पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरे, भुइँचालोले भावनात्मक एकीकरण गरेको छ

0 3

यो विनाशकारी भूकम्पबाट आठ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । थुप्रै घाइते छन् । यसमा विदेशबाट घुम्न आएका पनि परेका छन् । धेरै मानिस घरबासविहीन भएका छन् । जतिले ज्यान गुमाए, उनीहरुप्रति समवेदना छ ।

यो भुइँचालालेले हामीलाई धेरै क्षति पुर्याएको छ । बस्ती, ऐतिहासिक, पुरातात्विक महत्वका संरचनामा क्षति भएको छ । सार्वजनिक कार्यालयहरु र धार्मिकस्थलहरुमा क्षति पुगेको छ । नेपाल राष्ट्रले अहिले असाधारण संकटको सामना गरिरहेको छ ।

धेरै राष्ट्रहरु संकटको सामना गरेरै अघि बढेका छन् । सजिलै राष्ट्र बन्दैनन् । कहिलेकाहीँ भयंकर ठूला युद्धका परिस्थिति निर्माण हुन्छन् । जसले तत्कालीन अवस्थामा ज्यादै ठूलो क्षति गर्छ । तर, त्यसपछि यदि नेतृत्वले सही ढंगले बुझ्यो भने, युद्धलाई शान्तिमा फर्काएर राष्ट्र बनाउन सक्छ । यसरी विश्वमा धेरै राष्ट्रहरु बनेका उदाहरण छन् । खासगरी युरोप, अमेरिका ठूलाठूला गृहयुद्धबाट गुज्रिए । लाखौँ मानिसले ज्यान गुमाए, खर्बौंको क्षति व्यहोरे । त्यसपछि भने उनीहरुले राष्ट्र बनाउने, मानव सभ्यतालाई नयाँ ढंगले अगाडि बढाउने प्रतिबद्धता गरे । र, विकासको मार्गमा अघि बढे । जसले गर्दा आज युरोप, अमेरिका सभ्यता र समृद्धिको केन्द्र बनिरहेका छन् ।

जापान त्यसरी नै दोस्रो विश्वयुद्धमा ध्वस्त भएको थियो । तर, जापानिजहरुले त्यो ध्वंशबाट हार खाएनन् । नवनिर्माणको संकल्प बोके । त्यो चुनौतीलाई अवसरको रुपमा लिएर, पीडालाई शक्तिमा बदलेर अघि बढे । आज जापानलाई हामीले दुनियाँको एक समृद्धशाली मुलुकको रुपमा चिन्छौँ ।

पूर्वीएसियाका धेरै देशहरु त्यसरी बनेका छन् । चीनको इतिहास उस्तै छ, धेरै वर्षसम्मको आन्तरिक गृहयुद्धपछि चीनले समृद्धिको मार्गमा अघि बढ्यो ।

नेपालमा हामीले जुन ढंगको एउटा प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ, नेपाल राष्ट्रको क्षमताको हिसाबले यो ठूलो विपत्ति हो । अब दुःखका मात्रै गीत गाएर, दुःखका मात्रै कविता लेखेर राष्ट्र अगाडि बढ्दैन । हामीले खरानीबाट उठ्ने हिम्मत राख्नुपर्छ ।

आज भूकम्पले जहाँ–जहाँ जनधनको क्षति भएको छ, त्यसलाई शून्य मान्ने हो भने त्यहीँबाट निर्माण सुरु गर्नुपर्छ ।

वास्तवमै हामीले योजनाबद्ध विकासको प्रयत्न गरेका थिएनौँ । कहाँ–कहाँ बस्ती बसाउने, कहाँ स्कुल–क्याम्पस खोल्ने, कहाँ औद्योगिक क्षेत्रहरु बनाउने, कुन ठाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आदि योजनाबद्ध विकासको मोडल हामीले अपनाउन सकेका थिएनौँ ।

ग्रामीण भेगको कुरा गर्दा, डाँडामा तीन–चार घर हुन्छन्, त्यसपछि फेदीमा तीन–चार घर । त्यस्ता ठाउँमा बिजुली–पानी लैजान, अन्य भौतिक सुविधा पुर्याउन समस्या छ । घरहरु छरप्रस्ट भएपछि कहाँ स्कुल खोल्ने, कहाँ स्वास्थ्य चौकी राख्ने ? बस्ती विकासका लागि हामीलाई यस्ता थुप्रै समस्या पनि थिए ।

अहिले हाम्रोमा भूकम्पका कारण क्षति पुगेको छ । मलाई लाग्छ, यो पुनर्निर्माणको भन्दा नवर्निर्माणको एउटा प्रस्थान बिन्दु पनि हो । अहिले भूकम्पले जो क्षति भयो, त्यसलाई मात्रै बनाउने भन्ने होइन । हाम्रा कमजोर संरचना त थुप्रै छन् । हाम्रो भविष्य पनि जोखिममा छ । त्यसकारण राष्ट्रकै नवनिर्माण गर्नु छ ।

अब कसरी अघि बढ्ने ?

वास्तवमा क्षति र नकारात्मक पाटो मात्रै हेर्ने हो भने अँध्यारो नै अँध्यारो छ । कैयौँले आफन्त गुमाएका छन् । कैयौँले खान पाएका छैनन्, बस्न पाएका छैनन् । तर, पीडितको तत्कालको माग सानो छ, कि एउटा पाल चाहियो । भरे पानी पर्यो भने ओत लाग्न सकिओस् । उनीहरुका आवश्यकता धेरै छन्, तर हामीले सम्बोधन गर्न सकिरहेका छैनौँ । यसरी समस्यालाई मात्रै हेर्ने हो, हामी निराश हुनुपर्छ ।

यसमा केही आशाका झिल्काहरु पनि छन् । यसले विकास र समृद्धिको बाध्यकारी बाटो खोलेको छ । सँगसँगै भूकम्पपछि नेपाल अभूतपूर्व ढंगले राष्ट्रिय एकताको सूत्रमा बाँधिएको छ । पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेका थिए । तर, यो भूकम्पपछि नेपालको भावनात्मक एकीकरण भएको छ । कोही मधेसी, कोही पहाडी, कोही जनजाति, कोही बाहुन–क्षेत्री छुट्टिएको छैन । आज हामी जुन पालभित्र बसिरहेका छौँ, सबै जातिका मानिसहरु त्यही पालभित्र आइपुगेका छन् । सबै नेपाली भएर बसेका छन्, सबैका दुःख समान छन् । सहयोगी हात बढाउने पनि सबै जाति, क्षेत्रका छन् । त्यसकारण भूकम्पले अभूतपूर्व राष्ट्रिय एकता गरेको छ । यो एकता हाम्रो शक्ति हो ।

भूकम्पले जनधनको क्षति गर्यो । हाम्रा भौतिक संरचना भत्कायो, पहाड अलिअलि भत्कायो । अब राजनीतिक दल, नागरिक समाज वा सचेत नागरिकले हामीबीचका केही विद्वेष, केही मनोविज्ञान, केही राजनीतिक विचार र परिस्थितिहरुलाई भत्काउनुपर्छ । भूकम्पले हाम्रा केही मनोविज्ञान भत्काएको छैन । हिजोका हाम्रा विद्वेषहरु भत्काएको छैन । राजनीतिक भिन्नतालाई भत्काएको छैन । त्यसकारण अब हामीले हाम्रा बीचका केही विद्वेष, राजनीतिक भावना, मनोविज्ञानलाई भत्काउन सक्यौँ भने नयाँ नेपाल बनाउन सक्छौँ ।

योबीचमा देशका तमाम युवाहरुले अभूतपूर्व साहस देखाएका छन् । स्कुल, कलेजका विद्यार्थीहरु स्वस्फूर्त ढंगले भूकम्प प्रभावित गाउँ–गाउँ पुगेका छन् । आफूले सकेको योगदान गरेका छन् । विदेशमा बस्ने नेपालीले आफ्नो मातृभूमिका निम्ति सकेको सहयोग गरेका छन् । सम्पूर्ण नेपालीले अहिले भूकम्प प्रभावित क्षेत्रलाई केही नभए पनि भावना पठाएका छन् । यही भावनाको बलमा हामी नवनिर्माण जाँदैछौँ, जान सक्छौँ । अंकमा भन्दा यो विपतले सयौँ जनको र खर्बौंको क्षति गरेको छ ।

भौतिक संरचनाको जुन क्षति भएको छ, त्यसको निर्माणका निम्ति १०औँ खर्ब जम्मा गर्न, करोडौँ हातले श्रमदान गर्न हामीसँग भावनात्मक बल पनि छ । हामी नेपालीमै यो सामथ्र्य छ, हामीले विदेशीको मात्रै मुख ताकिरहनु पनि पर्दैन । हाम्रो नराम्रो प्रवृत्ति खाली विदेशीको भर पर्नु पनि हो । एउटा पालका निम्ति विदेशीसँग हात फैलाउनुपर्ने हाम्रो जुन नेतृत्व छ, प्रवृत्ति छ, यो गलत छ । हामी आफैँ पनि केही गर्न सक्छौँ ।

यहाँनेर यो पनि छ, विदेशीहरुले हामीलाई सहयोग गर्ने भनेको दान दिएको होइन । यो पहिलो त उनीहरुको अन्तर्राष्ट्रिय मानवीय नाता हो । जुन उनीहरुले पूरा गर्नैपर्छ । अर्को, विश्वमा हामीजस्ता विपन्न मुलुक जति छन्, तीप्रति समृद्ध मुलुकहरुले गर्ने यो दायित्व पनि हो । किनभने, उनीहरुको औद्योगिकीकरणले, उनीहरुको बजारको विस्तारले, उनीहरुको जनसंख्याको विस्तारले जति पनि यो भूगोल र वायुमण्डलमा प्रदुषण भइरहेको छ । त्यसको मारमा हामी छौँ । कार्बन उत्पादन भइरहेको छ, त्यो कार्बन हामीले खपत गरिरहेका छौँ । उनीहरुले हाम्रा कच्चा पदार्थ लगिरहेका छन् । हाम्रो मानव श्रम लगेका छन् । कतिपय मुलुकमा निकै सस्तोमा नेपाली श्रम गइरहेको छ । त्यो श्रमबाट उनीहरुले यति धेरै अतिरिक्त मूल्य, अतिरिक्त उत्पादन लिइरहेका छन् । हाम्रोमा बजार विस्तार गरिरहेका छन् । उनीहरुको औद्योगिकीकरण र जनसंख्याको मार हामीजस्ता विपन्न मुलुकलाई परिरहेको छ । उनीहरुले एक किसिमले हामीजस्ता विपन्न मुलुकलाई त क्षतिपूर्ति दिनुपर्छ ।

हाम्रो सिंगो मुलुक एकताबद्ध हुन्छ भने, यहाँ सम्भावना प्रशस्त छन् । आज इतिहासले नेपालका राजनीतिक दलहरुसँग कठोर परीक्षा लिएको छ । भुइँचालो आउनु अघिसम्म दलहरुप्रति जनता उदासिन थिए । दलहरुको टीकाटिप्पणी हुन्थ्यो । दलहरुलाई अलि नकारात्मक ढंगले टिप्पणी गर्न थाह छैन, मिडियाले पनि साथ दिए कि !

अहिले दलहरु कठोर परीक्षामा छन् । तीन ठूला दल कांग्रेस, एमाले, एमाओवादीभित्र मात्रै लाखौँ कार्यकर्ता छन् । यी तीन पार्टीका पार्टी सदस्य, विद्यार्थी संगठनका सदस्य, ट्रेड युनियनका सदस्य जोड्ने हो भने लाखौँ छन् । यी तीन पार्टीका एक्टिभ मेम्बर मात्रै पनि ३०–३५ लाख छन् । यी एक्टिभ मेम्बरले के गर्छन् त ? के खाली पार्टीका आन्तरिक चुनावमा भोट हाल्न, कुनै राजनीतिक नियुक्ति खान, अथवा पार्टीको नाममा अरु मान्छेलाई हप्काउन मात्रै यी सदस्य भएका हुन् ? यस्तो हुनुहुँदैन । यी ३० लाख पार्टीका सक्रिय कार्यकर्तालाई कम्तीमा एक वर्ष निर्माण लगाउँछौँ भने देश धेरै बन्छ ।

अझ यो मधेसकेन्द्रित दलहरुलाई राष्ट्रियता र भाइचारा देखाउने अवसर हो । मधेसकेन्द्रित दलहरुले आफ्ना कार्यकर्तालाई भूकम्प प्रभावित पहाडमा पठाउनुपर्छ । सकेको अन्न उठाएर, दुई–चार पैसा उठाएर भत्केको पहाडलाई पोत्न उक्लनुपर्छ मधेस ।

भूकम्प आएकै दिन सायद नेपालका सबै मान्छेले एक रात घर छाडे । अझ भूकम्प प्रभावित क्षेत्रमा त बारम्बार धक्का आयो । भत्केका त भत्की गए । तर, सग्ला घरमा पनि पस्ने अवस्था रहेन । त्यतिबेला एक प्याकेट चाउचाउ आवश्यक थियो । त्यो अवस्थाबाट बडो कठिनले हामी गुज्रियौँ । अब बर्खा लाग्दै छ, घरबास गुमाउनेलाई बर्खा काट्ने गरी अस्थायी बास चाहिएको छ ।

यो विपतका बेला सम्पूर्ण पार्टीहरु एकढिक्का भएर लाग्नैपर्छ । अहिले पार्टीहरुले आ–आफ्नै ढंगले आफ्ना स्वयंसेवक खटाएका छन् । एमालेले स्वयंसेवकहरुलाई खटाइसकेको छ । लडेका घरमा पनि केही सामान काम लाग्ने छन् । तिनैलाई प्रयोग गरेर दुई–तीन वर्ष टिक्ने टहरो बनाउन सकिन्छ । त्यस्ता टहरा बनाउन एमालेले आफ्ना कार्यकर्ता स्वयंसेवक पठाउन सुरु गरिसकेको छ ।

अहिले भूकम्पले ध्वस्त भएका बस्तीका मानिस मनोवैज्ञानिक डर–त्रासमा छन् । उनीहरुका अगाडि रित्तो हात कोही उभिन्छ भने पनि ठूलो भरोसा मिल्छ । रित्ता हातहरुले धेरै गर्न सक्छ । डर–त्रासमा भएका जनतालाई मनोवैज्ञानिक बल दिन हामीले परामर्शदाता पठाउँछौँ । हाम्रो टिममा इन्जिनियरहरु पनि जानेछन् । गाउँमा घर ठाडो देखिए पनि बस्नलायक छ÷छैन भनेर जाँच्नुछ ।

स्कुलहरु भत्केका छन् । तत्कालै अस्थायी स्कुल बनाएर पठनपाठन सुरु गर्नु छ । नत्र विद्यार्थीहरुको भविष्य बिग्रन्छ । यी अल्पकालीन योजना भए । यसमा त्यति बजेटको कुरा आउँदैन । साधारण व्यवस्थापनमै हाम्रा स्वयंसेवकले श्रमदान गर्न सक्छन् । योसँगै हामी दीर्घकालीन योजनामा लाग्नुपर्छ ।

दीर्घकालीन योजना के हुनुपर्छ ?

कतिपय सदुरमुकाम ध्वस्त भएका छन् । चरिकोट, गोरखा, चौतारा, मन्थली, धुन्चे यस्ता धेरै सदरमुकाममा क्षति पुगेको छ । यो दुःखको कुरा हो । तर, यो दुःखको पिँधमा केही आशा र अवसर पनि छन् । हिजो ती सदरमुकाम योजनाबद्ध ढंगले बनेका थिएनन् । यी सदरमुकामलाई बलियो, व्यवस्थित आधुनिक सहरको रुपमा विकास गर्ने मौका आएको छ । यसो भयो भने, काठमाडौंको चाप घट्छ । काठमाडौं वरपरका सदरमुकामहरु छिटै स्याटलाइट सिटीका रुपमा विकास हुन्छन् । त्यस्तै, ध्वस्त बस्तीहरु, मठ–मन्दिरलगायत पुरातात्विक महत्वका संरचनाहरु ढलेका छन् । यी सबैको निर्माणमा लाग्नुछ ।

दलहरु, नागरिक समाज, अन्तर्राष्ट्रिय दातृनिकाय मिलेर नेपालको नवनिर्माण योजना बनाउनुपर्छ । अहिले दलहरु आ–आफैँ लागेका छन् । दीर्घकालीन विकासका लागि सरकारकै नेतृत्व आवश्यक छ ।

सरकारको नेतृत्वमा पार्टीका स्वयंसेवक परिचालन गर्न सकिन्छ । सबै पार्टीले आ–आफ्ना क्षमताले कार्यकर्ता पठाए भने धेरै काम गर्न सकिन्छ । एउटा टिममा धेरै पार्टीका कार्यकर्ता भए भने भाइचारा पनि बढ्छ । सबै नेपाली जनता एकढिक्का भयौँ भने हामीले धेरै गर्न सक्छौँ । जनता, सेना, प्रहरीको दस्ता बनाएर नवनिर्माणमा लाग्नुपर्छ ।

चिनियाँहरुले बाढी आउँदा हातेमालो गरेर छेकेको उदाहरण पनि छन् । टिभीमा हेर्न पाइन्छ, जब बाढी आउँछ, चिनियाँ सेना हातेमालो गरेर बाढी छेक्छन् । केहीबेर बाढी छेकेर थुप्रै मानिसलाई बचाउन सकिन्छ । यति ताकत छ मान्छेसँग । हामी तीन करोड मानिसहरुले हातेमालो गर्यौँ भने यो देश बन्न बेर लाग्दैन ।

अर्को स्रोतको कुरा छ । यो देश बनाउन एउटा राष्ट्र निर्माण कोष बनाउन सक्छौँ । त्यो कोषमा हामी सबैले सकेको रकम जम्मा गर्न सक्छौँ । त्यसमा खर्बौं रकम जम्मा हुन सक्छ । हामीले यो पैसा हाइड्रोमा लगानी गरेर फाइदा लिन सक्छौँ । यो कोषमा कसैले धेरै रकम लगानी गर्न पनि सक्छ । एउटा नागरिक राष्ट्रनिर्माणमा पार्टनर हुन सक्छ । अर्को, विदेशबाट वर्षमा अर्बौं रेमिट्यान्स आइरहेको छ । त्यसलाई हामीले उत्पादनमुखी क्षेत्रमा लगाउन सक्छौं ।

हाम्रा एनआरएनका साथीहरु विदेशमा घर किन्दै होलान् । उनीहरुलाई पनि नेपालमा लगानी गर्ने वातावरण बनाउन सकिन्छ । त्यस्तै, अन्तर्राष्ट्रिय मित्रहरुले हामीलाई यो विपतका बेला दायित्वको रुपमा पनि सहयोग गर्नुपर्छ ।
यही आधारमा एमालेले ५० खर्बको एउटा विकास कोष बनाउने प्रस्ताव गरेको छ । मानिसहरु आत्तिन्छन्, ५० खर्बको कुरा सुन्दा । जब कि नेपालको बजेट नै अहिले ६–७ खर्ब छ ।

यो ५० खर्बको बजेट पाँच वर्षका लागि बनाउनुपर्छ । हामीले विदेशीलाई भन्न सक्छौँ, नेपाल सरकारले अहिले १० खर्ब हाल्दै छ, अब तिमीहरु २० खर्ब देउ । तिमीहरुले दिएको पैसा नेपाल सरकारको नेतृत्वमा खर्च हुन्छ । हामीले प्रस्ट भन्नुपर्छ, हामी हाइटीको मोडलमा जाँदैनौँ । हाइटीमा विदेशीले पैसा त दिए तर उनीहरुकै एजेन्सी, उनीहरुकै मान्छे गए । काउन्सेलिङ फी, कन्सल्टेन्सी फी आदि अनेक फी भनेर आफूहरुले दिएको ५० प्रतिशत पैसा फिर्ता लगे । हामी नेपालीले थुप्रै काम गर्न सक्छौँ । हामीसँग विज्ञता हासिल गरेका, विदेशमा पढेका थुप्रै जनशक्ति छ । विदेशमा पनि हाम्रो जनशक्ति छ । सरकारले हाम्रा सबै जनशक्तिलाई उचित पारिश्रमिकको व्यवस्था गरेर नवनिर्माण लगाउनुपर्छ ।

अबको नवनिर्माणको जिम्मा हाम्रो सरकारले लिनुपर्छ । यसमा राष्ट्रिय सरकार बनाएरै अघि बढ्न सकिन्छ । एमालेले भनेको छ— नवनिर्माणको योजनासहित संविधानको ग्यारेन्टी, स्थानीय निकायको चुनाव गर्नेगरी राष्ट्रिय सरकार बनाउन सकिन्छ । यो दुई–तीन महिनामा संविधान दिन सक्छौँ भने जनतालाई अमूल्य राहत मिल्छ । स्थानीय चुनाव नहुँदा दुर्गम गाविसको मान्छे एउटा पालका लागि प्रधानमन्त्री कार्यालयसम्म धाउन बाध्य छ ।
जुन विपत भोग्यौँ, त्यसमा हाम्रो केही लाग्दैथ्यो । अब अगाडि बढ्नका लागि हामीसँग प्रशस्त आधार छन् ।