अन्तर्वार्ता दिन हिँडेका सिके राउत फेरि पक्राउ

0 4

इटहरी, जेठ १२ – अन्तर्वार्ता दिन हिँडेका सिके राउत फेरि पक्राउ परेका छन्।

इटहरीबाट प्रसारित एरिना टेलिभिजनमा दिउँसो साढे ३ बजेको अन्तवार्ता दिन आउने क्रममा मधेसलाई छुट्टै राज्य बनाउनुपर्छ भन्दै हिँड्ने सिके राउत पक्राउ परेका छन ।
राज्यले देशद्रोही घोषित गरिसकेको राउतलाई इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले टेलिभिजनमा अन्तवार्ता दिने तयारी गर्दागर्दै टेलिभिजनको कार्यकक्षबाटै मंगलबार दिउँसो ३ बजेर २० मिनेटमा पक्राउ गरेको हो ।
मंगलबार टेलिभिजनमा विशेष अन्तरवार्ता छ भन्ने जानकारी पाएको प्रहरीले टेलिभिजनको कार्यालयबाटै राउतलाई पक्राउ गरेपछि टेलिभिजनले मंगलबार दिउँसो साढे ३ बजे प्रसारण गर्न लागेको राउतसँगको विशेष अन्तरवार्ता स्थगित गरेको छ ।

टेलिभिजनको कार्यकक्षबाटै राउतलाई पक्राउ गरेपछि प्रहरीले आफनो टेलिभिजनमा अन्तवार्ताका लागि बोलाएको पाहुनालाई गुण्डागर्दी शैलीमा पक्राउ गरेको भन्दै इटहरीबाट प्रसारित एरिना टेलिभिजनका कर्मचारीहरुले विरोध जनाएका छन् ।
राउत नेपालकै भाइरस भइसकेका कारण नेपाल सरकारको आदेशअनुसार उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक डिएसपी विनोद कुमार शर्माले बताए ।
पक्राउ परेका राउतलाई तत्काल कुन मुद्दा चलाउने भन्ने बिषयमा डिएसपी शर्माले केही बोल्न चाहेका छैनन् ।

राष्ट्रिय एकता र अखण्डताविरुद्धको अभियानमा लागेको अभियोगमा यसअघि पनि राउत पटक–पटक पक्राउ परेर छुटेका थिए।