चुनिखेलमा चक्मा दिँदै कांग्रेस कार्यकर्ता

0 4

काठमाडौं, जेठ १२ – मंगलवार बुढानिलकण्ठ नगरपालिकाको चुनिखेल पुग्दा सेफ्टी हेल्मेट लगाएका एक हुल मानिसहरु काजिलाल श्रेष्ठको घरको छानाबाट टायल निकाल्दै थिए । नगरपालिकाको १७ नम्वर वडामा पर्ने काजिलालको घर भूकम्पले नढलेपनी बस्नै नहुने गरी चर्केको छ । घर ढल्ने त्रासले आजसम्म भित्र पस्न सकेका थिएनन् काजिलाल । ‘छिमेकीको घरमा उँहाहरुले राम्रो काम गरेको देखेपछि बिन्ति गरेर बोलाएको ।’ उनले भने ।

नेपाली कांग्रेस खेलकुद विभाग मातहत रहेर पुनः निर्माणमा खटिएका युवाहरुले चुनिखेलमा ३५ वटा त्यस्ता डरलाग्दा घरहरु भत्काइसकेका छन् । ‘भत्काउने भनेर हामीले सबै सखाप हुनेगरि भत्काएका छैनौं, पुरानो घरको सामग्री प्रयोग गरेर नयाँ बनाउन मिल्नेगरि भत्काएका छौं ।’ कांग्रेस खेलकुद विभाग विपद् व्यवस्थापन समितिका संयोजक राजु श्रेष्ठले भने– ‘यो र त्यो भनेर हामीले जनतालाई अत्याउनुको साटोे पुरानै कच्चा पदार्थबाट करिब १० बर्ष बस्न मिल्ने संरचना निर्माण गरिदिन्छौं ।’

चुनिखेल र त्यस आसपासमा रहेका विभिन्न बस्तीमा छरिएर पुनः निर्माण कार्य शुरु गरेका युवाहरुले फोटो खिचाउनका लागि मात्र आफुहरुले काम नगरेको बताए । गाम्चाको एक घरबाट काठ निकाल्दै गरेका एक युवाले भने– ‘केही मान्छेहरु फोटो खिचाउनका लागि काम गरेजस्तो गर्छन, तर हामी जनतालाई सहयोग गर्न आएका हौं ।’congrees (2)

डेमोक्रोटिक इन्जिनियर्स एसोसिएसन र कांग्रेस स्वास्थ्य विभागसँगको सहकार्यमा चुनिखेल पुगेका युवाहरुले घरहरुको पुनः निर्माण गर्दा पनि परिपक्व विधि अपनाउने बताए ।

त्यस्तै कांग्रेसमा आबद्ध सांस्कृतिक समुहले मानसिक तनावमा रहेका स्थानीय र बालबच्चाहरुलाई तनाव कम गर्दै आशाका किरण छर्ने अभियान संचालन गरिरहेको बद्री भट्टराईले बताए ।

कांग्रेसको केन्द्रीय खेलकुद विभागले राजधानीको काभ्रेस्थली, टोखा, खोकना र मनमैजु क्षेत्रमा पुनः निर्माण अभियान संचालन गरिरहेको छ ।