गोदामभरी जस्तापाता, व्यापारी भन्छन् ‘अभाव छ’

0 7
भूकम्प प्रभावित काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, दोलखालगायतको जिल्लामा अहिले जस्ताको चरम अभाव छ। काभ्रे बाहेकका अन्य जिल्लाको सदरमुकाममा भूकम्पले ठूलो क्षति पुर्‍याएपछि ती क्षेत्रका बजार पूर्ण रुपमा संचालनमा आउन सकेका छैनन् भने स्थानीय व्यापारीले पनि बजार खोल्न सकेका छैनन्।
ती क्षेत्रका निमार्ण सामग्री बेच्दै आएका व्यापारीमध्ये केहीले त आफन्त नै गुमाउनुपरेको छ।
रामेछाप, सिन्धुपाल्चोक, दोलखामा बजार पूर्ण रुपमा नखुलेपछि स्थानीयबासी निमार्ण सामग्री किन्न त्यो क्षेत्रको व्यापारिक केन्द्र बनेपा आएका छन्। तर, बनेपाका गोदाम जस्तापाताले भरिएपनि व्यापारीहरुले भने अभाव भएको बताउँदै सर्वसाधारणलाई रित्तो हात घर फर्काउँदै आएका छन्।
केहीले भने चिनजान र भनसुनमा जस्ता पाएका छन्। सेतोपाटीले बनेपामा पुगेर गरेको रिर्पोटिङमा यस्तो देखिएको हो। बनेपा बजारका मनकामना, राजेश, चण्डेश्वरी हाडर्वयर लगायतका सबै जसो पसलमा ग्राहकको ठूलै भीडभाड थियो। व्यापारीहरुले भने अहिले जस्तापाताको अभाव भएको भन्दै टार्दै थिए।
चण्डेश्वरी हाडर्वयरको म्यानेजर पुष्प श्रेष्ठ ग्राहकलाई भन्दै थिए ‘आज कम्पनीले एक ट्रकमात्र जस्तापाता पठायो, जस्ता छैन भोलि आउनू माग अनुसारको जस्ता पाउनुहुन्छ, भोलि कम्पनीले ३ ट्रक जस्ता पठाउँदै।’ तर चण्डेश्वरी हाडर्वयरको गोदाम घर भने जस्तापाताले भरीभराउ थियो।
दुई दिनदेखि जस्तापाता लिन आएका काभे महाङकालका रविन तामाङले भने, ‘पसलको गोदामा जस्तापाता हुँदापनि व्यापारीले छैन भन्छन,’ उनले भने,‘बल्ल बल्ल आज जस्ताको बिल गर्न काउन्टरमा जाँदा आफुले भनेको १२ फुटको जस्तापाता नपाएर १० फुटको जस्ता किन बाध्य भएँ’, उनले गुनासो पोखे।
राजेश जस्तापाताको व्यापार गरिरहेका मनकामना हाडर्वयरको सञ्चालक सज्जन कुमार अग्रवालले भने, ‘कम्पनीले अहिले बजारमा माग भएको जति जस्तापाता उपल्ब्ध गराउन नस्कदा अभाव भएको हो, ’ उनले भने, ‘जस्तापाताको मूल्यमा भने हामीले कम्पनीले तोकेको मूल्यमा ३ प्रतिशत व्यावस्थापन खर्च र २ प्रतिशत नाफा राखेर व्यापार गरेका हौ।’
मनकामना हाडर्वयर पसलमा दुई दिन पालो कुरेर आफ्नो गाउँलेलाई ५० बन्डल जस्तापाता किनेर  लगेको  सिन्धुपाल्चोकका सर्वन तामाङले बताए।
भूकम्पअघि बजारमा आउने मागभन्दा अहिले माग १० गुणा बढी छ। तर, कम्पनीले व्यापारीलाई दैनिक १७ टनको ६/७ ट्रकको माग भए पनि मुस्किलले २/३ ट्रक मात्र पठाएको हुदाँ समस्या आएको राजेश हाडर्वयर काभ्रेका म्यानेजर दिपक रुपाखेतीले बताए।
राजेश हाडर्वयरले हुलास, आरती र आरएमसी लगायतको जस्तापाताको व्यापार गरेतापनि काभ्रे शाखामा भने आरती जस्तापाताको व्यापार गरिरहेको छ। राजेश हाडर्वयर काभ्रेले कम्पनी कै मुल्यमा जस्तापाता बिक्री वितरण गरेका बताए। तर, हाडर्वयरले बिलमा भने कम्पनीको मुल्यमा १३ प्रतिशत कर जोडेर बिल काटेका छन्।
रामेछाप, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाबाट बनेपामा जस्ता किन्न आउँदा बास नै बस्नुपर्ने हुन्छ। उनीहरुले भनेका बेला समेत जस्ता पाएका छैन्। जस्ता किन्न २ देखि ४ दिनसम्म कुनुपर्ने अवस्था छ। बजारमा यसरी नै जस्तापाताको अभाव भइरहे वर्षामा पाल मुनी नै बास बस्नुपर्ने चिन्ता आफूहरुलाई रहेको दोलखा चरिकोटका सुदीप अधिकारीले बताए।