कालिगण्डकी खुलाउन नेपाली सेनाको टोली आउँदै

0 2
म्याग्दी : पहिरोले थुनिएको कालिगण्डकी खुलाउन नेपाली सेनाको विशेष हेलिकप्टोर काठमाडौंबाट म्याग्दी आउँदैछ ।
भगवति–२ वैंसरी र राम्चे गाविसको सीमाना पहिरो जाँदा थुनिएको कालीगण्डकी नदीको बाँध खुलाउन नेपाली सेनाको विशेष हेलिकोप्टर आउन लागेको हो ।
बेनी नगरपालिकामा रहेको इन्द्रबक्स गणको समन्वयमा केन्द्रबाट इञ्जियिनर सहितको टोली घटनास्थल आउन लागेको गणपति मनोजकुमार सिलवालले जानकारी दिए ।
उनका अनुसार, केहीसमय भित्र टोली आइपुग्नेछ । ‘इञ्जिनियर सहितको टोली आउँदैछ, उनीहरुले अध्ययन गरेपछि विस्फोट पदार्थ लिने हो, उनले भने ।
प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जोखिमको अवस्था उच्च रहेकाले गलेश्वर, बेनीबजार, पर्वत बेनी, पर्वत, बाग्लुङ र स्याङजाका नदी किनारका बस्तीहरु सुरक्षित स्थानमा सारिएको बताए । यसैबीच, बेनी–जोमसोम सडक खण्ड अबरुद्ध बनेको छ ।
गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले नदी खुलाउन नेपाली सेना, भूगर्भविद र इन्जिनियरहरुको टोली हेलिकोप्टरबाट म्याग्दी जान लागेको बताए ।
‘नेपाली सेनाको हेलिकोप्टरमा विशेषज्ञ टोली जाँदैछ’, ढकालले अन्नपूर्ण पोस्ट्सँग भने, ‘नदी आसपासमा उच्च सतर्क रहन निर्देशन जारी गरिसकेका छौं । मानवीय क्षति भएको छैन ।’

– Source: Annapurna Post