उखेलिदैछ गाडिएका मुर्दाहरु

0 29
राजविराज :  सप्तरी प्रहरीले तीन वर्ष अघिदेखि भएको श्रृंखलाबद्ध हत्याका घटनाहरु विउताउदै एकपछि अर्को हत्याराहरु पक्राउ गर्न सुरु गरेको छ ।
सप्तरीको जण्डौल ८ मा गत वैशाख २७ गते सोही ठाउँकी गोरहनिया भनिने दुलारीदेवी मुखिया साहको कंकाल उत्खनन गरी फेला पारेको सप्तरी प्रहरीले गत बुधबार टिकुलिया ९ घर भई पटेर्वा १ बस्ने सबुद मियाँको कंकाल पत्ता लगाएको छ ।
कल्याणपुर ३ भदैयामा मियाँको कंकाल फेला परेकै आसपास उनकी बुहारी सगिरा खातुनको कंकालको खोजीमा प्रहरी पुनः जुटेको छ । उनीहरु ०६९ साल असोज १० गतेदेखि बेपत्ता थिए भने ससुरा–बुहारीको हत्यामा संलग्न दुलारी  ०७० साल मङ्सिरको अन्तिम सातादेखि हराएकी थिइन् ।
यसअघि  ०७० सालको पौषमा हराएका जण्डौल गाविसका ५० वर्षीय इद्रिस नट मियाँ, उनकी ४५ वर्षीया श्रीमती जैतुन खातुन र १७ वर्षीया छोरी सेरुन खातुनको कंकाल गत फागुन २ गते सुनसरीको इनरुवा–७ स्थित सियाराम यादवको घरबाट फेला परेको थियो ।
प्रहरीले एउटै उपाय अपनाई हत्यापछि घटनास्थलमै गाडिएका कंकालहरु मात्र बरामद गरेको छैन्, एउटै समूहबाट श्रृंखलाबद्ध हत्याकाण्ड भएको पत्ता  लगाउनुका साथै सो अपराधी समूहका तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा समेत चलाएको छ ।
यसक्रममा प्रहरीले कञ्चनरुप ६ घोघनपुरकी २६ वर्षीया समिना खातुन र सिरहाको सोनमती ६ का ४१ वर्षीय मजलुम मियाँलाई गत वैशाख ३० गते र सारस्वर ३ की ३५ वर्षीया बबिना खातुनलाई गत विहीबार पक्राउ गरेको प्रहरी उपरिक्षक शिशिर कुमार कर्माचार्यले जानकारी दिए ।
श्रृंखलाबद्ध हत्यामा सक्रिय समूहका थप दुई जना नियन्त्रणभित्र रहेको, केही नोटिसमा रहेको र मुख्य आरोपित सकिल हुसेन मियाँ र मस्तकिम हाल नेपाल बाहिर रहेको प्रहरीले जनाएको छ ।
पटेर्वा १ स्थित बिहुल खोलामा ०६४ जेठ २ गते मलहनियाँ ६ का आरुल मियाँ र पाण्डव पासवानको टाउको र हात काटेर फ्याकिएको अवस्थामा कुहिएको लाश भेटिएको थियो ।
आरुलका मीत टिकुलिया ६ घर भई कुशहा ६ बस्ने सकिलसहितका चारजनाले ०६४ वैशाख २६ गते आरुल र पाण्डवलाई दुईवटा मोटरसाइकलमा चढाई दक्षिणतर्फ लगेको आरुलका भाई कलामुदिन बताउछन् ।
कलामुदिन र पासवानकी श्रीमति जीतनीदेवी पासवानको जाहेरीका आधारमा ०६८ मङ्सिर ४ गते पक्राउ परेका सकिल ०६८ प्ुस ३ गते पुर्पक्षका लागि कारागारमा थुनामा परेका थिए ।
पुनरावेदन अदालतबाट ०६९ जेठ २ गते रिहा भएका सकिलले न्यायाधीश किरणप्रसाद शिवाकोटीको आदेशमा ०६९ चैत ५ गते सफाई पाएका थिए । सकिलका साक्षीहरु पटेर्वा ५ का गुलजार मियाँ, टिकुलिया ९ का अलिसेर मियाँ र टिकुलिया ७ का बौधु मियाँ तथा नेपाल सरकारको तर्फबाट राखिएका साक्षी कुशहा ६ का अलि हुसेन मियाँले समेत घटनाको समयमा सकिल भारतको पञ्जाव लुधियानास्थित कुनरास स्टिल फेक्ट्रीमा काम गरेको वयान दिएपछि सोही आधारमा मुख्य अपराधी सकिल सजिलै छुटेका थिए ।
यसरी पाँच महिनामै जेलबाट छुटेका सकिलले पैसा खर्च गरेर छुटेको भन्दै सर्वस्वसहित जन्मकैदमा जेलमा रहेका टिकुलियाका आलमका परिवार समक्ष पैसा खर्च गरे आलमलाई समेत जेलबाट छुटाउन सकिने बताएका थिए ।
पटेर्वा ५ का गुलजारले सकिललाई पैसा दिएर आलमलाई छुटाउने विश्वास दिलाए पछि आलमका बुवा सबुद र श्रीमती सगिराले दुई कठ्ठा जग्गा बिक्री गरी दुई लाख ७६ हजार बुझाएको सबुदका दाजु सखावत मियाँले जानकारी दिए ।
बनरझुला ७ कञ्चिराका सहदेव साहको हत्या आरोपमा सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका आलमलाई छुटाउने लोभमा काठमाडौं जानका लागि सकिलले बोलाएपछि सबुद र सगिरा कल्याणपुर ८ स्थित सकिलले सञ्चालन गरिरहेको गुलाब मियाँको कुखुरा फर्ममा ०६९ असोज १० गते आएका थिए ।
सोही मितिदेखि बेपत्ता भएका सबुदको तत्कालै र सगिराको केही दिन यौन शोषण गरेर हत्या गरी लाश गाडिएको प्रहरी अनुसन्धानले देखाएको छ ।
हत्या गरी माटो मुनी गाडिएका सबुद र सगिरालाई जिवितै देखाई प्रहरीको ध्यान अन्यत्र मोड्न सकिलको निर्देशनअनुसार दुलारीले सबुद र सगिराविरुद्ध चोरीको आरोप लगाउँदै ०६९ कात्तिक ८ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
दुलारीले निवेदनमा जण्डौल ८ स्थित उनको घरमा एक महिना अघि गाउँबाट भागेर आएका ससुरा सबुद र बुहारी सगिरा वहालमा सँगै बस्दै आएको र वहालभाँडा माग्दा ०६९ कात्तिक ७ गते राति नगद २० हजार रुपैयाँ र १० तोला चाँदीको गहना लिएर फरार भएकोले पक्राउ गरी कारवाही गर्न माग गरेकी थिइन् ।
उता संगै काठमाडौं गएका सकिललाई ०६९ असोज १७ गते कल्याणपुरमा देखेपछि सबुद र सगिराबारे घरपरिवारका सदस्यले सोधपुछ गरे ।
सकिलबाट सन्तोषजनक उत्तर नआएपछि सबुदकी श्रीमति कैली खातुनले हराएका पति सबुद र बुहारी सगिराको खोजतलाशका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०६९ असोज २१ गते उजुरी दिइन् ।

कैलीले पुनः ०६९ कात्तिक ३० गते सकिलविरुद्ध अपहरण तथा शरिर बन्धक मुद्दामा उजुरी दिएपछि ०६९ मङ्सिर ४ गते पक्राउ परेका सकिलले प्रहरी कार्यालयमा सबुद र सगिरा कहिं कतै लुकिछिपी बसेका होलान्, अपहरण भएको छैन् भन्ने कागज गरी साधारण ढंगले जमानतमा छुटेको मिसिलबाट देखिन्छ ।
०६३ चैत १८ गतेदेखि बेपत्ता भएका सहदेवको लाश ०६३ चैत २७ गते खोजपुर ८ को चुरे पाखा पम्फा खोरियामा आधा भाग शरिर माटोमा गाडेको अवस्थामा फेला परेको थियो ।
सहदेवको हत्यामा अदालतले ०६७ वैशाख ५ गते टिकुलिया ७ घर भई बनरझुला ३ स्थित ससुराली बस्ने कारी भनिने कलामउदिनलाई जन्मकैद, खोजपुर ४ का अब्दुल मियाँ र बनरझुला ९ का सियाराम पासवानलाई १० वर्ष कैद, पंसेरा ३ घर भई कुशहा ३ स्थित मामाघर बस्ने सुर्यनारायण चौधरीलाई पाँच वर्ष कैद सजायको फैसला गरेको थियो ।
 आलम भने सर्वस्वसहित जन्मकैदको सजाय पाई ०६९ चैत २९ गतेदेखि राजविराज कारागारमा थुनामा छन् । आलमलाई छुटाउनका लागि पैसा हात पारेका सकिलले अन्ततः उनका बुवा सबुद र श्रीमती सगिराको समेत हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
वास्तवमा यो श्रृंखलाबद्ध हत्या घटनाहरु धोखा र विश्वासघातको हो । जसमा रुपैयाँका लागि सकिलले मित आरुल, सहयोगीहरु दुलारी र निर्मला साहको मात्र हत्या गरेनन्, रुपैयाँका लागि उनले धेरै परिवारको खुशि समेत छिने ।
सकिलले पाँच कट्ठा जग्गा हडप्न सुनसरीको इनरुवा–७ स्थित डेरामा बोलाई ससुरा इद्रिस, सासु जैतुन र श्रीमती सेरुनको समेत हत्या गरी गाडे । गाउँमा भने सासु–ससुरालाई उपचारका लागि भारतको दिल्ली लैजाँदा रेल दुर्घटनामा परी श्रीमतिसहित तीनै जनाको मृत्यु भएको हल्ला पिटे ।
सबै हत्याको अगाडि र पछाडि यति धेरै षडयन्त्र रचिएको रहेछ कि अहिले थाहा पाएर प्रहरी पनि अचम्मित छ ।
त्रिकोल गाविस–५ की संविधानसभाको पछिल्लो निर्वाचनमा जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार एवं टाइगर्सका जिल्ला सदस्य ३९ वर्षीया निर्मला साहको ०७० चैत १ गते राति भएको हत्याको अनुसन्धानका सिलसिलामा थुप्रै गडेका मुर्दाहरु सतहमा आएको अनुसन्धान अधिकृत प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए ।
मारिनेहरुले सपनामा पनि सोंचेका थिएनन् होला उसको श्रीमान्, ज्वाई, मित, साथी, सहकर्मी, छिमेकीले नै हत्या गर्छ ।
दरअसल एकल महिला र कैदीका श्रीमतिहरुलाई प्रयोग गरी नयाँ शिकार फसाँउने र आवश्यक परे सबुत मेटाउन सकिलले सहयोगीकै पनि हत्या गरी खाल्डोमा पुर्ने गरेको प्रहरीको भनाई छ ।
जण्डौल गाविस–८ मा ०६९ पुस १६ गते राति ३६ वर्षीय डम्बरप्रसाद भट्टराई र निजकी पत्नी ३१ वर्षीया कौशिला भट्टराईको हत्यामा यही समूहको संलग्नता रहेको थियो ।
भट्टराई दम्पति हत्याको आरोपमा जिल्ला अदालतले ०७१ जेठ २८ गते दुलारीलाई दुई वर्ष कैदको फैसला गरेको थियो भने उनका पति धिरेन्द्र साह र प्रेमी हरीहरपुर गाविस–६ घर भई बकधुवा गाविस–७ बस्ने रामचलितर यादवलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
फरार रही श्रृंखलाबद्ध हत्यामा संलग्न दुलारीको समेत उनकै समूहले हत्या गरिसकेको छ भने उनका पति धिरेन्द्र र प्रेमी रामचलितर राजविराज कारागारमा कैदसजाय काटिरहेका छन् ।
लहरो तान्दा पहरो गर्जिएझै एउटा घटनाको अनुसन्धान गर्दा धेरै घटनाहरुमा सकिलले विभिन्न मानिसलाई प्रयोग गरी हत्या गरेको प्रष्ट भएको छ । ‘अपराधको पहिचान भएको छ र अपराधीहरु पक्राउ पर्दैछन्’ प्रनाउ चिमिरियाले भने–‘ढिलै भएपनि दुलारी र सबुदको कंकाल भेटिएको छ, सगिराको पनि चाँडै पत्ता लाग्नेछ ।’
सबुदकी नातिनी र सगिराको छोरी आठ वर्षीया समिना जो अहिलेसम्म उनको घर फर्किने प्रतिक्षा गरिरहेकी थिइन्, उनी पनि कंकाल फेला परेको खबर लगत्तै परिवार र गाउँलेसहित घटनास्थल आइपुगिन् ।
कंकाल उत्खननका बेला लगातार रोइरहेकी समिनाले अन्त्यमा प्रहरी उपरिक्षक कर्माचार्य र प्रनाउ चिमरिया, प्रहरी निरीक्षकहरु छेदीलाल कामती र लालध्वज सुवेदीलगायतलाई अबीर र माला लगाउँदै भनिन्–‘हजुरबुवा र आमाको हत्या गरी टुहुरा बनाउनेलाई कडा कारवाही होस्,अरुहरुले टुहुरो हुन नपरोस् ।’
श्रृखंलाबद्ध हत्या घटनालाई गम्भिरतापूर्वक लिएको भन्दै प्रहरी उपरिक्षक कर्माचार्यले अपराधीहरुलाई कारवाही हुने विश्वास दिलाए ।
अपरेशन सेरा किलो नाम दिएको यो अनुसन्धानले एउटै समूहबाट सप्तरीमा भएका अन्य घटनाको खोजी र जाँचबुझ गरिरहेको छ । प्रहरीका लागि चुनौतिका रुपमा रहेको गडेका मुर्दाहरुको अनुसन्धान अझै पुरा गर्न बाँकी छ ।

– Source: Annapurna Post