‘निःशुल्क मलेसिया’ रोक्न तीव्र लबिङ

0 7

१२ जेठ, काठमाडौं ।  नेपाली कामदारलाई बिनाशुल्क मलेसिया पठाउने सरकारी तयारीविरुद्ध म्यानपावर व्यवसायीले लबिङ थालेका छन्। कामदार कोटा कसले धेरै ल्याउने भन्ने होडमा अवैध बाटो (हुन्डी) मार्फत मलेसिया पठाएको अढाइ अर्ब कमिसन रकम डुब्ने देखिएपछि उनीहरू सरकारी तयारीविरुद्ध उभिएका हुन्। सरकारले भिसा र टिकटका लागि पैसा लिने म्यानपावरलाई मलेसिया कामदार पठाउन रोक्ने तयारी गरेपछि व्यवसायी आफैं अवैध बाटोबाट पैसा पठाइरहेको विषयमा बोल्न बाध्य भएका हुन्।

‘कोटा कमिसनबापत गैरकानुनी बाटो अर्थात् हुन्डीबाट मलेसिया पैसा पठाइरहेका थियौं’ भनेर हाकाहाकी भनिरहेका व्यवसायी त्यही पैसा खेर जाने तर्क गर्दै सरकारले गर्न खोजेको निःशुल्क भिसा र टिकटसम्बन्धी निर्णय नै रोक्न उच्च तहमा लबिङ गरिरहेको नागरिकमा खबर छ ।उनीहरु अहिले गैरकानुनी रुपमा विदेश पुर्याएको पैसा फस्नबाट सरकारले नै रोकिदिनुपर्ने कुतर्क गरिरहेका छन् । ‘कानुनतः हुन्डी वा अन्य गैरकानुनी माध्यमबाट विदेश पैसा पठाउन पाइँदैन । यसो भन्नु विधिको शासनमाथि नै चुनौती हो,’ श्रम तथा यातायात मन्त्रालयका एक अधिकारीले भने।

कामदारको माग ल्याउन कमिसन बढी बुझाउने होडमा अहिले २ अर्ब ५० करोड रुपैयाँ मलेसियामा फसेको व्यवसायीको दाबीले विगतमा पनि अर्बौं रुपैयाँ अवैध बाटो बाहिरिएको देखाउँछ ।
ठूला व्यवसायीले ३० लाखदेखि ६ करोडसम्म मलेसियाली एजेन्टलाई कमिसनबापत बुझाइसकेको मन्त्रालयस्रोत बताउँछ । श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटीले बिहीबारको बैठकमा निःशुल्क टिकट र भिसामा मात्र कामदार पठाउने प्रसंग निकाल्नेबित्तिकै केही व्यवसायीले मलेसियामा कमिसनबापत ठूलो रकम गइसकेकाले यो निर्णय तत्काल नगर्न दबाब दिएका थिए।

‘केही व्यवसायीले तत्काल निःशुल्क भिसा र टिकटको नियम लागू गर्दा रकम फस्ने भन्दै हारगुहार गरे,’ सिवाकोटीले नागरिकसँग भने। व्यवसायीले मन्त्रालयमा बुझाएको विवरणअनुसार पछिल्लोपटक इन्टरनेसनल म्यानपावर रिक्रुमेन्ट प्रालिले ६ करोड, वाइड स्पेसले ५ करोड, कोसीले ३ करोड, ट्रस्ट नेपालले १ करोड, क्याराभानले १ करोड, प्याराडाइजले २ करोड, गुरुङ म्यानेजमेन्टले १ करोड, सुवास ह्युमन रिसोर्सले २ करोड, मदिना इन्टरनेसनलले ५० लाख, द रिभर ओभरसिजले २ करोड, एससिएमले १ करोड, रारा इम्प्लोयमेन्टले ५० लाख रुपैयाँ मलेसियाली एजेन्टलाई कमिसनको रुपमा अवैध बाटोबाट पठाएका छन् ।