भ्रम फैलाउने अनलाईनलाई प्रहरीले बन्द गराएको भन्दै महासंघको आपत्ती

0 3

काठमाडौं, जेठ ११– विनाशकारी भुकम्पबारे अनावश्यक समाचार लेखेर भ्रम फैलाएको आरोपमा केहि
अनलाईनलाई प्रहरीले बन्द गराएपछि नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले सरकारी निकायले अनेक बहानामा कानुनविपरित अनलाईनहरुलाई बन्द गराउने काम गरेको भन्दै आज विज्ञप्तीमार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

महाभूकम्प र लगातार गइरहेको पराकम्पनका कारण उत्पन्न विषम परिस्थितिमा अत्यन्तै जोखिमबीच नेपाली पत्रकार र पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह भएको नेपाली मिडियाहरू यस्तो अवस्थामा अझ बढी जिम्मेवार भएर नेपाली जनता र राष्ट्रलाई विपत्तिबाट छिटो बाहिर निस्कन हरसम्भव प्रयत्नशील रहनेमा सचेत रहने विस्वास व्यक्त गर्दै महासंघले भनेको छ, ‘यस्तो अवस्थामा मिडियाका विषयवस्तुप्रति सबैको चासो रहनु स्वाभाविक हो । तर, यसै बहानामा संविधान तथा प्रचलित कानुनविपरित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरी गैरअख्तियार प्राप्त सरकारी निकायले शान्ति सुव्यवस्था कायम राख्ने बहानामा सम्पूर्ण आमसञ्चार माध्यमको निगरानी राख्नुको साथै कानुनले तोकेको प्रक्रियाबाहिर गई केही अनलाईन समाचार माध्यमहरू बन्द गराइएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५ (२) ले प्रत्याभूत गरेको ‘कुनै श्रव्य, श्रव्य दृष्य वा विद्युतीय उपकरणको माध्यमबाट कुनै सामग्रीको प्रकाशन तथा प्रसारण गरे वा छापे वापत त्यस्तो सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा छाप्ने, रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय, छापा वा अन्य सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज गरिने छैन’ तथा धारा १५(४) ले प्रत्याभूत गरेको ‘कानूनबमोजिम बाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोन लगायतका सञ्चार साधनलाई अवरूद्ध गर्न सकिने छैन’ भन्नेव्यवस्थाको समेत स्मरण गराएको छ ।
महासंघले शान्ति सुव्यवस्था कायम राख्ने बहानामा सम्पूर्ण आमसञ्चार माध्यमको निगरानी राख्नुको न्यायोचित नभएको समेत बताएको छ ।