हावाहुरीले काठमाडौंमा १ को मृत्यु, विमानस्थल १ घण्टा अबरुद्ध

0 3

९ जेठ, काठमाडौं । राजधानी उपत्यकामा शनिवार साँझको आँधी हुरीले एक महिलाको मृत्यु भएको छ । अन्तराष्ट्रिय विमानस्थल पनि एक घण्टा अबरुद्ध भएको छ । भूकम्प पीडितको उद्धारमा परिचालित २ हेलिकोप्टर काठमाडौं अवतरण गर्न नसकेपछि रामेछापमा अवतरण गरेका छन् ।

स्वयंभू सानो भर्‍याङमा हुरीले ढालेको रुखले किच्दा एक महिलाको मृत्यु भएको छ । आँधी हुरीले मोटरसाइकल ढाल्न लागेपछि रोक्न खोज्दा अचानक रुख ढलेर किच्दा ३२ वर्षीया लक्ष्मीकुमारी सुवेदी दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त स्वयंभूका अनुसार मृतक लक्ष्मीका पति मोटरसाइकल चालक ४२ वर्षीय गणेश दाहाल घाइते भएका छन् ।

बुढानिलकण्ठ नगरपालिका ३ का बासिन्दा सुवेदी दम्पत्ति बा ३४ प ११०६ नम्बरको पल्सर मोटरसाइकलमा स्वयंभूबाट बालाजुतर्फ गइरहेका थिए । घाइते गणेश दाहालको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यसैबीच हावाहुरीले रुख ढल्दा पशुपति क्षेत्रमा एक ट्याक्सी क्षतिग्रस्त भएको छ भने ट्याक्सी चालक घाइते भएका छन् ।

विमानस्थल एकघण्टा अबरुद्ध

तीब्र गतिमा आएका आँधीहुरीले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल एकघण्टा अबरुद्ध भएको छ । सवा पाँच बजेदेखि ६ बजेर २० मिनेटसम्म होल्डिङ भएको नेपाल नागरिक उड्डेयन प्राधिकरणका महाप्रवन्धक विरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘ठूलो हुरी चलेर जस्तापाता उडाउन थालेपछि केहीबेर होल्डिङ भए पनि अहिले उडान अवतरण सुरु भैसकेको छ,’ श्रेष्ठले भने ।

केहीबेरको होल्डिङपछि फ्लाइ दुबईको विमान अवतरण गरेको थियो ।

दुई हेलिकोप्टर रामेछाप फर्किए

हावाहुरीले काठमाडौंमा अवतरण गर्न नसकेपछि दुईवटा हेलिकोप्टर रामेछापमा अवतरण गरेका छन् । जुलियट जुलु र जुलियट डेल्टा हेलिकोप्टर काठमाडौं अवतरण गर्न नसकेपछि रामेछापमा आकस्मिक अवतरण गरेको श्रेष्ठले बताए ।