माधव नेपालले भने–जस्तापाता किन्‍न ५० हजार देऊ

0 3

काठमाडौं :  एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले भूकम्पपीडितलाई अस्थायी घर बनाउन ५० हजार रुपैयाँ दिइनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंको टोखास्थित झोर महांकाल माध्यमिक विद्यालयको अस्थायी भवन शिलान्यास गर्दै नेता नेपालले भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराइनुपर्ने पनि बताएका छन् ।

‘१५ हजारले जस्तापाता किन्न पनि समस्या छ । अस्थायी घर बनाउने अरु सामान भूकम्पपीडितले कहाँबाट जुटाउँछन् ?’, नेता नेपालले भने, ‘भूकम्पपीडितलाई वर्षाअगावै अस्थायी घर बनाउन कम्तिमा ५० हजार दिइनुपर्छ ।’

मनसुन शुरु हुन लागिसकेकाले देशभरका भूकम्पपीडितका लागि अस्थायी घर आवश्यक रहेको नेता नेपालको भनाइ थियो ।

‘अहिले भूकम्पपीडितले राहतका नाममा त्रिपाल, दाल र दुईमाना चामल खोजेका छैनन्’, नेता नेपालले भने, ‘वर्षाअगावै भूकम्पपीडितले कम्तिमा जस्ताको छानोमुनि बस्न पाउन् ।’

झोर महांकाल माविको अस्थायी भवन बनाउन एमालेका ३० जना बढी कार्यकर्ता खटिएका छन् । अस्थायी भवन निर्माणकालागि एमालेका सचिव योगेश भट्टराई, नेतृ रामकुमारी झाँक्री र अन्य एमाले कार्यकर्ताहरु झोर महांकाल पुगेका थिए ।
– Source: Annapurna Post