कालीगण्डकी ओभरफ्लो भएर बग्न थाल्यो

0 5

काठमाडौं, जेठ १०– गएराती भीषण पहिरो गएसँगै थुनिन पुगेको कालीगण्डकी नदी ‘ओभरफ्लो’ भएर बग्न थालेको छ ।
पहिरोले थुनिएको  नदी भरिएर साँझ सवा ५ बजेदेखि ओभरफ्लो भएर बग्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । नदीमा पानी बग्न थालेपनि पहिरो खस्ने क्रम भने जारी नै रहेको प्रहरीको भनाई छ ।
पहिरो जाने क्रम नरोकिँदै नदीमा पानी बग्न थालेपनि बहाब निकै ठूलो रहेको छ ।
म्याग्दीको राम्चे ९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले कालीगण्डकी थुनिएपछि एक सय मिटर गहिरो तथा तीन किलोमिटर टाढासम्म तलाउ बनेको थियो।
तलाउमा करिब तीस लाख घनमिटर पानी जम्मा भएको थियो।

निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाएर थुनिएको नदी खुलाउन समस्या भएकै बेला नदी आभर फ्लो भएर बग्न थालेको हो ।
नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख उद्धव विष्टको नेतृत्वमा प्राविधिकसहित हेलिकप्टरमार्फत घटनास्थल पुगेको प्राविधिक टोली नदी खुलाउन प्रयासरत थियो ।

घटनास्थलको नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख विष्ट, नेपाल प्रहरीका एसएसपी सुवास चौधरी, हाइड्रोलोजिस्ट सुरेश मरहठ्ठा, जल तथा मौसम विज्ञान महाशाखाका विज्ञ विनोद पराजुलीको प्राविधिक टोलीले अध्ययन समेत गरेको थियो । पहिरोका कारण भगवती गाविस–२ बैसरी र राम्चे–९ औलका २६ घर पुरिएको थियो भने करिब डेढ किलोमिटर बेनी–जोमसोम सडकमा क्षति पुगेको छ ।

यसैबीच नदीमा पानी बग्न थालेपछि तटीय क्षेत्रमा सम्भावित जोखिम न्यून गर्न पिप्लेको घुमाउने ताल, गलेश्वर, म्याग्दीको सदरमुकाम बेनीबजार, पर्वत बेनी, पर्वत बगरका बासिन्दालाई सुरक्षित स्थानमा पठाइसकेको प्रहरी नायब उपरीक्षक हिरा गिरीले बताए ।