कालीगण्डकीमा पहिरो रोकिएन, तालको सतह घट्दै

0 8
म्याग्दी : भगवती र राम्चे गाविसको सीमाना बैंसरीमा पहाडबाट कालीगण्डीमा पहिरो झर्ने क्रम रोकिएको छैन । शुक्रबार बिहानदेखि खस्न थालेको पहिरोले आइतबार एकबजेदेखि १७ घन्टा कालीगण्डकी थुनिएको थियो ।

नदी थुनेर बनेको चार किलोमिटर लामो कृत्रिम तालको घटेर सात मिटरमा झरेको प्रहरी नायब उपरिक्षक हीरा गिरीले जानकारी दिए ।

आइतबार साँझसम्म करिब एकसय ५० मिटर गहिरो ताल बनेको अनुमान गरिएको थियो । ‘अहिले तालको गहिराईबारे अनुमान लगाउन सक्ने अवस्था छैन, तर साविकको ८० प्रतिशत घटेको छ’, प्रनाउ गिरीले भने । कृत्रिम ताल बनेपनि नदी थुनिने खतरा नरहेको घटनास्थल पुगेको प्राविधिकहरुको भनाइ छ ।

पहिरो खसेर थुनिएको तालको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, प्रहरी नायब उपरिक्षक गिरी र  नेपाली सेनाका प्राविधिकहरुले सोमबार अवलोकन गरेका छन् ।

पहाडको टुप्पोबाट खसेको माटो र ढुंगाको थुप्रोलाई पानीले विस्तारै बगाउन थालेकाले तालको सतह पनि घट्दै गइरहेको छ ।

माथिबाट पहिरो खस्ने क्रम रोकिए थुनिएको स्थानमा सामान्य उपकरणले पनि नदीलाई पुरानै स्वरुपमा फर्काउन सक्ने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

‘तर माथिबाट सानो–सानो पहिरो खस्ने क्रम अझै रोकिएको छैन्, रातभरमा ठुलै आवाजमा तीन पटक पहिरो खसेको जानकारी आएको छ’, उनले भने, ‘पहिरो रोकिएमा सेनाको प्राविधिक टोलीले काम थाल्नेछ ।’

राम्चे–९ फेदी पहाडको टुप्पोमा अझै चिरिएको भाग देख्न सकिन्छ । त्यसबाट केही समयको अन्तरालमा सानो–सानो ढिस्को खसिरहन्छ । आइतबार १७ घण्टा थुनिएको नदी माटो र ढुंगाको थुप्रो माथिबाट आफै बग्न थालेपछि कालीगण्डकी नदी किनारका बस्तीहरुमा कुनै खतरा हुन पाएन ।

बैंसरी र फेदीका २७ घर पुरिएर क्षतिग्रस्त बनेपनि त्यहाँका स्थानीयलाई दुई दिनअघि नै सुरक्षितस्थानमा सारिएको थियो ।

पीडित परिवारलाई १० हजार

सरकारले पहिरोबाट घर गुमाएका २७ परिवारलाई सोमबार १० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयले भगवती र राम्चे गाविसका सचिवमार्फत राहत रकम उपलब्ध गराइएको हो ।

पहिरोले राम्चे–९ फेदीका खरिमायाँ गुर्बजा, भेमबहादुर गर्बुजा, बहादुर पाईजा, जयबहादुर पुर्जा, टिका पुर्जा, शेरबहादुरर पुन, मनबहादुर पुन, सुरेश पुर्जा, ललु पुर्जा, नारायण पुर्जा र सईबहादुर गर्बुजाको घर पुरिएका छन् ।

त्यस्तै, भगवती–२ का झबहादुर गर्बुजा, मिलन खोरजा, कृष्ण पाईजा, राजन केसी, सोमबहादुर गर्बुजा, पुर्खमान खोरजा, चेतप्रसाद पुर्जा, मायाँ केसी, खिमबहादुर केसी, प्रेम पुन, पार्वती मगर, भीमबहादुर कार्की, भिमसेन केसी, प्रेम गर्बुजा, लक्षण गुरुङ र बल बहादुर गर्बुजाको घर पुरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ती सबै परिवारलाई त्रिपालमुनी सुरक्षितस्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालले जानकारी दिए ।

-Source: Annapurna Post