दृष्टिविहीन विद्यार्थीलाई हाते कम्प्युटर

0 9

कास्की, १२ जेठ । एक गैरसरकारी संस्थाले कास्कीका विभिन्न शिक्षण संस्थामा अध्ययनरत १३ दृष्टिविहीन विद्यार्थीलाई हाते कम्प्युटर (ट्याबलेट) वितरण गरेको छ ।

अपाङ्गताको अधिकार र विकासका लागि क्रियाशील नेपाल (एडिराड नेपाल)ले वितरण गरेको हाते कम्प्युटरमा दृष्टिविहीन विद्यार्थीका लागि सहयोगी हुने डेजी र इपियुबी प्रविधिमा आधारित विद्युतीय पुस्तकहरू समावेश गरिएका छन् । डेजी प्रविधिले दृष्टिविहीनलाई बोलेको आधारमा चाहेको पृष्ठको चाहेको अनुच्छेद पढ्ने सुविधा प्रदान गर्छ भने इपियुवी प्रविधिले विद्युतीय र इन्टरनेटमा राखिएका विषयवस्तुको अध्ययनका लागि सहयोग गर्ने दृष्टिविहीन प्राध्यापक श्रीकान्त सापकोटाले जानकारी दिनुभयो ।

एडिराड नेपालका अध्यक्ष वीरेन्द्रराज पोखरेलले दृष्टिविहीन विद्यार्थीका लागि पठनपाठनमा भएको असुविधा कम गर्न ट्याबलेट सहायक हुने बताउनुभयो । पहिलो चरणमा कास्कीसहित देशभर आर्थिक अवस्था कमजोर भएका १०० दृष्टिविहीन विद्यार्थीलाई ट्याबलेट वितरण गरिएको र यो अभियानलाई निरन्तरता दिने उहाँले बताउनुभयो । रासस