काठमाडौ पुर्ननिर्माणमा डुसान इन्फ्राकोरद्वारा दुई थान एक्साभेटर प्रदान

0 11
निर्मल अर्याल, जेठ ९, काठमाडौ  – अन्तर्राष्ट्रिय ख्याती प्राप्त कम्पनी, डुसान इन्फ्राकोर (दक्षिण कोरिया) ले काठमाडौ पुर्ननिर्माणका लागि दुई थान अत्याधुनिक एक्साभेटर प्रदान गरेको छ ।

 

काठमाडौं स्थित आफनो वितरक इन्टरनेशनल कन्सट्रक्शन मार्फत् डुसान इन्फ्राकोरले आज एक कार्यक्रम गरी काठमाडौ महानगरपालिकालाई DX225LCA मोडलको दुई थान एक्साभेटर प्रदान गरेको हो ।

 

युवा निर्माण व्यवसायी समाजका अध्यक्ष तथा कालिका कन्सट्रक्शनका कार्यकारी निर्देशक निकोलास पाण्डेको पहलमा राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहले काठमाडौ महानगरपालिकाका कार्यकारी प्रमुख पुर्णभक्त तण्डुकारलाई एक्साभेटरको साँचो प्रदान गर्नुभयो ।

 

कम्पनीका अनुसार एक थान एक्साभेटरको मुल्य ९० लाख रुपैया रहेको छ । पुर्ननिर्माण कार्यलाई चुस्त बनाउन काठमाडौ महानगरपालिकाले यी एक्साभेटर आगामी ६ महिना सम्म निशुल्क परिचालन गर्नेछ ।

 

एक्साभेटर परिचालन सम्बन्धी सम्झौतापत्रमा काठमाडौ महानगरपालिकाका कार्यकारी प्रमुख पुर्णभक्त तण्डुकार र इन्टरनेशनल कन्सट्रक्शनका नरेश महर्जनले हस्ताक्षर गर्नुभयो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले काठमाडौ पुर्ननिर्माणका लागि डुसान इन्फ्राकोरले गरेको सहयोगको सरकारले उच्च मुल्यांकन गरेको बताउनुभयो ।

 

महाभुकम्प पीडितहरुको उद्धार तथा पुर्ननिर्माण कार्यलाई चुस्त बनाउन अहिले ६० हजार सेना, ४० हजार जनपद प्रहरी र २० हजार सशस्त्र प्रहरी खटिएको उहाँले जानकारी दिनुभयो ।

 

संघीय मामिला मन्त्रालयका सचिव डाक्टर सोमलाल सुवेदीले महाभुकम्प पीडितहरुको उद्धार तथा पुर्ननिर्माण कार्यलाई प्रभावकारी बनाउन सबैले आ–आफनो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयो ।

 

काठमाडौका प्रमुख जिल्ला अधिकारी एक नारायण अर्यालले काठमाडौ उपत्यकामा रहेका कमजोर संरचना भत्काउन ११ वटा समुह परिचालित रहेको  बताउनुभयो ।

 

इन्टरनेशनल कन्सट्रक्शनका कार्यकारी अधिकृत पियुषकुमार जाजोडियाले काठमाडौ पुर्ननिर्माणमा सहयोग गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो ।