तीनदिनसम्म घरपरिवारसँग भेट नगरी बिरामीको उपचार गरेकी नर्स

0 24

विष्णु श्रेष्ठ। वीरअस्पताल मेल-मेडिसिन डिपार्टमेन्ट कि ‘इन्चार्ज’ हुन्।

ड्युटी जानु, विरामीको हेरचाह गर्नु, उनीहरूलाई औषधी खुवाउनु, ड्युटी सकेर घर फर्किनू।

यही दैनिकीमा उनका तीस वर्ष बित्दै छन्।

वैशाख १२ गते शनिबार उनको बिदा थियो। तर, ड्युटीमा रहेकी  साथीको काम परेकोले उनी अस्पताल आएकी थिइन्।

विरामीलाई ख्वाउनका लागि औषधि फिट्दै थिइन्। अस्पताल हल्लीयो। बेस्सरी हल्लीन थालेपछि विरामीसहित कुरूवाहरू भागे। उनी र अर्की नर्स एक अर्कालाई अंगालो मारेर ढोकामा उभिए। भागिहाल्न सकेनन्। उनीहरूकै अगाडि अक्सिजन सिलिण्डर, दराज र अन्य उपकरणकाहरु यता उता ढल्न थाले।

विस्तारै थामिए पनि भूकम्पका धक्काहरू आइरहे।

आफ्नै भवन पनि चर्किएको देखेपछि वीर अस्पतालका डाक्टर, नर्स  र विरामीहरूसमेत टुँडीखेल पुगे।

सडक र टुँडिखेल भरि मानिसहरु थिए। गाडी चल्नै छोडे।

टुँडिखेल पुगेर उनले आफ्ना श्रीमान र तीनवटी छोरीलाई फोन लगाउन खोजिन्। लागे पो!

श्रीमान आफैले फोन गरे। परिवार सबै सुरक्षित भएको थाहा पाएपछि उनको श्वास आयो।

नर्स भएका नाताले उनले आफ्नो मात्रै पीर लिएर हुँदैन। ‘यस्तो बेला परिवार पछि याद आउने भनेको आफूले स्याहार गरेका विरामीको रहेछ।’

उनलाई आफ्नो वार्डका हिँड्न नसक्ने दुई कैदी विरामीको याद आयो। धेरै विरामी टुँडिखेल आइपुगेका थिए। तर, उनीहरूलाई देखिनन्।

‘उनीहरु हिँड्न सक्दैनथे कैदी भएकोले हत्कडी लगाइएको थियो, उनीहरूको बढी चिन्ता लाग्यो,’ उनले भनिन्।

भूकम्प आएको ३० मिनेटपछि घाइतेलाई अस्पताल ल्याइपुर्‍याउन थाले।

ज्यान जोगाउन टुँडिखेल पुगेका डाक्टर नर्सहरुलाई आफ्नो पीरभन्दा ठूलो ती घाइतेको उपचार हुन्छ।

सबै डाक्टर नर्सहरु चर्किएको वीर अस्पताल फर्किए।

तर पुराना विरामीहरु फर्किएनन्, उनीहरूकै अघि अस्पतालका भित्ताहरू चर्किएकोले डराए।

बिष्णु अस्पताल फर्केर सिधै आफ्नो वार्डमा गइन् ती दुईजना विरामीलाई हेर्न। उनीहरू त्यहाँ थिएनन्। तीन दिनपछि मात्रै उनलाई थाहा भयो ती दुईलाई प्रहरीले लिएर गएका रहेछन्।

***

इमर्जेन्सी वार्ड भरियो। भवन भित्र जान डर लागिरहेको थियो। तर,भित्रै थिए औषधि र सामान। आफूलाई चाहिने समाचार सबैले आफैँ ल्याउन थाले सबै नर्सहरू।

त्यहाँ कसले के काम गर्ने भन्ने तोकिएको थिएन। अगाडी जे काम देखिन्छ त्यही गरे।

‘त्यो बेला मेरो ड्युटी मेडिसिन डिपार्टमेन्टमा हो इमर्जेन्सीमा होइन भनेर बस्ने बेला थिएन। कसैले काम गराउला र गरुँला भन्ने पनि भएन,’श्रेष्ठले भनिन्,‘हामीले जे काम पर्‍यो त्यही र जे जानेको त्यही गर्‍यौँ।’

अस्पतालमा नअटेर सडकमै ल्याउँदै, छोड्दै गरेका थिए प्रहरीले घाइतेलाई।

उनीहरु पनि सडकमै उपचार गर्न थाले।

साँझ तिर घाइतेलाई ट्रमा सेन्टर लगेपछि उनीहरू उतै खटिए। साँझ फेरि उनलाई श्रीमान्‌ले फोन गरे।

घर चर्किएको जानकारी पनि उनले फोनमै भने।

‘तिमी कतिखेर आउने?’

घरमा पति र आफू मात्रै हो। २ छोरीहरू विहे गरेर गइसकेका छन्। कान्छी छोरी चितवनमा सुरक्षित थिइन्।

उनले पतिलाई जवाफ दिइन्,‘यहाँ यस्तो छोडेर म कसरी आउँर? घाइतेहरू आएको आयै छन्,स्टाफहरू थोरै छन् म यहीँ बस्छु।’

छिमेकीसँगै पालमा बस्ने योजना बनाएका पतिले केही भनेनन्।

अस्पतालबाट आज घर जान पाइदैन भन्ने कुनै निर्देशन थिएन।

उनको आफ्नै विवेकको निर्णय थियो त्यो।

अघिपछि पनि ड्युटी सकेर घर जाँदा उनलाई विरामीको मात्रै चिन्ता लागिरहन्थ्यो। भोलिपल्ट आएर आफ्नो काम नसमालेसम्म उनको मन अस्पतालमै हुन्छ रे।

***

बुधवार आइसीयुमा भेटिएका दुई जना नर्सले भन्दै थिए, ‘मेडिकल डिपार्ट इन्चार्ज त तीन दिनसम्म यहीँ हुनुहुन्थ्यो। उहाँले खान पनि भ्याउनु भयो कि भएन कुन्नी?’

उनीहरुले सुनाएको नाउँ खोज्दै पाँचौँ तला उक्लिँदा बिष्णु भेटिएकि थिइन्।

नर्सले लगाउने सेतो सारी र एप्रोन लगाएकी उनको हातमा चावीको झुप्पा थियो। औषधि र उपकरणको जिम्मा इन्चार्जकै हुन्छ।

हामीले आफ्नो परिचय दिएपछि उनले भनिन, ‘केही काम छ, एकछिन पछि है।’ उनको अनुहारमा जतिखेरै मुस्कान देखिने।

१५ मिनेट पछि उनी हातमा चाविको झुप्पा लिएर आइन्। भर्‍‍याङको छेउमै कुर्चि राखेर बसिन्।

केहि बेरको कुरा पछि हामीले सोध्यौं, ‘भूकम्म आएको दिन घर किन जानु भएन?’

‘यस्तो आपतमा घाइते भएकालाई छोडेर घरजान मनै मानेन,’ उनले भनिन्।

शनिबार उनको मनले घर जान मानेन, आइतबारदेखि अस्पतालले २४ घण्टा काम गर्न अनुरोध गर्‍यो। उनी मानिन्। मंलबार दिउँसो २ बजे मात्रै उनी घर गइन्।

तीन दिनसम्म अस्पतालमा काम गर्दा उनले रात दिनको मेसै पाइनन् रे। घरी ट्रमा सेन्टर, घरी डरले टुँडिखेलमा गएका विरामी जाँच्न उनी व्यस्त भइन्।

***

विरामीको चाप कम हुन थालेपछि, घर जानु अघि उनी बसन्तपुर क्षेत्र गइन्।

‘मलाई त विरक्त लाग्यो,’ उनले भनिन्। केहि दिनपछि बालाजुको ‘माछापोखरी तिर जाँदा त मन थाम्नै सकिनन् रे। ‘बेहाल भएछ।’

विरामी जाँच्दा जाँच्दै उनीहरूका अनुभव पनि सोध्न भ्याउँछिन् उनले।

विरामी र उनीहरुका आफन्तसँग थोरै समय आत्मियता गाँसिन्छ, फेरि बेड खालि हुन्छ अर्को विरामी आउँछन् पुराना जान्छन्। नयाँसँग पनि उनीहरुले उस्तै व्यवहार गर्छन्। नर्सको मनको करुणाको सिलसिला टुट्दैन कतै।

उनलाई अहिले एकजना विरामीको पीर परिराखेको छ। उनको वार्डमा धरहराबाट खसेर घाइते भएका एकजना विरामी छन्।

उनीहरूको गाउँको घर पनि बस्न लायक छैन रे। काठमाडौँमा बस्ने ठाउँ छैन

तर विरामीकी पत्नी दोजिया छिन्। यहि १८ गते उनको डिलिभरि हुने मिति हो।

यो थाहा पाएदेखि विष्णुलाई कसरी उनको मद्दत गर्न सकिएला भन्ने मात्रै मनमा लागेको छ।