पोखरा जाने हो छुटैछुटको अवसर

0 12

भूकम्पपछि ठप्प रहेको पोखराको पर्यटन क्षेत्रलाई उकास्न पोखराका व्यवसायीहरुले विभिन्न पुनःजागरणका कार्यक्रम ल्याएका छन्। व्यवशायीले १५ देखि ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरेका छन्। वैशाख १२ र त्यसपछिको पराकम्पनको असर पोखराको पर्यटन व्यवसाय न्यून रहेकाले पोखरा सुरक्षित रहेको सन्देश दिँदै उनीहरूले विभिन्न १२ वटा क्षेत्रमा छुटको घोषणा गरेका हुन्।

स्वदेशी र बिदेशी पर्यटकलाई हरेक पर्यटकीय गतिविधिमा छुटसहित पोखरा आगमनको लागि व्यवसायीले आग्रह गरेका छन्। भूकम्पको त्रासले पर्यटन क्षेत्रमा आएको मन्दीलाई ध्यान दिँदै बनेको पोखरा पर्यटन पुनर्जागरण समितिका संयोजक गणेशबहादुर भट्टराईले पोखरा सुरक्षित छ भन्ने सन्देश विश्वभर दिन आबश्यक रहेको बताए।

व्यवसायीहरुले हरेक पर्यटकीय गतिविधिमा विशेष छुटसहितको प्याकेज समेत सार्वजनिक गरेका छन्। पोखराका होटल, लज तथा गेष्ट हाउसमा ५० प्रतिशत छुट दिइने भएको छन्। रेस्टुरेन्टका बिलमा २० प्रतिशत, ट्रेकिङ प्याकेजमा ३० प्रतिशत, पर्यटक बस टिकटमा २० प्रतिशत, रिजर्भका सवारीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। ट्रेकिङ सामानमा २० प्रतिशत, गार्मेन्टका सामानमा २० प्रतिशत, प्याराग्लाइडिङमा १५ प्रतिशत, अल्ट्रालाइट फ्लाइटमा १५ प्रतिशत, बञ्जिजम्प र जिप लाइनमा ५० प्रतिशत र ट्रेकिङ गाइडमा २० प्रतिशत छुटको व्यवस्था गरिएको संयोजक भट्टराईले जानकारी दिए।

‘पोखराको पर्यटन प्रवर्द्धनका लागि यहाँका हरेक पर्यटकीय गतिविधिमा विशेष छुटको व्यवस्था गरिएको छ,’ भट्टराईले भने, ‘भूकम्पले पोखरामा खासै क्षति नपुर्‍याए पनि पर्यटक आगमन कम भइरहेको अवस्थामा विशेष छुटको प्याकेजले पर्यटक वृद्धि गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ।’ पर्यटकीय गतिविधिमा घोषणा भएका छुट सेप्टेम्बर ३० सम्म जारी रहने व्यवसायीले जानकारी दिएका छन्।

भूकम्प अगाडि पोखराका होटलहरुमा ८० प्रतिशतभन्दा बढी अकुपाइ भएपनि आजकल सबै होटल प्रायः खाली छन्। सबै गतिबिधिमा पर्यटकहरुको न्यून उपस्थिति भएपनि व्यवसायीहरुले पर्यटन प्रवर्द्धनका लागि छुटको व्यवस्था गरेका हुन्।

पोखराको पर्यटन प्रवर्द्धनका लागि यहाँका व्यवसायले बाह्य मूलकमा समेत प्रचारप्रसार लक्ष्य लिएका छन्। ‘छुटको प्याकेजसहित बाह्य मुलुकमा हामी पुग्छौं,’ संयोजक भट्टराईले भने, ‘भूकम्प कारण नेपाल असुरक्षित छ भन्ने भ्रम परिरहेको छ। उक्त भ्रमलाई चिरेर नेपाल र पोखरा सुरक्षित छ भनेर हामीले प्रचारप्रसार गर्छौं।’