आफैं समालिँदै बारपाकबासी

0 4
बारपाक (गोरखा) : कामका लागि आठ वर्षअघि कुवेत पुगेका राजकुमार घले विनाशकारी भूकम्प गएको थाहा पाउनासाथ परिवारलाई समाल्न र सान्त्वना दिन दुई दिनमै बारपाक आइपुगे। भूकम्पले नमुना गाउँ खण्डहर बनाएको र परिवार आँसुमा डुबेको देख्दा उनी केहीबेर स्तब्ध भए।
केही महिनाअघि आएर निर्माण गरेको उनको नयाँ घरसमेत ध्वस्त भएको थियो। यस्तो बेला आफू कमजोर भएमा पत्नी, परिवार र छिमेकी झन् विक्षिप्त हुने ठानेर उनले मन बलियो बनाए।
अहिले बिहान सबेरैदेखि राति अबेरसम्म भत्किएका घर पन्छाउने, परिवारलाई सम्झाउने, खाना पकाउने, छोराछोरीलाई खेलाउने उनको दैनिकी छ।
‘जे हुनु भइसक्यो, अब चिन्ता गरेर गुमेको कुरा पाइँदैन। म साहसी भइनँ भने मेरो परिवार झन् विचलित हुन्छ’, भत्किएको घरनजिकै बारीमा चर्को घाममा अस्थायी टहरा निर्माण गर्न लागेका राजकुमारले अन्नपूर्णसँग भने, ‘दु:ख भुल्ने प्रयास गर्नु नै ठूलो कुरा हो। त्यसका लागि काम गरिरहनुपर्छ। आफ्नो नभए अरूलाई सहयोग गर्नुपर्छ।’
राजकुमारले यसो भनिरहँदा उनका बाबु जगबहादुर त्रिपालमुनि सकिनसकी खाना बनाउँदै थिए। ‘बुहारी र बूढी स्कुल निर्माणका लागि ढुंगा बोक्न गए। छोरा र भाइ ओत लाग्ने टहरो बनाउँदैछन्। म उनीहरूलाई खुवाउने प्रबन्धमा छु’, जगबहादुरले भने।
उनको कुरा सुनेपछि छिमेकी चन्द्रबहादुर घलेले माथिल्लो घरको भग्नावशेषबाट ठूलो स्वरमा भने, ‘म पनि खाना बनाउँदैछु है। आमा र श्रीमती मकै गोड्न गइसके। छोरोछोरी पनि बारीमै छन्। भूकम्पको डर मानेर जति बस्यो, त्यति घाटा हुन्छ। सरकार आएर पक्कै हाम्रो घर बनाउनेछैन।’
राजकुमार, जग र चन्द्रबहादुरमात्र होइन, यतिबेला बारपाकका बासिन्दा सकिनसकी काम गरेर भूकम्पको दु:खमा समालिने जमर्को गर्दैछन्। भूकम्पको त्रासलाई किनारा लगाउँदै उनीहरू ध्वस्त भएका घर, विद्यालय, स्वास्थ्यचौकी र बाटो पुनर्निर्माणमा जुटेका हुन्।
उनीहरूको कामलाई न पानीले रोकेको छ, न त चर्को घामले। हावाहुरी आउँदासमेत उनीहरू निर्माणको काम अलपत्र छोड्न सक्दैनन्।

‘नराम्रो घर भूकम्पले लगिहाल्यो, अब राम्रो घर बनाउँदैछौं’, राजकुमारले भने, ‘पिर मानेर र टोलाएर केही फाइदा छैन। आफ्नो घरमात्र होइन, गाउँ पनि आफैं बनाउनुपर्छ।’

घर लिप्दै गर्दा भूकम्ले ६ महिलासहित आठजनाको ज्यान लिएको भग्नावशेषमाथि बसेर काठको फर्मामा घन ठोक्दै गरेकी ७९ वर्षीया सानुमाया गुरुङको अनुहारमा केही हाँसो फर्किएको छ।
‘छोराबुहारी र नातिनातिना सबै काममा जुटेका छन्, आपत्को बेला म कसरी चुप लाग्न सक्छु र? म पनि काम गर्न सक्छु नि’, सानुमायाले भनिन्।
सानुमायालाई छिटोभन्दा छिटो भूकम्म्पले तहसनहस बनाएको घर पुनर्निर्माण थरेर बर्खामा ओत लाग्नु छ। सानुमायाको कुरा सुन्दै गर्दा नजिकै सात महिला र ससाना बालिकाले गफिँदै धमाधम आलु खनेको देखियो।
‘यसपालि आलु पनि राम्ररी फलेन। खन्ने बेला पनि भएको थिएन। आपत्को बेला आफूले मात्र खान मन लागेन’, ४३ वर्षीया कान्छी घलेले भनिन्, ‘जति छ, त्यति सबैले बराबरी बाँडेर खान्छौं, मरीलानु के छ र?’
वैशाख १२ गतेको विनासकारी भूकम्पको केन्द्रबिन्दु बारपाकका बासिन्दा यतिबेला पहिरोको चिन्तामा पनि छन्। भूकम्पले चिराचिरा पारेको पहाडबाट लगातार पहिरो खसिरहेको छ। उक्त गाउँमा रहेका करिब १५ सय घरधुरीमध्ये केही पक्की घरबाहेक अरू सबै भग्नावशेषमा परिणत भएका छन्। विदेश गएका गाउँका अधिकांश युवा फर्किएर घरपरिवार समाल्दैछन्।
‘आफैं पनि मेहनती र साहसी छन् यहाँका बासिन्दा’, स्थानीय अनमी गीता पनेरूले भनिन्, ‘म छक्क परिरेहकी छु यस्तो उजाडिएको बस्तीमा पनि उनीहरू रत्तिभर विचलित छैनन्।’
‘भूकम्पपछि पीडितलाई सुरक्षित राख्ने काममा खटिएका वीरबहादुर घलेले आफूहरूले पहिलेकै गाउँ बनाउन चाहेको बताए। उनले भने, ‘सरकारले हामीलाई कस्तो घर बनाउँदा अब भूकम्बाट सुरक्षित हुन्छ, त्योचाहिँ भनिदिए हुन्थ्यो।’