भूकम्प आउँदा खाटमुनि लुक्ने कि नलुक्ने ?

0 8
काठमाडौँ : नुवाकोटको तुप्चे गाविस–१ की १७ वर्षीया उत्सना शर्मा रिजाल वैशाख १२ गते विनाशकारी भूकम्प आउँदा साथीहरुसँग छिमेकीको घरमा टेलिभिजन हेर्दै थिइन् ।
अचानक भूकम्प आएपछि उनका अन्य तीन साथी कराउँदै घर बाहिर भाग्न थाले । उत्सना पनि हतारिँदै ढोकासम्म पुगेकी थिइन्, तर रोकिएर अरुलाई पनि “बाहिर नजाऊ, खाटमुनि लुक्नुपर्छ”, भन्दै उनी भित्र पसिन् । दुर्भाग्य, एक मिनेट नबित्दै सो घर पूर्ण ध्वस्त भई उत्सनाको घटनास्थलमै मृत्यु भयो। संयोग, उत्सनाका भाइ उत्सव आफ्नै घरको टेबुलमुनि लुकेर घाइते भएर बाँच्न सफल भए।
भूकम्प आउँदा खाट वा टेबुलमुनि लुक्नुपर्छ भन्ने ज्ञान विद्यालयमा शिक्षकहरुले पनि दिने गर्छन् । रेडक्रसमा कार्यरत पिता उद्धव शर्मा रिजालले पनि त्यही गरे । नेपाल रेडक्रस सोसाइटीको नुवाकोट कार्यालयमा कार्यरत रिजालले आफ्ना छोराछोरीलाई मात्र होइन अरु धेरै बालबालिकालाई वर्षौदेखि यस्तै शिक्षा दिँदै आएका छन् । रिजालले भने, “सायद, छोरीलाई त्यस प्रकारको सचेतना नदिएको भए बाँच्ने थिइन् कि भन्ने लाग्छ, तर आठ हजारभन्दा धेरै मानिसको मृत्यु भएकाले मैले यो दुःखलाई सम्हालेको छु । सचेतना शिक्षाबारेमा चाहिँ समीक्षा गर्नुपर्ने बेला आयो ।”
घर पूरै भत्कने अवस्थामा थिएन भने कोठाका अन्य सामान झरेर चोटपटक लाग्नबाट बच्नका लागि चारखुट्टे पलङ वा टेबुलमुनि लुक्नु उचितै हुन्छ । तर कच्ची घरमा त्यो लागू भएको देखिएन । उत्सनाको निधनबाट शोकमा डुबेका पायोनियर आवासीय विद्यालयका उनका साथीहरु आफू बाँचेकामा धन्य सम्झन्छन् तर भाग्ने भन्दाभन्दै भित्र लुक्दा उनको मृत्यु भएकामा अहिले पनि त्रसित छन् ।
विपत्तिमा सचेतनाको शिक्षाले मात्रै काम गर्छ वा बचाउँछ भन्ने त होइन तर त्यसले मानिसलाई सकेसम्म सुरक्षित बनाउन मद्धत गरेको हुनुपर्ने हो तर यस पटकको विनाशकारी भूकम्पले भूकम्पीय शिक्षा तथा सचेतनामा कार्यरत संस्था र व्यक्तिलाई पनि नयाँ पाठ सिकाएको छ ।
व्यवस्थापिका–संसद्ले गठन गरेको राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिबाट धादिङ अनुगमनमा खटिएको उपसमितिका तर्फबाट प्रतिवेदन पेस गर्दै एनेकपा (माओवादी)का सभासद् टोपबहादुर रायमाझीले केही दिन अघि भनेका थिए, “रेडियोबाट भूकम्प आउँदा खाटमुनि लुक्नु भन्ने सूचना सुन्ने गरेका आधारमा त्यसलाई पछ्याउँदा पनि धेरै मानिसको निधन भएको पाइयो ।”
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले ‘भूकम्प गएका बेला हुने दस काम’ अन्तर्गतको पहिलो सुझावमा ‘आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउन र टेबुल वा अरु कुनै बलियो वस्तु मुनि जान’ भन्दै आएको थियो । त्यसमा “घरभित्र हुनुहुन्छ भने विशेषगरी टेबुल, खाट वा अन्य दरिलो र बलियो वस्तुको मुनि बस्नुहोस्”, भनिएको छ ।
यसरी बस्दा खाट वा टेबुलको खुट्टा समातेर टाउकोमा चकटी, तकिया वा बाक्लो र नरम वस्तुहरु राख्नु सम्भावित जोखिमबाट बच्ने उत्तम उपाय मानिन्छ । “यदि टेबुल वा खाट नभए टाउकोमा नरम र बाक्लो वस्तु राखेर सुरक्षित किसिमले कुनै एक छेउमा उभिनुहोस्”, भनिएको छ ।
विपत्का बेला सबै स्थान र समयमा एउटै शिक्षा र सचेतनाको पालना गर्नुपर्छ भन्ने होइन रहेछ भन्ने स्पष्ट सन्देश यी तथ्यहरुले दिन्छन् । भूकम्पीय शिक्षाबारे विद्यालय तहमा पाठ्यक्रम बन्नुपर्ने आवाज उठिरहेका बेला त्यसको तर्जुमा गर्दा कस्ता सन्देशसहित राख्ने भन्ने बहस पनि चलेको छ । यसबारे रुचीका साथ हाल प्रतिक्रिया दिन विज्ञहरु तयार पनि छैनन् ।
एनसेटले यस पटकको भूकम्पपछिको आफ्नो सचेतना कार्यक्रमलाई अब कसरी सञ्चालन गर्ने भन्ने सोचे पनि निक्र्योल भने गरिसकेको छैन । सो संस्थाका विद्यालय भूकम्पीय सुरक्षा कार्यक्रम प्रमुख सूर्यप्रसाद आचार्य विस्तृत विश्लेषण गरेर अघि बढ्ने बताउँछन्।
नेपाल रेडक्रस सोसाइटीका महासचिव देवरत्न धाख्वाले खुलास्थानमा पुगेर पनि फर्केर आएर खाट वा टेबलमुनि लुक्दा ज्यान गएको भन्ने कतिपय घटना पाइएको र यसलाई केलाउने क्रममा रहेको बताउँछन्। । उनले भने, “अहिलेसम्मको भूकम्पीय शिक्षा गलत नै भनिहाल्न मिल्दैन, कसले कसरी बुझे भन्ने हो । पक्कै पनि यसले नयाँ अनुभव र पाठ दिएको छ । आगामी दिनमा पुनरवलोकनका साथ अघि बढ्नुपर्छ ।”