श्रीकृष्ण प्रणामीका धर्मगुरुद्वारा मन्दिरमा आश्रित किशोरी बलात्कृत

0 4

१० जेठ, झापा । झापाका १४ वर्षीया किशोरी बलात्कारको अभियोगमा प्रहरीले एक जना धर्मगुरुलाई पक्राउ गरेको छ । श्रीकृष्ण प्रणामी धर्म सम्प्रदायका धार्मिक गुरु महाराज मोहनानन्द शास्त्री भारद्वाज सुवेदीलाई किशोरी बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सञ्जय राउतका अनुसार झापा कन्काई नगरपालिका ४ स्थित श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद् माईधामका पिठाधिश्वर ६० वर्षीय मोहनानन्दलाई संस्थाद्वारा सञ्चालित आश्रममा आश्रित एक किशोरीलाई बलात्कार गरेको उजुरीका आधारमा शनिबार पक्राउ गरिएको राजानी दैनिकमा खबर छ ।

आश्रित किशोरीले आफूलाई धर्मगुरु मोहनानन्दले नौ महिनाअघिदेखि बलात्कार गर्दै आएको आरोप लगाएकी छन् ।

कक्षा ८ मा अध्ययनरत ती छात्राले मोहनानन्दले आफूलाई नौ महिनादेखि बलात्कार गर्दै आएको प्रहरीलाई बयान दिएकी छन् । उनले भनिन्,’उहाँले रातिराति फोन गरेर बोलाइ जीउ मालिस गर्न लगाउनु हुन्थ्यो र संवेदनशील अंगमा स्पर्श गर्दै जबर्जस्ती गर्नुहुन्थ्यो, कसैलाई भने जे पनि गर्न सक्छु भनेर धम्की दिनुहुन्थ्यो । त्यसैले डरले मैले कसैलाई भन्न सकिन ।’

लामो समयदेखि गुरुबाट बलात्कार हुनुपरेपछि पीडित किशोरीले विद्यालय स्थानान्तरणका लागि शैक्षिक प्रमाणपत्र लिएर माईधारमा रहेको दिदीको घर गएलगत्तै घटना सार्वजनिक भएको हो ।