राहत रकम दुरुपयोग गर्नेहरु जेल जान्छन्ः कोइराला

0 3

काठमाडौं, जेठ ११–प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको निमित्त आएको राहत रकम र सामग्रीको दुरुपयोग गर्नेहरु जेल जाने बताएका छन् ।

प्रधानमन्त्री निवासमा सोमबार बिहान विभिन्न बैक र संघ–संस्थाबाट भूकम्प पीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएका चेकहरु ग्रहण गर्दा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री कोइरालाले नेपालमा जननिर्वाचित संविधानसभा रहेको र व्यवस्थापिकाबाट निर्वाचित दह्रो सरकार रहेकोले हैटीको जस्तो अवस्था आउन नदिने बताउँदै सरकारी संरचनामार्फत राहत वितरण गर्दा सबै पीडितहरु कहाँ समान ढंगले रकम र सामग्री पुग्ने तर संस्थाहरुलाई स्वछन्द हिसाबले छोडिदिंदा सुगम स्थानमा खातै खात र दुर्गममा रित्तो हात पर्ने जोखिम रहेकोले सरकारी निकायसंग समन्वय गरी काम गर्ने व्यवस्था मिलाइएको बताए ।
प्रधानमन्त्री कोइरालाले यो विपद्को घडीमा पीडितहरुको नाममा आएको राहत सबैकहाँ पुगोस भन्नेमा सरकार सचेत रहेको बताउदै दाताहरुले पनि आफ्नो सहयोग पुगे नपुगेको निगरानी गर्न अनुरोध गरे ।
आज राहत कोषमा प्राइम बैंकले ५० लाख , निक्षेप तथा कर्जा सुरक्षण निगमले २७ लाख, नेपाल सुन चाँदी व्यवसायी महासंघले २५ लाख, दीपंकर फाउण्डेशनले १० लाख , चलचित्र विकास बोर्डको ५लाख र काष्ठमण्डप विकास बैंकले ५लाख रकम सहयोग गरेको छ ।