धरहरा दुरुस्तै बनाइने

0 4
काठमाडौं : ‘भत्किए पनि धरहरा फेरि जस्ताको तस्तै बनाउनुपर्छ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले आइतबार स्थलगत निरीक्षणपछि भने, ‘यो इतिहास मेटाउनु हुँदैन, बरु अब नयाँ बन्ने संरचना भूकम्प प्रतिरोधात्मक हुनुपर्छ। जगमा स्प्रिङ हालेर बनाउनुपर्छ।’
निरीक्षणका क्रममा पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले धरहराको विगतबारे जानकारी गराउँदै भने, ‘भीमसेन थापाले बागदरबारभित्र र रणबहादुर शाहकी रानी त्रिपुरासुन्दरीले यही ठाउँमा धरहरा बनाएका रहेछन्।
१८९० सालको भूकम्पले दुवैलाई क्षति पुर्‍याएछ। सय वर्षपछि पुन: १९९० सालको महाभूकम्पले बागदरबारको पूरै ध्वस्त पारेछ। १८८२ सालमा यो धरहराको माथिल्ला तलाहरू भत्किएछन्। त्यो बेला जुद्धशमशेरले भत्किएको भागमात्रै बनाएका रहेछन्।’
१९९० सालमा भत्किनुअघि धरहरा ११ तलाको रहेको जानकारी दिँदै उनले जुद्धशमशेरले अन्य मठमन्दिर भने जगैदेखि बनाइदिएको बताए।
उनका अनुसार त्रिपुरासुन्दरीले बनाएको भए पनि हाल भत्किएको धरहरा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले पुनर्निर्माण गरेकाले सोही बेलादेखि ‘भीमसेन स्तम्भ’ का रूपमा परिचित हुँदै आएको हो।
धरहरापछि हनुमानढोका दरबार क्षेत्र पुगेका मन्त्री शेर्पाले नौतले दरबार, तलेजु भवानीको मन्दिर, गद्दी बैठक, काष्ठमण्डप, मूल चोक, नासल चोकलगायत क्षेत्रको निरीक्षण गरे।
दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयकी प्रमुख सरस्वती सिंहले नौतले दरबारको माथिल्ला तीन तला भत्केको जानकारी उक्त क्षेत्र र गद्दी बैठकछेउमा पुग्दा सचेत हुन आग्रह गरिन्। गद्दी बैठकको भवन केही ठूला पराकम्पनबाटै पनि भत्किने अवस्थामा छ। नासल चोक खतरामा छ।
भूकम्पले कालभैरवलाई केही गरेन। शेर्पाले कालभैरवको दर्शन गरे। पुजारीले उनलाई टीका र माला लगाइदिए।
मन्त्रीसँगै सिंस्कृति, पर्यटन तथा नागरिक उड्डयनसचिव सुरेशमान श्रेष्ठ, सभासद्हरू चित्रबहादुर केसी, नवीन्द्रराज जोशी, सीपी मैनालीलगायत थिए।