लाप्राकमा चारो छैन, जिल्ला विकासको आँगनमा चिउरा कुहियो !

0 4

गोरखा, जेठ ९– गोरखाको लाप्राक र गुम्दा लगायतका गाविसमा न्युनतम आवश्यकता अनुसारको खाद्यान्न पुग्न नसकेको अवस्थामा जिविसको आँगनमा राखिएको च्युरा भने कुहिन थालेको छ ।

विहीवार रातोपाटी प्रतिनिधि गोरखाको विकट गाविस लाप्राक पुग्दा त्यहाँका एक परिवार चाउचाउको झोलमा भात मुछेर खाँदै थिए । बस्दै आएको घर विनाशकारी भुकम्पले सखाप पारेपछी गुप्सि भञ्ज्याङमा त्रिपाल टाँगेर बसेको अर्को एउटा परिवार भातको साटो आलु उसिनेर छाक टार्दै गरेको भेटियो । ‘परिवार धेरै छौं, राहत भनेर दिएको चामल उहिल्यै सकियो, यही कलिलो आलुले छाक टार्दैछौं,’ स्थानीय निमा गुरुङले भनिन् ।

chiura (3)
लाप्राकबासी यसरी छाक टार्न बाध्य भए पनि त्यही लाप्राक, गुम्दा र बारपाक लगायतका क्षेत्रमा खाद्य सामग्रीको अभाव हुन नदिन भन्दै जिल्ला विकास समिती गोरखामा स्थापना गरिएको डिपोमा भने दातृ निकायले दिएको चिउरा कुहिएको पाईएको छ ।

जिल्ला विकास समिती भवनभित्र भण्डार गर्ने ठाउँ भएपनि कर्मचारीले लापरवाही गर्दै अस्तब्यस्त तरिकाले बाहिर आँगनमैे चिउराको चाङ लगाएपछी दैनिक पटक–पटक पर्न थालेको पानीका कारण चिउरा कुहिन थालेको हो । यसरी कुहिन थालेको चिउरा र सख्खर एक साता अघि भारत सरकारले पठाएको बताइएको छ ।

जिवीसमा भेटिएका एक स्थानियले भने, ‘उनीहरुले खानुपर्ने हैन, जनतालाई जस्तो दिए पनी हुन्छ भन्ने गलत मानकिसताले यसरी चिउरा र सख्खर ढुसी पर्दा पनि बाहिरै छाडेका होलान् ।’

गोरखा जिल्ला राहत विरण समितीले क्षेत्र नं १ का लागी जिविस, क्षेत्र नं २ का लागी चोरकाटे र क्षेत्र नं ३ का लागी घ्याम्पेशालमा डिपो संचालन गर्दै आएको छ ।

अलपत्र टेण्ट,मिनरल वाटरको चाङ

chiura (2)
लाप्राक र वारपाकतिर त्रिपाल टाँगेर बसेका स्थानियहरु त्रिपाल भन्दा बढि सुरक्षीत टेण्टको आशा गरिरहेका छन् तर जिवीसको आँगनमा उल्लेख्य संख्यामा वेवारिसे टेण्टहरु देख्न सकिन्छ ।

त्यस्तै दातृ निकयले सहयोग गरेको सयौंको संख्याका मिनरल वाटर पनि जिल्ला दैविक उद्धार समितीले जनताको अस्थायी वासस्थानमा पु¥याउन सकेको छैन । शिल्ड प्याक पानीका सयौं वोतलहरु जिवीसको आँगनमा चाँङ लगाएर राखिएको छ । ‘आजभोली बजार बासीहरु खानेपानी लिनका लागी जिवीस तिर जान्छन्’ गोरखा बजारका एक होटल ब्यवसायीले भने । जिवीसका कर्मचारी र तिनका परिवार तथा जिवीस आसापस बस्नेहरुले त्यस्ता मिनरल वाटरका वोतलहरु दैनिक दर्जनौंको संख्यामा उठाउने गरेपनी अझै चाङ घटेको छैन ।

राहत सामग्री यसरी अलपत्र छाडीएको बारे प्रश्न गर्दा स्थानिय विकास अधिकारी प्रेमराज गिरीले भने –‘एकैपटक धेरै ट्रकहरु आए, त्यसकारण हाम्रो सभाहल लगायतका भवनहरु पुरै भरियो त्यसैले हतारमा त्यस्तो भयो होला ।’

गिरीले जिवीसको आँगनमा अलपत्र छोडीएको खाद्यान्न केही दिनमा डिपोहरुमा पठाईने बताए ।