कुटो कोदालोले शव खोस्रदै

0 3
चरीकोट: भूकम्पपछि आएको पहिरोमा पुरिएर बेपत्ताको खोज तथा उद्धार हातेसामग्रीबाट गरिएको छ। वैशाख २९ गते गएको भूकम्पमा परी धेरै स्थानीयबेपत्ता भएको खबर सार्वजनिक भए पनि सरकारले खोज तथा उद्धारमा तदारुकता देखाउन नसक्दा हातेसामग्री प्रयोग गरी शव निकाल्ने काम भइरहेको हो।
दोलखालाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको १० दिन बितिसक्दा पनि हराएका स्थानीयलाई सरकारले भेटाउन सकेको छैन। आफन्तले सास वा लासको माग गरेर दिनहुँ प्रशासनमा निवेदन दिए पनि उल्लेख्य प्रगति नभएको भन्दै स्थानीयले सरकारको विरोध गरेका छन्।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले गृह मन्त्रालयसँग उद्धारका लागि अत्याधुनिक उपकरणसहित स्काभेटर, डोजर, रोलरलगायतका सामग्री माग गरे पनि हालसम्म स्काभेटर मात्र उपलब्ध भएको जानकारी दिए।
उनले एकजना अमेरिकन विज्ञ सिँगटीमा गएको जानकारी दिए। ति विज्ञसगँ पनि आवश्यक उपकरण नहुँदा समस्या भएको स्रोतको भनाइ छ।प्रशासनले पठाएको स्काभेटर लादुक, बुलुङ गाविस जाने सडक खुलाउन प्रयोग भएको छ। प्रशासनले खोज तथा उद्धार भन्दा राहतका सामग्री पठाउन बाटो खुलाउने तर्फ बढी ध्यान दिएको स्थानीयको आरोप छ।
पहिरोको उच्च जोखिम रहेको यो क्षेत्रमा पुरिएका शव कुहियर दुर्गन्ध फैलिएको स्थानीयले बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीयले खोज तथा उद्धारलाई अगाडि बढाए पनि आवश्यक उपकरण नहुँदा समस्या भएको उद्धारमा संलग्नको भनाइ छ।
अत्याधुनिक उपकरण पर्खेर बस्दा ढिलो हुने भएको भन्दै आफूहरूसँग भएको कुटो, कोदालो, झ्याम्पल, सावेललगायतका हाते उ पकरण प्रयोग गरेर खोजी गरिरहेको इलाका प्रहरी कार्यालय सिँगटीका प्रहरी निरीक्षक जीवन तामाङले बताए।
उनले आफूहरूसँग भएको सीमित स्रोतसाधनको भरमा खोजी गरिरहेको बताउँदै शव कुहियर हाडमात्र भेटिन लागेको बताए। हालसम्म ३९ जनाको शव फेला परेको जनाउँदै उनले शुक्रबार भेटिएको शव पहिचान हुन नसकेको बताए।
स्थानीयको भनाइअनुसार लादुक र बुलुङ गाविसको सिमानामा पर्ने झोरुङ सोरुङ क्षेत्रमा धेरै स्थानीय पहिरोमा पुरिएका छन्।
राहत लिएर फर्केका चिलङखा गाविसका ६, ८ र ९ वडाका धेरै स्थानीय र खोपाचागु गाविसका केही स्थानीय त्यहाँ पुरिएको हुन सक्ने स्थानीय भरत जिशीको अनुमान छ। उनले सरकारले हराइरहेको स्थानीयको खोजीमा ढिलाइ गरेकोप्रति आक्रोश व्यक्त गरे।
दिनहुँ हेलिकोप्टरमार्फत यहाँको अवलोकन हुने गरेको बताउँदै हेलिकोप्टरमा गर्ने खर्च खोज तथा उद्धारमा लगाए छिटो हुने उनको सुझाव छ।

– Source : Annapurna Post