प्राविधिक टोलीसहित हेलिकोप्टर ब्यारेकमा, पहिरो र धुलोले काम हुन सकेन

0 4
म्याग्दी : म्याग्दीमा भीषण पहिरोले मध्यरातदेखि थुनिएको कालीगन्डकी नदी खुलाउनका लागि प्राविधिक र विज्ञसहित त्यहाँ पुगेको नेपाली सेनाको हेलिकोप्टर एकछिन घटनास्थल नजिकै अडिएर सेनाको ब्यारेकमा फिर्ता भएको छ।
निरन्तर पहिरो र धुलोले उद्धारको काम तत्काल थाल्न संभव नभएपछि सेनाको हेलिकोप्टर नजिकै डाँडामा रहेको इन्द्रबक्स गणमा गएर बसेको छ।प्राविधिक र विज्ञसहित टोली पनि अहिले ब्यारेकमै बसेर अवस्था बुझिरहेको छ। सुख्खा पहिरोको धुलोले घटनास्थल पुरै ढाकिएको छ। तत्काल घटनास्थलमा जाने अवस्था नरहेको स्थानीय सुरक्षा अधिकारीले बताए।
सेनाको हेलिकोप्टर केही प्राविधिक, भूगर्भविद्सहित पौने दसमा घटनास्थल नजिकै पुगेको थियो । सेनाको हेलिकोप्टरले घटनास्थलको परिक्रमा गरेको थियो । पछि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसहित सुरक्षा अधिकारीको टोली पनि हेलिकोप्टर लिएर म्याग्दी पुगे पनि घटनास्थल जान सकेन। बेनी बजारमा गृहमन्त्रीको हेलिकोप्टर अवतरण गरिएको थियो।
म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले कालीगण्डकी नदी मध्यरातीदेखि थुनिएको छ। राम्चे–९ काफलडाँडा नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती–२ स्थित बैंसेरीमा कालीगण्डकी नदी थुनिएको हो।
नदी थुनेर कालीगन्डकीमा पानी सुक्न थालेपछि आसपासको क्षेत्रमा त्रास बढेको छ। मानिस घर छोडेर डाँडापाखा तथा अन्य सुरक्षित स्थानतर्फ भागिरहेका छन्। पहिरो निरन्तर चलिरहेकोले त्रास थपिएको छ। स्थानीय प्रशासन र प्रहरीले माइकिङ गरेर खतराको सूचनासहित सचेत गराइरहेको छ। कालीगन्डकी आसपासका नौ जिल्लामा उच्त सतर्कतामा राखिएको छ। प्रभावित हुने जिल्लामा म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मी, तनहुँ, स्याङ्जा, पाल्पा, नवलपरासी, मुस्ताङ रहेका छन्।
नेपाल प्रहरीका अनुसार कालिगण्डकी थुनिदा १५० मि. गहिराई, १ कि.मि लम्बाई, १०० मि. चौडाई भूभाग पानीले डुबेको छ। पानी जम्मा भएर त्यहाँ तालजस्तै बनेको छ।

– Source: Annapurna Post