गण्डक नहरका सबै ढोका खोलियो

0 5

कावासोती : पहिरोले म्याग्दीमा कालीगण्डकी थुनेपछि गण्डक नहरका सबै ढोका खुला गरिएको छ ।

जुनसुकै बेला थुनिएको स्थान फुट्न सक्ने हुँदा गण्डकका ढोका खुला राखिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए । म्याग्दी राम्चेको काफलडाँडामा गएको पहिरोले कालीगण्डकी थुनेको छ ।

कालीगण्डकी नदी फुट्दा पहाडी गाविस रकुवा, डेढगाउँ, मिथुकरम, भारतीपुर, बुलिङ्टार ,डाँडाझेरी, कोटथर र रतनपुरका तटीय बस्ती जोखिममा परेको भन्दै सुरक्षित हुन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मैनालीले बताए।

कालीगण्डकी नदी देवघाटमा मिसिँदा नारायणी नदी उर्लन सक्ने भएकाले गैँडाकोटदेखि त्रिवेणी सुस्तासम्मका २० गाविसका बासिन्दालाई सर्तक हुन आग्रह गरिएको छ ।

नारायणी नदी आसपासका बासिन्दाका साथै भारतको विहार र उत्तर प्रदेशमा पनि यसको असर पर्नसक्ने भएकाले भारतलाई समेत जानकारी गराइएको उहाँले उल्लेख गरे ।

गण्डक नहरका ढोका बन्दहुँदा ताल बन्नसक्ने र त्यसले पक्लिहवा, त्रिवेणीसुस्ता, कोल्हुवा, नारायणी, पिठौलीमा असर पार्ने भएको ३६ वटै ढोका खुला गरिएको छ ।

अहिले नदी किनारका बासिन्दालाई सर्तक रहन आग्रह गर्दै नदी किनारमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कृष्ण सापकोटाका अनुसार अहिले विभिन्न टोली नदी किनारमा पुगेर स्थानीयलाई सर्तक रहन आग्रहसहित माइकिङ गरिएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय नवलपरासीले स्थानीय सञ्चारमाध्यममार्फत सूचनासमेत जारी गरेर सर्तक रहन आग्रह गरेको छ ।