बारपाकका गर्भवतीको ज्यानै धरापमा

0 5
बारपाक (गोरखा) : ‘छोरालाई केही भयो भने म बाँचेर पनि मरेसरह हुनेछु’, वैशाख १२ को विनाशकारी भूकम्पले केन्द्रबिन्दु बनाएको पहाडको आडैमा भत्किएको घरमाथि बसिरहेकी ३५ वर्षीया गर्भवती नन्दकुमारी गुरुङले भनिन्, ‘छोरीमात्र पाउँदा हेलाकी पात्र भएकी छु। यसपालि डाक्टरले छोरा छ भन्नुभएको छ पेटमा। उसलाई जसरी पनि बचाउनु छ मैले तर भूकम्पले बचाउलाजस्तो छैन।’
यति भन्दै भक्कानो छोडेर उनी रुन थालिन्। चार छोरीकी आमा नन्दकुमारीको पेटमा नौ महिनाको छोरा हुर्कंदै थिए। नन्दकुमारीका लागि मात्र होइन, उनका पति, परिवार, आफन्त र समाजका लागि समेत महत्त्वपूर्ण थियो यो।
भूक पको दिन खानापछि दुई छोरी र सासू मेला गए, ससुरा र अन्य छोरी आँगनमा थिए। नन्दकुमारी कोठामा सुत्ने तरखर गर्दै थिइन्। अचानक भूकम्पले घर घुम्न थाल्यो, चिच्चाउँदै आत्तिएर भाग्न खोज्दा उनी आँगनमा लड्न पुगिन्।
घर भत्किएर ढुंगा खस्न थाल्यो। ससुराले तानेर बारीमा पु:याए उनलाई। भूकम्पले केन्द्रबिन्दु बनाएको आडैको पहाड धूल्याम्मे हुँदै सुसाइरहेको देखेपछि डरले उनको मुटु काम्न थाल्यो।
वरिपरिका घर क्षणभरमै खण्डहर बनेको उनले हेर्न सकिनन्। आफ्नोभन्दा पनि ठूलो पीर उनलाई संसार देख्ने तयारीमा रहेको छोराको थियो। भूकम्प गएको केहीबेरमै पानी पर्न थाल्यो।
आधारातसम्म रुझेकी उनको पेट दुखिरहेको छ। ‘कोसँग भन्ने? पति विदेशमा हुनुहुन्छ, छोरीहरू सानै छन्’, उनले भनिन्, ‘गाउँको स्वास्थ्यचौकी भत्कियो।
शिविरमा जाँदा यहाँ हुँदैन सदरमुकाम गएर जाँच गर्नुहोस् भन्छन्, म कसरी जाऊँ एक्लै? पहिरो गइरहँदा गाडी पनि चल्दैनन्, हेलिकोप्टरले लग्दैन, अचानक म बिरामी भए के गर्ने?’
भूकम्मा भागदौड गर्दा पेटको बच्चा नचलेजस्तो लागिरहन्छ उनलाई। तीन महिनापहिले चितवनको भरतपुर पुगेर छोरा भएको निश्चित गरेर फर्केकी नन्दकुमारीले भनिन्, ‘घरपरिवारलाई छोरा चाहिएको छ। अब यसलाई कसरी बचाउने मैले? आफैं मर्छु जस्तो लाग्दैछ।’
भूकम्पपछि आमाबुवासँग एउटा त्रिपालको भरमा दिन काटिरहेकी छन् उनी। यसअघि बाटो राम्रो हुँदा उनले दुईपटक सदरमुकाम पुगेर भिडियो एक्सरे गरेकी थिइन्।
‘निद्रा लाग्दैन, खान मन छैन, कसरी जम्माउने? बच्चा सद्दे रहेनछ भने के गर्ने? बचाउन पनि घर चाहिन्छ, मसँग छैन’, यही महिनामा बच्चा जन्माउन समय पाएकी उनले भनिन्, ‘सुत्केरी हुँदा खाने भनेर साँचेर राखेको अण्डा, कुखुरा, हाँस, गाईको घिउ, दाल, चामल, गेडागुडी सबै भूकम्पले माटो बनायो। अब त खाने पनि केही छैन, सहयोग पनि केही आएन।’
नन्दकुमारीजस्तै बारपाकमा मात्रै अहिले ७१ जना गर्भवती छन्। आठ महिला यही महिना बच्चा जन्माउने तयारीमा छन्।
बारपाक आसपासका खोप्लाङ, थोप्राक, गाँखु, श्रीनाथकोट, जौबारी, सिम्जुङ, लाप्राक, कासीगाउँलगायत भूकम्पपीडित गाविसका गर्भवतीको त्रास र पीडा पनि नन्दकुमारीको जस्तै छ। गर्भवती महिला भूकम्पले घर खण्डहर बनाएपछि त्रिपालमुनि रात बिताइरहेका छन्।
पटक-पटक आउने पानी र चर्को घामले पिरोल्नु पिरोलेको छ उनीहरूलाई। विवाह भएको ६ वर्षपछि बल्ल गर्भवती भएकी सिम्जुङकी २९ वर्षीया सोनुमाया मगरले भनिन्, ‘मलाई आफ्नो भन्दा पनि बच्चाको पीर छ। उसलाई केही भइहाल्यो भने मैले कसरी देखाउने समाजको अगाडि मुख?’
बाटो खुल्दा यसअघि तीनपटकसम्म पोखरा पुगेर आफ्नो र बच्चाको स्वास्थ्य जाँच गरेकी थिइन् उनले। भूकम्पले चिराचिरा बनाएका पहाडबाट पहिरो खसिरेहको बाटो हुँदै उनी पुन: जाँचका लागि पोखरा जान डराएकी छिन्।
भूकम्पले दिएको पीडा कम गर्न प्रत्येक गर्भवती महिलालाई परामर्श गर्न बारपाकस्थित स्वास्थ्य चौकीकी अनमी गीता पनेरू उनीहरूकहाँ पुग्छिन्। दिउँसो नभ्याए रातिसमेत उनी गर्भवतीको अवस्था बुझ्न जान्छिन्।
परामर्शका बेला गर्भवतीले सोध्छन्, हाम्रो बच्चाको अवस्था कस्तो छ कसरी थाहा पाउने?
भूकम्पपछि बारपाकमा तीनजना महिला सुत्केरी भए। ‘ती सबैलाई भूकम्पका घाइते लिन आएका हेलिकोप्टरले लगिदिएका थिए’, गीताले भनिन्, ‘अब त हेलिकोप्टर आउन छोडे। पहिरोले बाटो बन्द छ। सामान्य सुत्केरी बनाउने बर्थिङ सेन्टर पनि भत्किएको छ।’
स्वास्थ्य मन्त्रालयले दैनिक सबै भूक म्प प्रभावित क्षेत्रमा चिकित्सक पठाएर उपचार र परामर्श गरेको बताइरहेको छ तर यस क्षेत्रका गर्भवती महिलालाई बच्चा कसरी पाउने, पाएपछि कहाँ राखेर हुर्काउने, के खाने भन्ने पीडाले सताएको छ। भूकम्पको भागदौड र चोटपटकपछि पेटभित्रको बच्चाको अवस्थासमेत उनीहरूले थाहा पाउन सकेका छैनन्।
छोरा नै पाउनुपर्छ भनेर दबाब दिने घरपरिवार र समाजका अगाडि जाँच गराएर छोरा पेटमा हुर्काएकालाई त झन् पीडा थपिएको छ।
‘भूकम्पले हल्लाइदिएको बच्चा पछि राम्रो हुन्नन भन्छन्’, बारपाककै गर्भवती सानुमाया घलेले भनिन्, ‘दिनमा चारपटक खाना खानु भन्थे हामीले एकपटक पनि खान पाएका छैनौं, पेट दुखिरहेको छ।
अब केही भए के गर्ने यहाँ आएका डाक्टरले ठूलो अस्पताल जाऊ मात्र भन्छन्। कसरी जानु यस्तो भूकम्पका बेला परिवारलाई छोडेर?’
‘असजिलो भए तत्काल आमा र बच्चाको अवस्थाबारे थाहा पाउने सुविधा दिनु सरकारको पनि कर्तव्य हो’, हेल्प बारपाक फाउन्डेसनकी टिलु घलेले भनिन्, ‘यहाँ त गर्भवती महिलाको बिजोक छ। सुत्केरी महिलाको ज्यानसमेत जोखिममा छ। सरकार भने बेखबरजस्तै छ।’
‘सानो कुरा तलमाथि भए उनी र उनको पेटमा हुर्कंदै गरेको बच्चालाई पनि जे पनि हुनसक्छ’, नेपाली सेनाका तर्फबाट खटिएका एक स्वास्थ्यकर्मीले भने, ‘उनीहरूका लागि विशेष स्वास्थ्य सेवा आवश्यक छ यहाँ। गर्भावस्थामा विशेष हेरचाह, खाना र सुत्ने ठाउँ हुनुपर्छ।’
भूकम्पले गर्दा यी गाविसका अधिकांश स्वास्थ्य संस्था ध्वस्त छन्। अहिलेसम्म केन्द्रबाट गएका र विदेशी चिकित्सक मिलेर स्थानीय स्वास्थ्यकर्मीले सामान्य सेवा दिइरहेका छन्। शिविर छोडेर आउनेबित्तिकै त्यही सेवा पनि बन्द हुने अवस्था छ।
‘गर्भवती महिलाका लागि विशेष राहत र उपचार सेवा दिन चिकित्सक र उपकरण पठाउनु भन्दै हामीले गाविसलाई अनुरोध गरिरहेका छौं।
खै सुनुवाइ नै भएको छैन’, सिम्म्जुङस्थित जीवन ज्योति निम्नमाध्यमिक विद्यालयका प्राधानाध्यापक द्रोणाचार्य दवाडीले भने, ‘हामीलाई यतिबेला गर्भवती, सुत्केरी र साना नानीको चिन्ता छ, उनीहरूको ज्यान धरापमा छ।’