हुरीले तनहुँमा ठूलो क्षति, भूकम्पपीडितको बिचल्ली

0 5
दर्जनौं घर र कार्यालयको छानो उडायो,
तनहुँः शनिबार दिउँसो हावाहुरीसँगै आएको असिनापानीले तनहुँमा ठूलो क्षति भएको छ । हावाहुरीले व्यास नगरपालिका, क्यामिन, केशवटार,जामुने तथा आसपासका गाविसमा धेरै घरको छानो उडाएको छ ।

दिउँसो करिब तीन बजे आएको हावाहुरीले दमौलीमा रहेको कभर्डहलको आधा भन्दा बढी भागको छानो उडाएको छ । बीपी वनवाटिका मैदान, शिक्षा कार्यालय र जिल्ला कारागारको छानो पुगेको छ । हुरीले व्यास–१ चारकुने टोलमा करिब १५ घरको टिनको छानो उडाएको छ ।

रामकृष्ण सापकोटा, सीता बस्नेत, चिजा न्यौपाने लगायतको घरको छानो उडाएको स्थानीय मणिजंग बस्नेतले जानकारी दिए । भूकम्पले बस्न नहुने घरको छानोसमेत उडाएपछि थप समस्या भएको छ ।

केशवटार–७ आँपटोलमा हुरीले नरबहादुर थापा पाटाको घरका सबै जस्तापाता उडाएको छ । हुरीले छानो उडाएपछि अन्न सबै भिजेर नष्ट भएको पीडित परिवारले बताएका छन् ।

केशवटार बजारमा हुरीले ठूलो स्वामीको रुख ढलेर दमौली सुखौरा मोटरमार्ग अवरुद्ध बनाएको छ । यसैगरी स्थानीय यामबहादुर थापाको घरको पनि जस्ता उडाएर क्षति पुर्‍याएको छ ।

केशवटार–२ स्थित अमरज्योती निमाविको आठकोठे भवनको सबै जस्ता हुरीले उडाएपछि कम्प्युटर ल्याब, पुस्तकालय, कार्यालय कक्ष र सबै कक्षाकोठामा क्षति पुगेको जिल्ला शिक्षा कार्यालयका श्रोतव्यक्ति दुर्गा आलेले जानकारी दिए ।

हावाहुरीले जामुनेको मानुङमा पनि करिब १० घरको छानो उडाएको छ । छानो उडाए पछि धेरै परिवारलाई घरमा बस्न समस्या भएको स्थानीय युवा नेता चामबहादुर थापाले बताए । हुरीले स्थानीय विजय निमाविको छानो पनि उडाएको बताइएको छ ।

हुरीका कारण पृथ्वी राजमार्गका विभिन्न भागमा सडकमा रुख ढले पनि राजमार्ग अवरुद्ध नभएको र अवरोध हटाइएको प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले जानकारी दिए ।

घर भत्केका थप मारमा
हावाहुरीले त्रिपाल उडाएपछि त्यसैको सहारामा बस्दै आएका परिवार थप संकटमा परेका छन् ।

त्रिपालमुनि बस्दै आएको क्यामिन बोटे गाउँको सुकबहादुर बोटे परिवारलाई अब कहाँ आश्रय लिने थाहा छैन । ‘घर चर्केपछि पालको सहारामा बसेका थियौं,’ उनले भने,‘त्यो पनि हुरीले उडाइदियो । अब के गर्ने ?’

 -Source : Annapurna POst