ्नो परिवार सुरक्षित ठाउँमा बसेपछि उनलाई वीर अस्पतालमा के भए होला भन्ने चिन्ता भयो।

‘मैले हाम्रो टिमका डाक्टरहरुलाई फोन लगाएँ,’ उनले भने,‘तर कसैलाई लागेन।’

मन एकोहोरो कुटुकुटु खाइरह्यो।

उनको मातहतमा बसेर अन्य तीनजना डाक्टरले पनि काम गर्छन्। एक एनेस्थेसियामा एमडी गरिसकेका र दुई विद्यार्थी डाक्टरहरू ड्युटीमा हुन्छन्।

त्यो सामान्य दिन थिएन। विदामा भएका डाक्टरहरुलाई समेत बोलाउन उनले आफ्नो मोबाइल डायल गरिरहे।

वीरकै एनेस्थेसिया डाक्टर रविराम श्रेष्ठको घर असनमा हो।

भूकम्पको पहिलो झड्का लाग्यो। उनीहरु सुरक्षित ठाउँको खोजीमा भागाभाग गरे।

थामिएपछि रविलाई आफ्नो अस्पतालको याद आयो। आधा घण्टामै उनी अस्पतालमा आइसकेका थिए।

‘विपत्तीमा परिवार पछि हामीलाई पहिले याद आउने भनेको आफ्नो ड्युटी नै हो,’ उनले भने, ‘परिवारलाई छोडेर म अस्पताल आएँ।’

अघि पनि जुनसुकै बेला अस्पताल जान दिने परिवारलाई परिवारलाई बुझाउन अल्लि गाह्रो नै हुन्छ रे। तर,उनी हिँडे, कस्को के लाग्थ्यो र?

अस्पतालमा विरामी आउन थालिसकेका थिए। डाक्टरहरू पनि टुँडिखेल पुगेका रहेछन्, वीर अस्पताल आफैं चर्केको थियो। इमर्जेन्सी लगायत सबै वार्डका हिँड्न सक्ने पूराना विरामी टुँडिखेलमै पुगेका थिए।

डाक्टरहरू अस्पताल फर्किन थाले। जति घाइते आइरहेका थिए, उनीहरूको उपचारमा भएका डाक्टर नर्स खटिए।

डाक्टर रविले पनि काम सुरूगरिहाले-जो आउँछ ऊ मरेको हो या जिउँदो छुट्याउने।

यसपछि बल्ल उनीहरूले जीवनमरणमा भएको विरामीलाई रातो क्षेत्र, बाँच्न सक्ने लाई पहेँलो र सामान्य विरामीलाई हरियो क्षेत्रमा पठाउँथे।

तर, घाइते आउने क्रम बढिरह्यो। अस्पतालमा ठाउँको अभाव हुन थाल्यो।

‘हामीले त प्लान समेत गराउन पाएनौँ,’ रविले भने।

फोन कसैको लागेकै थिएन। डाक्टर चन्द भूँइचालो आएको १ घण्टा पछि कलंकीबाट हिँडे पैदल नै।

बाटोमा सार्वजनिक गाडी थिएनन्। बाटोभरि मान्छेहरू थुप्रिएका थिए। उनी हिँड्दै १ घण्टामा वीर अस्पताल आइपुगे।

विदामा बसेका कति डक्टरहरु र नर्सहरू उनी र रवी जस्तै आफ्नो कर्तब्य सम्झेर आइपुगेका थिए।

कसैलाई केही काम गराउनै नपर्ने। सबैले आफूले देखेको काम गरिहाल्ने।

‘काम गराउने र पर्खने बेला नै थिएन, म आउँदा त सबै आफ्नो काममा जुटेका थिए।’

यति ठूलो विपत्तीको तयारी उनीहरुले गरेका थिएनन्। उनीहरु सबैलाई यस्तो बेलाको विरामी व्यवस्थापन गर्ने तरिका बारे थाहा थियो। विपत्‌को बेला कसरी काम गर्ने भनेर तालिम भने लिएका हुन्थे बेलाबेला।

यस्तो बेलाको लागि भनेर, रातो,पहेँलो र हरियो क्षेत्र निर्धारण गरिएको हुन्छ।

‘ठूलो संख्यामा आएका विरामी व्यवस्थापन गर्न सजिलो हुन्छ,’ रविले भने।

तर, यस्तो व्यवस्थापन गर्न मिल्ने अस्पताल थिएन उनीहरुको। आफै चर्किएको थियो। डाक्टरहरुलाई भित्र पस्नै डर थियो। उद्धार गरेर ल्याइएका विरामीलाई सडकमै छोडेर अरु विरामी लिन जान्थे प्रहरीहरु।

‘हामी भने जहाँ विरामी आयो त्यहीँ पुग्थ्यौँ,पहिले मरेको छ या छैन छुट्याउँथ्यौँ।’

ल्याइएको घाइतेलाई हेर्दा वित्तिकै मरेको छ या छैन अनि बाँचेको भए कुन जोनमा पठाउने निर्णय गर्न अनुभवि डाक्टर चाहिन्छ। त्यो रवीले नै समाले।

अस्पताल भित्र भए पो विरामीलाई बेड हुन्छ। बाहिर के गर्ने?

उनीहरुले तत्काल निर्णय गरे भित्र भएको म्याट ल्याउने। त्यो काम डाक्टरहरु आफैले गरे। म्याट पनि सकिए,त्यसपछि ब्ल्याङकेट नै ल्याएर सडकमा ओच्छ्याए।

उनीहरुले मुटु चल्न छोडेको विरामीको कार्डिकमसाज सम्म सडकमै गरे।

बेलुका ट्रमा सेन्टरमा विरामीहरुलाई सारेपछि भने बल्ल उनीहरुलाई जोन छुट्याउन सजिलो भयो।

उपचारका लागि आफूलाई चाहिने सामान आफै बोकेर वीर अस्पतालबाट उनीहरु ट्रमासेन्टर गए।

‘भित्र काम गर्न भने हामीलाई डर लाग्यो,’ रविले भने,‘अस्पताल आएपछि हामीले आफ्टरसक आएको थाहा पाएनौँ।’

भूकम्पको डरले धेरै मान्छे थरथर कापिँरहेका थिए। डाक्टर नर्स पनि त मानिस हुन् के उनीहरुलाई डर लागेन?

‘अँह अस्पताल आएपछि त हामीले घाइते विरामीबाहेक केही देखेनौँ र सोचेनौँ पनि,’ रविले भने।

विरामीहरुको जस्तो सुकै अवस्था हेर्न पर्ने डाक्टर नर्सहरु भावुक भैरहन सक्दैनन्। हुनुपनि भएन। तर त्यो दिनको एउटा घटनाले डाक्टर रविलाई भित्र देखि हल्लायो।

आफ्नो छोरालाई उद्धार पछि लिएर आएकी थिइन्, एउटी आमा।

आफ्नो काखबाट उनले थमाएको बच्चालाई डाक्टरले मृत घोषणा गरिदिए।

उनले पत्याइनन्। उनी रवि छेउ आइन्। रविलाई उनका आँखा हेरेर फेरि उहि कुरा दोहोर्‍याउनै डर लाग्यो। फेरि हेरे जस्तो गरे।

‘यस्तो अवस्था कहिलेकाहीँ आउँछ जीवनमा र त्यो कति गारो समय भइदिन्छ,’ रविले सम्झिए,‘मैले पनि बल्ल बल्ल त्यहीँ दोहोर्‍याएँ।’

डाक्टर र नर्सहरु विरामीलाई कसरी बचाउने अनि स्वस्थ बनाएर पठाउने भन्ने एउटै ध्याउन्नमा हुन्छन् सधैँ। सधैँ विरामी भएर मात्रै आइपुग्छन् अस्पतालमा मानिसहरू पनि।

त्यो दिन भने भिन्दै थियो। वैशाख १२ गतेको एउटा समय त वीर अस्पतालमा घाइते भन्दा मरेका मानिसहरू धेरै आए। र एउटी  नर्स त बेहोस नै भइन्।

‘जो आए पनि मरेको मान्छे मात्रै आउँछ, उनले सहन सकिनन् र बेहोस भइन्,’ रविले भने,‘नर्सलाई नै हामीले काउन्सिलिङ गर्नु पर्‍यो।’

तै पनि उनीहरुले सकेको गरे।

परिवारलाई छोडेर आएका उनीहरुले फोन आइहाले उठाउने मेसो पनि पाएनन्। कतिखेर के खाने भन्ने समेत विर्सिए।

घरबाट हिँड्ने बेला पिरोलिएका आँखाले आफूलाई हेर्ने परिवारलाई पनि नसम्झेर उनीहरूले विरामीको उपचार गरे।

‘परिवारले त्यस्तो बेला नजाउ भन्न सक्दैनथे,भनेको भए पनि हामीले मान्ने कुरै आउन्न,’ डाक्टर चन्दले भने।

हुन पनि उनीहरुले घरको माया मानेको भए वा परिवारले उनीहरूको बाटो छेकेको भए यतिधेरै विरामीको उपचार कसरी हुनसक्थ्यो र?

 

You might also like More from author