पहिरोले कालिगण्डकी नदी पुरै थुनियो

0 8
मध्यरातमा बेनीबजारमा भागभाग 
म्याग्दी : म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले कालिगण्डकी नदी मध्यरातीदेखि थुनिएको छ । राम्चे–९ काफलडाँडाँ नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती–२ स्थित बँैसेरीमा कालिगण्डकी नदी थुनिएको हो ।
राती एक बजे ठुलो चट्टानी पहाड खसेर कालिगण्डकी पूर्णरुपमा थुनिएको प्रहरी नायब उपरीक्षक हिरा गिरीले जानकारी दिए । रातको समयमा निरन्तर पहिरो खसिरहेको थियो । बंैसरीमा ठुलो ताल बनेको छ । बैसरी र फेदीका २६ घर पुरै पुरिएको छ ।
त्यहाँका सर्वसाधारण यसअघि नै सुरक्षित स्थानमा गएकाले कुनै मावनीय क्षति भएको छैन । ‘कालीगण्डकी नदी ९० प्रतिशत थुनिएको छ, सुरक्षित स्थानमा रहन हामीले सबैलाई आग्रह गरेका छौँ, प्रनाउ गिरिले भने ।
मध्यरातीदेखि कालिगण्डकी थुनिएपछि बाँध फुटेर बाढी आउन सक्ने खतरा बढेपछि बेनीबजार, गलेश्वरबजार, पर्वतको बगरफाँट, पर्वत बेनी लगायतका स्थानमा सर्वसाधारणले रातिदेखि नै बजार छाडेका छन् ।
प्रहरीले माइकिङ गर्दै बजार छाडेर उपल्लो भेगमा गएर बस्न बेनीबजारमा आह्वान गर्दै सर्वसाधारणलाई सचेत गराएको छ । अहिले बेनीबजारका सर्वसाधारण बस्ती छाडेर अर्थुङ्गे आसपासको क्षेत्रमा पुगेर बसेका छन् ।
कालिगण्डकी थुनिएपछि बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभीर, भिरकाटे, पोखरेबगर, भुरुङतातोपानी, दाना लगायतका स्थानमा डुवानको खतरा रहको छ ।
घुमाउनेताल, गलेश्वर, बेनी लगायत पर्वत, बाग्लुङ र स्याङ्जाको कालिगण्डकी टटिय क्षेत्रका बस्तीमा जोखीम बढेको छ ।

शुक्रबार राती पहिरो खसेपछि भगवती–२ बँैसेरी र राम्चे ९ फेदीका बस्तीलाई सुरक्षित स्थानमा सारिएको थियो । बस्ती सारेको कारण भिषण पहिरो खसेको स्थानमा मानविय क्षति हुन नपाएको स्थानिय राम केसीले जानकारी दिए ।

राती ठुलो आवाज आउने गरी पहिरो खसेर कालिगण्डकी नदी थुनिएपछि त्यसवरपरका सर्वसाधारणमा भागदौड मच्छिएको केसीले जानकारी दिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक विमल उपाध्यायको नेतृत्वमा प्रहरी र नेपाली सेनाको टोली पुगिसकेको छ ।
-Source : Annapurna Post