भूकम्पले सिन्धुपाल्चोकका ६ आयोजना क्षतिग्रस्त

0 4

सिन्धुपाल्चोक- भूकम्पबाट सिन्धुपाल्चोकको जलविद्युत क्षेत्र नराम्ररी तहसनहस भएको छ । जिल्लाका साना–ठूला ६ आयोजना ठप्प छन् । दैनिक झन्डै ७० मेगावाट उत्पादन रोकिएको छ । यसबाट दैनिक १ करोड रुपैयाँ नोक्सान पुगेको छ ।

महाभूकम्पले नहर फुटाउनुका साथै पहिरोले बाँध, उत्पादन गृह र मेसिनरीमा ठूलो क्षति पु¥याएको छ । तत्काल क्षति नपुगे पनि सञ्चालनमा रहेको एक आयोजना उच्च जोखिममा छ । जिल्लामा सात जलविद्युत आयोजना सञ्चालनमा थिए । गत वर्षको जुरे पहिरोको चपेटामा परेका जलविद्युत आयोजनालाई भूकम्पले चलाउनै नसकिने गरी धक्का दिएको छ ।

निजी क्षेत्रका ४५ मेगावाट क्षमताको भोटेकोसी आयोजना, ३.२ को भैरवकुण्ड, ६ मेगावाटको चाकु, ४.५ को बराम्ची र १ मेगावाटको हाँडीखोला तथा सरकारी स्वामित्वको १०.०५ मेगावाट क्षमताको सुनकोसी जलविद्युत केन्द्रमा क्षतविक्षत पार्दा उत्पादन ठप्प भएको हो । भोटेकोसीमा धेरै क्षति पुगेको छ । तातोपानीको १० किलोनजिक बाँध र झिर्पूमा उत्पादन गृह रहेको भोटेकोसीको बाँध नै ठाउँ–ठाउँमा फुटेको छ ।

‘उत्पादनगृह नै डुबानमा परेको छ,’ भोटेकोसी आयोजनाका कार्यकारी अधिकृत नरेन्द्र प्रजापतीले भने । उनका अनुसार भूकम्पको धक्का र पहिरोले आयोजना क्षतिग्रस्त बनेको हो । अरनिको राजमार्गबाट झरिरहेको पहिरोको कारण कम्पनीले क्षति मूल्यांकन गर्न सकेको छैन ।

सरकारी स्वामित्वको सुनकोसी जलविद्युत केन्द्रको नहर फुटेको छ । ठाउँ–ठाउँबाट पानी चुहिरहेको छ । केन्द्रको इन्टेक नै पहिरोले पुरेको छ । जुरे पहिरोले क्षति पुर्याोएपछि यो केन्द्र वैकल्पिक नहरबाट सञ्चालनमा ल्याइएको थियो । भूकम्पले त्यसलाई नै फुटाइदिएको छ ।

भैरवकुण्ड आयोजना छियाछिया छ । उत्पादनगृहमा क्षति पुगेको छ । पहिरोले ट्रान्समिसन लाइन यत्रतयत्र लतारेको छ । ती सहायक आयोजनाबाट बनेको तल्लो चाकु पनि तहसनहस छ । इन्टेकमा पहिरो थुप्रिएको छ । ट्रान्समिसन लाइन चुँडिएर समस्याग्रस्त छ । भोटेकोसी, भैरवकुण्ड, चाकु र सुनकोसी आयोजना गत वर्ष साउन १७ को जुरे पहिरोले ट्रान्समिसन टावर र लाइन बगाउँदा लामो समय अवरुद्ध भएका थिए । करोडौं खर्च गरेर सञ्चालनमा ल्याएको ६ महिनामै यी आयोजना महाभूकम्पको चपेटामा परे ।

निजी क्षेत्रकै बराम्ची जलविद्युत आयोजनाको मुहानमै पहिरो गएपछि उत्पादन ठप्प छ । नहरमा पनि क्षति पुगेको छ । हिमाली गाउँ थाङपालकोटमा निर्मित हाँडीखोला जलविद्युत आयोजनाको इन्टेकमा पहिरो गएको छ । ट्रान्सिमसन लाइन समस्याग्रस्त छ ।

जलविद्युत प्रवद्र्धक उमेश कसजूका अनुसार क्षतिग्रस्त आयोजना पूर्ववत रुपमा सञ्चालनमा आउन लामो समय र धेरै खर्च गर्नुपर्छ । ‘भूकम्पले जिल्लाको जलविद्युत उद्योगलाई धराशयी बनाएको छ,’ कसजूले भने । जिल्लाको उत्पादन रोकिँदा तत्काल दुई घन्टासम्म लोडसेडिङ बढ्ने र बर्खामा पनि लोडसेडिङ नहट्ने उनी बताउँछन् ।

इन्द्रावती तेस्रो उच्च जोखिममा

महाभूकम्पपछि पनि सञ्चालनमै रहेको साढे ७ मेगावाट क्षमताको इन्द्रावती तेस्रो उच्च जोखिममा छ । आयोजनाको उत्पादनगृह नजिक पहिरो गएको र नहरबाट पानी चुहिन थालेकाले आयोजना जोखिममा छ ।

‘नहर चर्किएर ठाउँ–ठाउँबाट पानी चुहिरहेको छ,’ आयोजनाका जनसम्पर्क अधिकृत विकास तामाङले भने । पहिरोले वर्षामा उत्पादन गृहलाई प्रत्यक्ष असर पु¥याउने देखिएको उनले बताए । यसको नहरमा पानी चुहिने समस्या रहे पनि मर्मत गरिएको थिएन । भूकम्पले चुहावट बढाएको छ ।

निर्माणाधीनमा क्षति

निर्माणाधीन तीन ठूला आयोजना अवरुद्ध भए । १ सय २ मेगावटको मध्यभोटेकोसी, साढे २२ को माथिल्लो चाकु र साढे १० को बलेफी-ए जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

माथिल्लो चाकुको ट्रान्समिसन लाइन र बालुवा थिग्य्राउने पोखरीमा क्षति भएको छ । ‘पहिरोले ३० वटा पेनस्टक पाइप बगायो । मेसिनमा पनि क्षति पुगेको छ,’ आयोजनाका कार्यकारी अध्यक्ष कसजूले भने । शिवश्री हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन यसको ८५ प्रतिशत काम सकिएको थियो । चार महिनाभित्र उत्पादन थाल्ने लक्ष्य थियो ।

भूकम्पपछि निजी क्षेत्रको सबैभन्दा ठूलो मध्यभोटेकोसी आयोजना निर्माणमा संलग्न चिनियाँ ठेकेदार र कामदार फिल्ड छोडेर हिँडेका छन् । आयोजनाको कामदार बस्ने क्याम्प पहिरोले ध्वस्त बनाएको छ । ‘ठाउँ–ठाउँमा पहिरो गएकाले नपन्छाइ तत्काल काममा फर्कने अवस्था छैन,’ आयोजनाका वरिष्ठ इन्जिनियर सञ्जय सापकोटाले भने । भर्खर साइट प्रवेश गरेको मुनलाइट हाइड्रो प्रालिद्वारा मध्यक्षेत्रको सेलाङ र बतासेमा निर्माणाधीन बलेफी–एको कामदार बस्ने क्याम्प लगायत संरचना भूकम्पले ध्वस्त पारेको छ । आयोजना पुग्ने सडक पहिरोले बगाएपछि निर्माण अनिश्चित बनेको छ ।