नेपालमा घर बनाउँदै हलिउड नायिका

0 4
काठमाडौं : ओस्कार विजेता हलिउड नायिका सुजन सारान्डोन नेपालका भूकम्पपीडितका लागि भूकम्प तथा हुरी प्रतिरोधक घर निर्माण गर्न सयौं स्वयंसेवी साथीका साथ हाल नेपालमा खटिरहेकी छन्।
भूकम्पले गर्दा प्राय: घर ध्वस्त भएको रामकोटका नौवटा गाउँमा ‘लिभ टु लभ इन्टरनेसनल’ले बनाउँदै गरेको दुई सय एक घरको नायिका सारान्डोनले आइतबार उद्घाटन गरेकी छन्।
‘लिभ टु लभ मेसेन्जर अफ लाइट’ समेत रहेकी नायिका सारान्डोनले ती ‘लिभ टु लभ होम’ हेरेपछि त्यहाँका गाउँलेलाई भेटेर सान्त्वना पनि दिइन्।
‘डेड म्यान वाकिङ’, ‘एटलान्टिक सिटी’, ‘थेल्मा एन्ड लुजी’ ‘लोरेन्जोज ओइल’ र ‘द विचेज अफ इस्टविक’, ‘बुल डरहम’लगायतका चर्चित चलचित्रमा अभिनय गरेकी सारान्डोनले रामकोटका भूकम्पपीडितलाई भनिन्, ‘भूकम्पबाट भएको विनाश देखेर मलाई धेरै दु:ख लागेको छ। तर यस्तो त्रासपूर्ण समयमा लिभ टु लभ इन्टरनेसनलले देखाएको सक्रियताबाट खुसी पनि भएकी छु।’
नेपालमा पहिलो पटक आएकी हलिउड नायिका एवं अधिकारकर्मी सारान्डोनले आफूले शहर घुमेर नेपाललाई चिनाउने तस्विरहरू खिच्ने र आफ्नो देशबासीलाई नेपालमा अझै पर्यटक जान सक्छन् भनेर सन्देश दिने पनि बताइन्। उनले नेपालमा भएको विपत्तिमा परेकाहरूलाई सहयोग गर्न आफ्नो फेसबुक पेजमार्फत बेलाबेलामा आब्हान गरिरहेकी छिन्।
सारान्डोनले विभिन्न संस्थासँग सहकार्य गर्दै अन्य भूकम्प प्रभावित क्षेत्रको पनि अवलोकन गर्ने र त्यहाँ पुनर्निर्माणका छोटो तथा लामो अवधिका कार्यक्रममा सहभागी जनाउने बाचा समेत गरेकी छन्।
हिमाली क्षेत्रमा मानवीय सहयोग गर्दै आएको लिभ टु लभ इन्टरनेसनलद्वारा नेपाल पुनर्निर्माण गर्ने अभियानमा साथ दिन नेपाल आएकी उनी बुधबारसम्म भूकम्पपीडितको सहयोगमा जुट्नेछिन्।
पञ्चकन्या ग्रुप र इन्टरप्रिनर्स अर्गनाइजेसन (ईओ) सँग मिलेर बनाउन लागिएका ती घरमा दुई साताभित्रै रामकोटका एक हजार मानिसलाई बस्न पुग्ने बताइएको छ।
संयुक्त राष्ट्रसंघको निर्देशनअनुसार विशेषज्ञले ती घरको डिजाइन गरेका हुन् भने निर्माणमा स्थानीय बासिन्दाको पनि सक्रिय सहभागिता रहेको छ।
संस्थाका संस्थापक ग्याल्वाङ ड्रुकपाले नेपालमा आएको भूकम्पले संसारलाई झस्काएको बताउँदै संस्थाको राहत कार्यक्रममार्फत नेपालीलाई तत्कालको लागि विपत्तिबाट मुक्त गर्ने र भविष्यमा दिगो वातावरणको स्थापना गर्ने बताए।
रामकोटमा घर बनाउने काममा व्यस्त एक स्वयंसेवकले आफूहरू पीडितलाई परिचालन गर्दै समस्याको समाधान खोज्नुपर्छ भन्नेमा विश्वास गर्ने जानकारी दिए। ‘हामी नेपालीसँग मिलेर घर बनाउँछौं’, उनले भने।
हाल बनाउन लागिएको नयाँ घरमा पनि क्षति भएका घरकै सामग्री प्रयोग गरिएको छ। सबभन्दा पहिले बनाइने दुईवटा घर भूकम्पमा आफ्नो छोरा गुमाएकी ७७ वर्षीया शैली तामाङ र सोही भूकम्पमा पति र छोरी गुमाएकी ४६ वर्षीया निर्माया तामाङका लागि हुने संस्थाले जनाएको छ।
यसै महिनाको सुरुमा लिभ टु लभ संस्थाकी विश्वव्यापी दूत मिसेल योहले पनि नेपालका विभिन्न गाउँमा निर्माणाधीन आठवटा प्रिफ्याब्रिकेटेड गरिएका सामुदायिक हलको उद्घाटन गरेकी थिइन्। काम सकिएपछि ती सामुदायिक हलमा वर्षायाममा करिब दुई हजार घरबारविहीनले आश्रय पाउने छन्।
सन् १९४६ अक्टोबर ४ तारिखमा अमेरिकाको न्यूयोर्कमा जन्मिएकी नायिका सुजन आफ्नो कलेज सकिएपछि अभिनयमा लागेकी हुन्। चलचित्र ‘जो’ बाट अभिनययात्रा शुरू गरेकी यी नायिकाले सन् १९९५मा चलचित्र ‘डेड म्यान वाकिङ’को लागि नायिकाको भूमिकामा ओस्कार पुरस्कार प्राप्त गरिन्।
त्यसैगरी चलचित्र ‘द क्लाइन्ट’, ‘लोरेन्जोज आइल’, ‘थेल्मा एण्ड लुजी’ र ‘एटलान्टिक सिटी’को लागि नायिकाको मुख्य भूमिकामा नै ओस्कार मनोनयनमा परेकी थिइन्।
ह्लिउडमा अर्को प्रतिष्ठित अवार्डको रूपमा चिनिने गोल्डेन ग्लोब अवार्डमा पनि ‘बर्नार्ड एण्ड डोरिस’,’इग्बी गोज डाउन’, ‘स्टेप मम’ लगायतका चलचित्रमार्फत मनोनयनमा परेकी थिइन्।

-Source: Annapurna Post