बैसरी पहिरोको ३ दिन साक्षी बन्दा

0 6

जेठ ८ गते एकाविहानै फेसबुक खोल्दा गलेश्वर निबासी मोहन केसी दाईले बैसरीमा पहिरो गएको स्टाटस पोष्ट गर्नुभएको रहेछ । त्यो देखेपछि तुरुन्तै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरज केसी सरलाई सम्पर्क गर्दा सर रेडक्रस हलको अगाडि केही राहत सामान हालेर जाने तयारीमा हुनुहुदो रहेछ म त्यही आएँ । अनि ४ परिवारलाई पुग्ने पाल र खाना लिएर रेडक्रस म्याग्दीका सभापती लेखबहादुर हमाल र केही पत्रकारसहितको टोलीसहित बैसरी लागियो ।

 

त्यहाँ पुग्दा माथिबाट झरिरहेको थियो । स्थानीयबासिन्दाले रातिदेखि नै पहिरो झरिरहेको बताए । पहिरोको कारण २ घर पूर्णरुपमा क्षति भैसकेका रहेछन् । घर क्षति भएकाहरुलाई राहत सामान बाँडियो । त्यसको केही समय पछाडि प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी र प्र.ना.उ हिरा गिरी बैँसरी आइपुग्नुभयो पहिरो निरिक्षणको लागि । काफलडाडाको डाँडो, जहाँदेखि धुले पहिरो झरिरहेको थियो, उहाँहरु त्यतातिर लाग्नुभयो ।

४ बजे तिर पुनः अर्को खबर आयो । बैसरी खतरामा छ अब बस्ती सार्नुपर्छ । बस्ती स्थान्तरणको लागि तत्काल योग्य स्थान आवस्यक पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयबाट १० थान पाल बोकेर ५ बजे बैसरी तिर लाग्यौं र सबै परिवारहरुलाई पाल बाड्यौँ । खतरा अझै कायम थियो, बैसरीको त्यो सानो बजार सुनसान थियो । आफन्तहरु नजिक भएका मानिसहरु आफन्तकहाँ लागिसकेका थिए । नहुनेहरु त्यही कता बस्ने भनेर अलमलमा थिए ।

मसँग ५ जना साथिहरुको समुह थियो । हामीहरु मिलेर त्यही पालको प्रयोग गरेर उहाँहरुको लागि अस्थ्ाायी छाप्रो निर्माण गर्‍यौं । त्यतिबेलासम्म साँझको ७ बजेर ३० मिनेट भैसकेको थियो । सबै मान्छेहरु आ-आफ्नो बाटो लागिसकेका थिए । स्थानीय बासिन्दाहरु मनमा डर राख्दै त्यो अँध्यारो छाप्रोमा खाना पकाउँदै थिए । बृद्धहरु आराम गर्दै थिए । त्यतिबेलासम्म हामीहरुले केही स्थानीय युवाहरुसँग मिलेर त्यहाँ रहेका पाईपका टुक्राहरु जोडेर खानेपानीको धारा त्यहाँ ल्याइसकेका थियौँ ।

बस्नलाई छाप्राहरु पनि बने । पिउनलाई पानी पनि आयो । तर, नजिकैको ठूलो पहाडबाट झरेको पहिरोको आवाजले बेलाबेला त्रास बढ्थ्यो । काली नदी पनि एकनासले सुसाइरहेको थियो । हरेक आवाजले त्रास बढाइरहेको थियो ।

बेनीबजारको सुन्दर बस्तीले सँधै बग्ने कालीगण्डकी नदेख्दा आत्तिएको भान हुन्थ्यो । यस्तो लाग्थ्यो सँधै अरुको निन्द्राहराम गर्ने कालीगण्डकी आज आफै चिर निन्द्रामा थियो

चारैतिर अन्धकार थियो । हामी र स्थानीयको मनमा डर थप बढिरहेको थियो । हाम्रो टिमले त्यहाँ बिजुली जोड्ने बिचार गर्‍यो । बेनीबाट तार र बल्ब मगायौं । सुरज सर विजुलीका सामानसहित राति ९ बजे बैसरी आइपुग्नु भयो । हामीले १० बजेर ३० मिनेट जाँदा त्यहाँको अँध्यारोलाई बिजुलीको मद्दतले उज्यालोमा परिणत गरेरै छाड्यौँ । उज्यालोको कारण माहोल अलि सुरक्षित जस्तो भयो । हामी ११ बजे भोली आउने बाचाका साथ बैसरीबाट बेनी फर्कियौं ।

जेठ ९ गते थप उद्धारको लागि अनेरास्ववियुको १५ सदस्यीय टोली र नेकपा एमाले म्याग्दीका सचिब बालकृष्ण सुवेदीसहित बैसरी पुगे । त्यहाँबाट बाहिरीनेहरुको सामान सवारीमा लोड गरियो । कति घरहरुको जस्ता पाता निकालेर सुरक्षित स्थानमा सारियो । लगभग धेरै घरका सामानहरु हाम्रो समूहले सारेर सक्यो ।

हामीलाई लाग्यो सामान त सारियो अब बस्तीलाई सुरक्षित ठाउमा सार्नुपर्छ । राम्चे गाविसको ९ नम्बर वडामा रहेका ७ घर अझै त्यहीँ बस्न खोजिरहेका थिए । तर, हाम्रो समूहले उहाँहरुलाई त्यहाँ खतरा भएको र जतिबेला जे पनि हुन सक्छ भनेर सम्झायौं । उनीहरु अझै पनि त्यहीँ बस्न खोजेका थिए । तर हाम्रो टिमले उनीहरुलाई त्यहाँबाट स्थानान्तरण गरेरै छोड्यो जहाँ ७ घरका २४ जना थिए । उनीहरुलाई बैसरी बजारभन्दा केही यता घुम्तीको कुनामा हाम्रै समूहले बस्न मिल्ने गरी छाप्रो बनाएर छोड्यो ।

३ परिवार अझै ठाउँ छोड्न तयार थिएनन् । बृद्धहरु धेरै भएको त्यो परिवारले आफूहरु भोली बिहान सामान लिएर पुरानो गाउँ जान्छौं भनेर सर्न मानिरहेको थिएन । तर, मानवीय क्षतीको जोखिम रहेको भन्दै हामीले उनीहरुको मन नहुँदा नहुँदै पनि जबर्जस्ती सार्यौं । उनीहरुको सामान ३ ट्याक्टर थियो । अर्को दिन पहिरोले त्यो बस्तीको नामोनिसान बाँकी राखेन ।

त्यतिबेलासम्म पहिरोका कारण खतरा भएको बैसरी बजारमा कोही मानिस थिएनन् । सबै सुरक्षित स्थानमा पुगिसकेका थिए । अस्थायी बस्तीलाई बिजुलीको पोलबाट हुक गरेर विद्युत र पानीको ब्यवस्था गरेपछि हाम्रो समूह साँझ बेनी फर्कियो ।

केही परिवार सर्न मानिरहेका थिएनन् । उनीहरुको मन नहुँदा नहुँदै हामीले जबर्जस्ती सार्यौं । अर्को दिन पहिरोले त्यो बस्तीको नामोनिसान बाँकी राखेन

जेठ १० गते बिहान २ बजे खबर पाएँ काली खोला थुनिएको छ अरे । मैले हतार हतार सुरज सरलाई सम्पर्क गर्ने प्रयास गरेँ तर फोन लागेन । म घरबाट निस्किएर काम गर्ने रेडियो म्याग्दीकाली एफएममा आएँ । प्राविधिक साथीहरुलाई उठाएर रेडियो खोल्न भनें । नियमित प्रसारण अनुसार विहान ५ बजे खुल्ने भए पनि त्यो दिन एफएमबाट विहान साढे ३ बजेदेखि नै बैसरी अपडेट सुरु भयो । सबैजसो ज्यान सुरक्षित राख्न अग्लो स्थान खोज्दै दौडिएका थिए । तर हामी सन्चारकर्मी जोखिम मोलेर सूचना प्रवाहमा जुटेका थियौं ।

सबैजना त्रासमा थिए । बालबच्चा च्यापेर, बन्दोबस्तीका सामान बाकेर मानिसहरु सुरक्षित ठाउँतिर दौडिरहेका थिए । सुरक्षाको प्रवन्ध मिलाउन सुरक्षाकर्मीहरु पनि व्यस्त थिए । बेनीबजारको सुन्दर बस्तीले सँधै बग्ने कालीगण्डकी नदेख्दा आत्तिएको भान हुन्थ्यो । यस्तो लाग्थ्यो सँधै अरुको निन्द्राहराम गर्ने कालीगण्डकी आज आफै चिर निन्द्रामा थियो ।

म कालीपुल आउँदा थाहा पाएँ सुरज सरको टिम बैसरी पुगिसकेछ । मैले सम्पर्क गर्दा तल्लो बाटो नआउन भन्नुभयो । त्यसपछि म्याग्दी युवा संघका सचिवालय सदस्य चन्द्रमान छन्त्याल र म राखुको पिप्ले गाविसको पौवा हुँदै बैसरी पुग्यौं । बैसरीको त्यो सानो बजारको नामोनिसान थिए । केही नदेखिने गरी पहिरोले पुरेको थियो । पारिको ७ घरको बस्ती पूरै पुरिएका थिए । खोलामा आवात जावत गर्ने पुलको नाम निसान थिएन, यता ३ परिवार लाई जबजस्ती सारेको ठाउँ पहाडमा परिणत भैसकेको थियो ।

रातिदेखि त्यहाँ पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसी, म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसी, प्रहरी निरिक्षक विमल आचार्य लगायतको टोलीले आ-आफ्नो तरिकाले काम गरिरहेका थिए । सुक्खापहिरो खस्नेक्रम जारी थियो । वरपर पूरै धुलाम्मे थियो । नजिकै पनि केही देखिँदैनथ्यो । यहीँ नेर यो छ भन्ने मेसो पाउन मुस्कील थियो ।

हजारौंले कामना गरेका थिए-काली तिमी तिम्रो आफ्नै बाटोमा जाऊ, कसै, कोहि, केहीलाई पनि ध्वस्त नबनाऊ । सबैको पुकार सुने जसरी काली बग्दै गयो

बिहानको मिरमिरेको उज्यालोसँगै बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय मिडियाले खबर दिन थाले । कालिगण्डकी थुनियो । बैसरी बजार पुरियो । नदीको किनारको बेनीबजार उच्च खतरामा भन्ने समाचार आए । तर ति सञ्चारमाध्यममा खबर पठाउने कुनै पनि पत्रकार बैसरी आइपुगेका थिएनन् । बिभिन्न स्रोत परिचालन गरी उनीहरुले घटनाक्रमको अपडेट गराइरहेका थिए ।

हाम्रो समूहले इन्टरनेटको प्रयोगले त्यहाँको फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै सूचना दिइरहेको थियो । यसबाट म्याग्दी जिल्ला बाहिर र भित्रकै कतिपयले सत्य र ताजा सूचना पाइरहेका थिए । संयम रहन र सुरक्षित रुपले बस्न अनुरोध सहितको सूचना स्थानीय रेडियोबाट प्रवाह भैरहेको थियो । मलाई लाग्छ दुःखकोबेला रेडियो सबैको साथी बनेको थियो । स्थानीयस्तरमा ठूलो बिश्वास त्यसले दिलाइरहेको थियो । हामी पुरै सूचना सम्प्रेषणमा लाग्यौं ।

आकासमा हेलिकोप्टर घुमिरहेको थियो । त्यो काठमाडौंबाट उद्धारकर्मीलाई लिएर आएको हेलिकोप्टर रहेछ । त्यसमा सेना र केही भूगर्भविद छन् भन्ने अपुष्ट जानकारी हामीलाई थियो । तर, वरपरको धुलाम्य वातावरणले नजिकमा हेलिकोप्टर अवतरण गर्न सकिरहेको थिए । पहिरो खसेको स्थानभन्दा केही माथि हेलिकोप्टर अवतरण गरेपनि उद्धार टोलीले केही गर्न सकेन । उनीहरु पर्ख र हेरको अवस्थामा थिए । पानी थुनिएर एक किलोमिटर भन्दा लामो ताल बनेको थियो । तलतिर काली नदी सुकेको थियो ।

बैसरीमा काली थुनिएको त्यो दृष्य शब्दमा बयान गर्न नसकिने थियो । झण्डै साढे १६ घण्टापछि कालीले बिस्तारै आफू बग्ने बाटो आफै बनायो र बग्न थाल्यो । हजारौंले कामना गरेका थिए-काली तिमी तिम्रो आफ्नै बाटोमा जाऊ, कसै, कोहि, केहीलाई पनि ध्वस्त नबनाऊ । सबैको पुकार सुने जसरी काली बग्दै गयो । कसैको केही क्षति गरेन । तर, बैसरी बजारको अस्तित्वलाई मेटाइदियो ।