बेलायतका डिजाइनर लामिछानेबाट ५१ लाख नगद र आठ करोड जिन्सी सहयोग

0 3
काठमाडौं : बेलायत निवासी फेसन डिजाइनर रविचन्द्र लामिछानेले भूकम्प प्रभावितहरुको राहत तथा पुनस्र्थापनाका लागि ५१ लाख नगद सहयोग तथा आठ करोड जिन्सी उपलब्ध गराएका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा लामिछानेले पठाएको ५१ लाख १७ हजार ७ सय २७ रुपैया उनकी आमा रुक्मिणा लामिछानेले प्रधानमन्त्री कोइरालालाई आइतबार एक कार्यक्रमका बीच प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गरेको प्रधानमन्त्री कार्यलयले जनाएको छ ।
लामिछानेले जन्मभूमिमा विपत्ति आइपरेको बेलामा सहयोग गर्नु मानवीय धर्म भएको उल्लेख गर्दै करिब ८ करोडको सामान विभिन्न निकायमार्फत वितरण हुने गरी पठाएका छन् ।
सहयोग ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले पीडितहरुको लागि आएको रकम हिनामिना हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै भने,“ रकम हिनामिना गर्नेलाई क्रिमिनल कानून अनुसार कारवाही गरिनेछ।” प्रधानमन्त्री सुशील कोइरालाले सरकारले सारा शक्ति लगाएर भूकम्पबाट भएको विनासबाट मुलुकलाई पार लगाउने बताए ।
भृकुटी हिमालय फाउण्डेशनबाट पनि  ५० लाख सहयोग
भृकुटी हिमालय फाउण्डेशनले पनि आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुबाटारमा आयोजित कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष नोर्वु तेञ्जिङ्गले ५० लाख रुपैयाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा उपाध्यक्ष नोर्वु तेञ्जिङ्गले नेपालले सबै पर्यटकलाई एक पटक नेपाल भ्रमणको लागि अनुरोध गर्नुपर्ने बताए । उनले भने, “ यसो गरेमा नेपालको आर्थिक सामाजिक र विकास प्रकृयाले पुनर्जन्म पाउने छ ।” उनले आफ्नो संस्थाले लुम्बिनीबाट यस अभियानलाई अगाडि बढाउन चाहेको  पनि बताए।
यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्प प्रभावित क्षेत्रमा विपन्न परिवारका लागि न्यूनलगतका आवासीय भवन निर्माणको संयोजन गरिरहेका युवा इञ्जिनियर मनिष कोइरालाले  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैया सहयोग गरेका छन् ।