सिन्धुपाल्चोकमा आफ्नै पाखुरीले बन्दै छन् ‘कटेज’

0 4
चौतारा : भूकम्पबाट ध्वस्त सिन्धुपाल्चोकको पुनर्निर्माणमा स्थानीय बासिन्दा केन्द्रित भएका छन्। अधिकांश गाउँमा भत्केका घरका भग्नावशेष हटाउने र बासका लागि केही पक्की टहरो बनाउने काममा गाउँले व्यस्त हुन थालेका छन्।
भग्नावशेष हटाउने र टहरो बनाउने काममा गाउँले लागेको पीपलडाँडाका हरिचन्द्र कुँवरले बताए। स्याउलेकै रामजी थापा पनि जस्ताको टहरो बनाएर परिवारलाई बस्ने व्यवस्था मिलाएर अरूको सहयोगमा लागेका छन्। जिल्लाका अधिकांश गाउँमा छाप्रो छाडेर टहरो बनाउने काममा स्थानीय व्यस्त छन्।
भूकम्पले घर भत्किएको झन्डै एक महिनासम्म पनि राज्यले बासको व्यवस्थामा ध्यान नदिएपछि आफैंले सामग्रीको जोहो गरेर टहरो हाल्न गाउँले लागेका हुन्।
खेतीपातीको मौसम सुरु भइसकेकाले खेतीको काममा लाग्नुअघि बासको व्यवस्था मिलाइसक्नुपर्ने बाध्यता गाउँलेलाई छ।
स्याउले गाविस-६ का सूर्यबहादुर श्रेष्ठ केही दिनअघिसम्म राहतको आशामा बजार र सडकछेउछाउ धाउने गर्थे। त्यसरी धाउँदा केही खाद्यान्नको जोहो पनि भयो। भूकम्प गएको दिनदेखि लगातार त्रिपालको छाप्रोमा बस्नुपर्दा परिवारमा निराशा छायो। त्यसैले अहिले उनको दैनिकी फेरिएको छ।
उनी अहिले भूकम्पले भत्काएको घरको छेउमै जस्ताको छानो हालेर बनाउन लागेको टहरोमा बारबेर गर्न व्यस्त छन्। परिवारका सदस्य पनि उनलाई सघाउँछन्। एकदुई दिनमै टहरोले घरको रूप लिने उनी बताउँछन्।
मुस्किलले भेटेको पालमुनि रात बिताएका श्रेष्ठले कसैको मुख ताक्नुभन्दा आफ्नै पाखुरामा निर्भर हुनु बुद्धिमानी ठानेर टहरो बनाउन जुटेको बताए। उनले टहरोमा आफ्नै भत्किएको घरको जस्तापाता र काठको प्रयोग गरेका छन्।
पीपलडाँडाका अधिकांशले टहरो बनाउने काम सकिसकेका छन्। उनीहरू भग्नावशेष हटाउने काममा पनि लागेका छन्। खेतीपातीको मौसम सुरु हुनुअघि नै टहरो बनाउने र भग्नावशेष हटाउने काम सकियो भने खेतीको काममा लाग्न सहज हुने कुँवरले बताए।
गाउँमा अहिले सबैका एकै खालका टहरा बनेका छन्। जस्ताको छानो र जस्ताकै बार भएका टहरालाई गाउँलेले कटेजको उपमा दिएका छन्।
‘गाउँमा अहिले घर भन्ने शब्द हराएको छ’, कुन्चोकका रामशरण गिरीले भने, ‘सबैले कटेज भन्ने गरेका छन्। अधिकांशले भत्किएका घरका छानामा भएका जस्तापाता कटेजमा प्रयोग गरेका छन्।’
नयाँ जस्तापाता किन्नेको भीड पनि पसलमा उत्तिकै छ। जस्तापाताको कटेज बन्न थालेपछि बजारमा मागअनुसारको जस्तापाता आपूर्ति हुन सकेको छैन।
बजारले स्थानीयको माग थेग्न नसकेको मेलम्चीका व्यवसायी प्रकाश दाहाल बताउँछन्। दाहालका अनुसार दैनिक माग बढे पनि पर्याप्त मात्रामा जस्तापाता नपाउँदा गाउँले निराश भएर फर्कने गरेका छन्।