अब हामीले भूकम्पलाई साथी बनाउन सक्नुपर्छ

0 7

यो प्रलयकारी भूकम्पले धेरै ठूलो जनधनको क्षति गरेको छ । आफन्त गुमाउने र घाइते हुनेको पीडा अथाह छ । जनको क्षति जस्तो धनको क्षति हुँदैन । जनको क्षति भएकालाई हामी सबैले सान्त्वना दिनुपर्छ । धन त कमाउँला, बाँचेरै हो धन जोड्ने । हाम्रो देश नै भूकम्प गएर बनेको रहेछ । हाम्रा हिमाल, पहाड भूकम्पका धक्काबाट ठडिएका हुन् भन्छन् विज्ञ । त्यसकारण हामी जहाँ जन्मन्छौँ, त्यसैलाई साथी बनाउनु सक्नुपर्छ । हामी आगोमा जन्म्यौँ भन्देखिन्, आगैलाई साथी बनाएर हिँड्नुपर्छ । पानीमा जन्म्यौँ भन्देखिन्, पानीलाई साथी बनाउनुपर्छ । हामी भूकम्पले ठडिएका हिमालका काखमा छौँ, त्यसैले भूकम्पलाई हामीले साथी बनाउन सक्नुपर्छ । र, सक्छौँ पनि । भूकम्पलाई साथी बनाउने भनेको, भूकम्पमैत्री हुनुपर्यो हामी । जहाँ जस्तो प्राकृतिक अवस्था छ, त्योसँग दुश्मनी गरेर बस्नु हुँदैन । हामी भूकम्प फ्रेन्ड्ली हुनुप¥यो । अब भूकम्पलाई के–के चिज मन पर्दैन त ? भूकम्पलाई अग्ला तर कमजोर घर मनपर्दो रहेनछ । भूकम्पलाई कमजोर भौतिक संरचना केही पनि मनपर्दो रहेनछ । हाम्रा नगरपालिका, जिविस, गाविसले दृष्टि पु¥याउन नसकेका र पु¥याएर पनि आँखा चिम्लेका संरचनाहरू यो भुइँचालोले भत्काइदियो । यस्ता कमजोर संरचना हामीले अबदेखि बनाउनु हुँदैन, यो भूकम्पलाई मन पर्दैन । यसबाट हामीले केही पाठ अवश्य नै सिकेका छौँ, हाम्रा सहर र गाउँमा जस्ता संरचना छन्, त्यसमा एकदमै ठूलो हेलचेक्र्याइँ भएको छ । नक्सै पास नगरी घर बनाउने, भूकम्प प्रतिरोधात्मक भन्ने शब्द थाहै नभएका मान्छेहरूलाई टेक्निसियन बनाउने यस्ता काम गर्न अब हामीले छोड्नुपर्छ । यस्ता काममा सघाउनु राम्रो होइन रैछ भनेर यो भूकम्पले सम्झाएको छ । अस्तव्यस्त भएका गाउँबस्ती, सहरलाई व्यवस्थित पार्ने अवसर पनि हो यो । जहाँ पातलो बस्ती छ, जहाँ स्कुल पुर्याउन सकिँदैन, अस्पताल पुर्याउन सकिँदैन, त्यहाँको विकास त्यही ढंगले गर्नुपर्छ । त्यहाँ जडीबुटीको विकास हुन्छ, जंगलको विकास हुन्छ, अन्य सम्भावना पनि होला, जे सम्भावना छ, त्यहीअनुरूप विकास गर्नुपर्छ । जहाँ मान्छे बस्नका लागि उपयुक्त छैन, त्यहाँका मानिसलाई व्यवस्थित स्थानमा सार्नुपर्छ । उनीहरूलाई रोजगारीका अवसर दिनुपर्छ । यो भुइँचालोले हामीलाई चारैतिर हेर्न र सोच्न पारेको छ । अहिले हाम्रोमा के पनि नराम्रो प्रवृत्ति छ भने, जिल्ला विकास समितिको केही बजेट लिएर डाँडाडाँडामा डोजर लगाइएको छ । जुन ठाउँमा १० घर छन्, त्यहाँ बाटो पुर्याइएको छ । अर्को साल पहिरो जान्छ, फेरि डोजर कुदायो । यसले पर्यावरणको विनाश गरेको छ । जंगल मासिएको छ । त्यसकारण अहिले हामीले व्यवस्थित बस्तीका बारेमा पनि सोच्नुपर्छ । कुन ठाउँ केका लागि उपयुक्त हो भनेर छुट्याउनुपर्छ । यो भुइँचालो विनाशकारी त हो नै । तर, यसले हामीलाई व्यवस्थित हुने अवसर दिएको छ । अब हामीले समृद्ध नेपाल बनाउनुपर्छ । देशको चौतर्फी विकास गर्नुपर्छ । अहिले भूकम्पले हामीमा मानसिक त्रास बढाएको छ । हामी आफ्नै घरमा बस्न, आफ्नै गल्लीमा हिँड्न, आफ्नै बस्तीमा डुल्न पनि डराइरहेका छौँ । सधैँ त्रसित भएर मात्रै पनि हुँदैन । तत्कालै हामी भूकम्पसँग सतर्कता अपनाएर अघि बढ्नुपर्छ । अब आउँदा दिनका भूकम्पसँग कसरी प्रतिरोध गर्ने ? कसरी हामी भूकम्पमैत्री बन्ने ? यसरी सोचेर अब काममा पनि निस्कनुपर्छ । त्रास र शोकमा बसेर कहीँ पनि पुगिँदैन । यति धेरै काम छ । थुप्रै घर, संरचना भत्केका छन् । तिनीहरूलाई बनाउनु छ । बर्खा लाग्यो, बर्खा छल्ने बास चाहिएको छ । बर्खा भनेको खेतीपाती गर्ने समय हो । अब त्यतातिर पनि लाग्नु छ । मैले मिडियामार्फत सुन्दै छु, यो भुइँचालोपछि बिदेसिने युवाको संख्या घटेको छ रे । युवाहरू बिदेसिनुको आफ्नै बाध्यता होला । अब युवा आफ्नै देश बनाउन लाग्नुपर्छ । भूकम्प प्रभावित क्षेत्रमा सुरक्षित घर बनाएर आफ्ना परिवारलाई राख्नुपर्ने भएको छ । भूकम्पले प्रभाव नपारेका क्षेत्रमा पनि सुरक्षित घर बनाउन लाग्नुपर्नेछ । किनभने, मैले अघि नै भनेँ, भूकम्पलाई साथी बनाउनु छ । यो भुइँचालोले जति क्षेत्रमा क्षति ग¥यो, त्यसमा सप्पै नेपाली र संसारले नै सहयोग गर्न खोजिरहेका छन् । अहिले नेपाल बनाउन धेरै ठूलो पैसा आवश्यक छ । हिजोमात्रै हामी कलाकारहरूले प्रधानमन्त्रीलाई भेट्यौँ । केही कुरा राख्यौँ । हामीले अहिलेको सरकारलाई मात्रै दोष दिएर हुँदैन । पञ्चायती व्यवस्थादेखि अहिलेसम्मका सरकारले विश्वसनीय काम गर्न नसकेकाले नै जनताले राहत कोषमा पैसा हाल्न त्यति ठूलो सहयोग गरेका छैनन् । हाम्रा सरकारहरूले बजेटको २५ प्रतिशत पनि खर्च गर्न नसकेको अवस्था छ । यस्तोमा विदेशीले पनि भन्ने अवसर पाइरहेका छन् । फेरि पनि विदेशी सरकार र दातृनिकायले सहयोगको कुरा गरिरहेका छन् । विदेशी सहयोग सरकारको समन्वयमा हुनुपर्छ । कतिपय आईएनजीओले राहत मात्रै ल्याउँदैनन्, विकृति पनि ल्याउँछन् । त्यसैले बलियो सरकार बनाएर हामी अघि बढ्नुपर्छ । विदेशी सहयोग पनि सरकारी कोषमा जम्मा हुनुपर्छ । सरकारलाई मात्रै पनि सबैले विश्वास नगर्ने भएकाले त्यो कोष सञ्चालनमा निजी क्षेत्र, नागरिक समाजका विज्ञ पनि राखिनुपर्छ । सरकारी कोषलाई सबैले विश्वास गर्ने गरी बनाइयो भने, सहयोगको समस्या हुने म देख्दिनँ । देशमा कति धन पनि मन पनि भएका मान्छे छन् । कति विदेशमा बस्ने नेपालीले यति घर बनाइदिन्छु, त्यो गर्छु, भनिरहेका छन् । उनीहरूलाई पनि सरकारले अपनत्वसहित काम गर्ने मौका दिनुपर्छ । सरकार, निजी क्षेत्र र नागरिक समाजले अवश्य नै काम गर्छ है भनेर विश्वास दिलाउन सक्नुपर्छ । हामीले प्रधानमन्त्रीलाई यही भन्यौँ । प्रधानमन्त्रीले यसरी नै काम गर्ने सोच लिएको र छिटै अघि बढ्ने बताउनुभयो । यस्तो किसिमको संस्था अथवा विकास कोष बन्यो भने त्यसमा पैसा जम्मा गर्नका लागि हामी सबैले प्रचारप्रसार गर्नुपर्छ । यो भूकम्पले घरबारविहीन भएर कतिको बिचल्ली भएको छ । उनीहरूलाई खाना त अत्यावश्यक नै भयो । अहिले राहतका रूपमा खाद्यान्न गइरहेका छन्, नगएका ठाउँमा पुर्याउनुप¥यो । खाएर मात्रै भएन । सुखसँग निदाउन पाएन भने केही गर्न सक्दैन मान्छेले । त्यसकारण पीडितलाई खानासँगै राति निर्धक्कसँग निदाउने व्यवस्था गर्नु छ । यो बर्खा छल्ने गरी अस्थायी घर बनाउन युवाको आवश्यक छ । अहिले स्वस्फूर्त पनि युवा लागिरहेका छन् । यो बेला हिमाल, पहाड, तराईका युवा मिलेर भूकम्पपीडितलाई सहयोग गर्नैपर्ने भएको छ । काम गर्छु भनेर अगाडि आएपछि काम गर्ने वातावरण बन्छ नै । पार्टीहरूले पनि स्वयंसेवक खटाइरहेको कुरा आएका छन् । पार्टी, संस्था, समूहबाट जुनसुकै फोरमबाट पनि हामीले सहयोग गर्न सक्छौँ । तर, कुनै दलको भन्दा पनि नेपाली भएर, सबै दलका युवाले स्वयंसेवामा हातेमालो गर्नुपर्छ । प्रशस्त विकासका सम्भावना छन्, हामी सबै आफ्नो ठाउँबाट लाग्नुपर्छ, देश बन्छ । देशैभरि नयाँ संरचना नबनाए हाम्रो भविष्य सुरक्षित छैन भनेर यो भुइँचालोले सूचना दिएको छ । यसमा पनि युवाले आ–आफ्नो ठाउँबाट सोच्नुपर्ने भएको छ । देश विकासको बाटोमा अघि बढ्यो भने सप्पै ठीक हुन्छ । अहिले देशमा संविधान बन्ने कुरा आइरहेका छन् । संविधान बन्दा देशको विकासभन्दा पनि विनाश हुने कुराहरू उठाइरहेका छन्, हाम्रा नेताले । त्यस्ता कुरा छाडेर देशको विकास कसरी गर्ने ? कसरी देशमा सक्षम लिडरसिप जन्माउने ? भनेर सोच्नुपर्छ । अहिले हाम्रो जनसंख्या झन्डैझन्डै तीन करोड छ, तीन करोडलाई सयजनाले दशकौँदेखि लिड गरिरहेका छन् । देशप्रति सकारात्मक सोच नराख्ने, देशलाई कसरी माथि उठाउनेभन्दा पनि आफू कसरी माथि उठ्ने भनेर सोच्ने, आफ्नो पार्टीलाई कसरी माथि उठाउने, आफू कसरी माथि उठ्ने भन्ने मात्रै सोच भएका सयजना मान्छेले देश चलाइरहेको देखिन्छ । म सप्पै नेतालाई दोष पनि दिन चाहन्नँ । सप्पै राजनीतिक विचार फोहोर हुँदैन । कर्मचारीतन्त्रमा सप्पै कर्मचारी नराम्रा हुँदैनन् । तर, ९५ प्रतिशत मान्छे राम्रा र पाँच प्रतिशत मान्छे नराम्रा हुन्छन् भने पनि बिगार्न सक्छन् । हाम्रोमा पाँच प्रतिशतले ९५ प्रतिशतलाई काम गर्न दिइरहेका छैनन् । हाम्रोमा सबैभन्दा खड्केको कुरा हो, नेतृत्व । हामीले युवा–युवा त भन्छौँ । तर, हाम्रो देशका युवाले कहिल्यै मौका पाएका छैनन् । एउटा युवामा देश बनाउने प्रचुर क्षमता र सम्भावना छ, भिजन छ । र, ऊ देश बनाउँछु भनेर राजनीतिमा होमिन्छ भन्देखिन्, समस्या अनेक आउँछन् । उसले कुनै पार्टीको सदस्यता लिनुप¥यो । फेरि पार्टीभित्र अनेक गुट हुन्छन् । एउटा गुटलाई समात्नुप¥यो । अर्को गुटले उसको खुट्टा तान्छ । माथिल्ला नेताले प्रयोग गर्न थाल्छन् । यसरी सम्भावना भएको युवाले अवसरै नपाउने प्रवृत्ति छन् हाम्रोमा । त्यो युवाले आफूभित्रको प्रतिभा र क्षमतालाई कुण्ठित गरेर, पार्टीभित्रका जस्तासुकै प्रवृत्तिलाई साथ दिएर राजनीतिमा टिक्नुपर्ने हुन्छ । यसरी २५–३० वर्ष टिक्यो भने मात्रै ऊ माथिल्लो निर्णायक स्थानको नेता हुन सक्छ । म कुनै पनि पार्टीको समर्थक पनि होइन र सप्पै पार्टीको विरोधी पनि होइन । कुनै पार्टीका कुनै कुरा राम्रा लाग्छन्, कुनै नराम्रा लाग्छन् । मलाई के लाग्छ भने, अब संविधान बनाउँदा यो संसदीय पद्धतिमा जानुहुँदैन । यो संसदीय पद्धतिमा हामी गयौँ भन्देखिन्, सही मान्छे चयन गर्ने प्रक्रिया झन्झटिलो छ । यो संसद्ले प्रधानमन्त्री छान्ने, राष्ट्रपति छान्ने, संसद्का सदस्यको समर्थन लिने जुन प्रक्रिया छ, यसले हामीलाई धेरै अलमल्याएको छ । यो परिपाटीको अन्त्य गरेर प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री अथवा राष्ट्रपति चुनिनुपर्छ । यसो भयो भन्देखिन्, जनताले भिजन भएको नेतालाई छान्न सक्छन् । त्यो सम्भावनाको ढोका हामीले यो संविधान बनाउँदाखेरि खोल्नुपर्छ । हुन त यो माओवादीको लाइन हो क्यारे । एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, कांग्रेसले संसदीय व्यवस्था भनेको थियो । मैले कुनै पार्टीलाई समर्थन गरेर भनेको होइन, सही लागेकाले भनेको हुँ । तर, अहिले आलोचनात्मक समर्थन गरेर माओवादी, एमाले पनि संसदीय पद्धतिमा राजी भएको कुरा आएको छ । यसो हुनुहुँदैन । दुई–चारजना विद्वानका कुरा सुन्दा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अथवा राष्ट्रपति भयो भन्देखिन् तानाशाही जन्मन सक्छ रे । तर, तानाशाही जन्म्यो भन्देखिन्, त्यस्तालाई जनताले सिध्याइदिएका, जेलमा जाकेका उदाहरण पनि छन् । फेरि कस्तो किसिमको तानाशाहीलाई कसरी ठीक पार्ने भन्ने कानुनको पनि व्यवस्था गर्न सकिन्छ । कलाकारको भूमिका कलाकारहरूले आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् । हामी पनि विभिन्न ठाउँमा राहत बाँड्न हिँड्यौँ । सबै कलाकार एकढिक्का भएर लागे त राम्रो हो । तर, विपतमा जो जहाँ छ, त्यहीँबाट सहयोग गर्नुपर्ने भएकाले यो सम्भव भएको छैन । कलाकारले आफूले गर्न सक्ने सहयोग गर्नुपर्छ । अहिले मान्छेलाई हँसाउने बेला भइसकेको छैन । भूकम्पको धक्काले लडेका हामी बिस्तारै उठ्दै छौँ । अहिले नै हँसाउन थालियो भने उल्टो अर्थ पनि लाग्न सक्छ । त्यसकारण, केहीपछि हामीले मानिसका मनमा मलम लगाउने खालका टेलिशृंखला बनाउँछौँ । केही समयपछि पीडित मानिसलाई पीडा बिर्साउने खालका ठूला–ठूला कन्सर्ट गर्न सकिन्छ । मानिसलाई जगाउन, सामान्य अवस्थामा फर्काउन सकिन्छ, त्यतातिर सोच्नुपर्छ, सोच्छौँ ।

– Source : Rato Pati