‘सिकारु’ डाक्टरले शल्यक्रिया गर्दा गर्भवती महिलाको ज्यान गयो

0 4

बिर्तामोड । प्रसुती गराउन बिहीबार साँझ बिर्ता सिटी अस्पताल पुर्याईएकी एक महिलाको शल्यक्रिया असफल भई ज्यान गएपछि शुक्रबार दिनभर अस्पताल परिसर तनाबग्रस्त बन्यो ।

९ महिनायता सोहि अस्पतालमा नियमित जाँच गराईरहेकी बिर्तामोड निवासी २८ वर्षीया यशोदा निरौलाको शल्यक्रिया गर्ने क्रममा ज्यान गएको हो ।

डाक्टरको चरम लापरवाही र अस्पताल प्रशासनको कमजोरीका कारण निरौलाको ज्यान गएको भन्दै मृतकका आफन्तले शुक्रबार बिहानैदेखि अस्पतालमा नाराबाजी गरे । बिहीबार बेलुकी ७ बजे यशोदाको ज्यान गएको थियो । तर, अस्पताल प्रशासनका कोही पनि उपस्थित नहुँदा मृतकका आफन्त असन्तुष्ट थिए ।

यशोदाको ज्यान जानासाथ अस्पताल प्रशासन बेपत्ता बनेको थियो । निरन्तरको फोन सम्पर्कपछि अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेत शुक्रबार बिहान ९ बजे मात्र मृतकका परिवारलाई भेट्न अस्पताल पुगे । यद्यपि उनले घटनाबारे बिहीबार बेलुकै थाहा पाइसकेका थिए ।

अध्यक्ष बस्नेत बिहान अस्पताल पुग्दा त्यहाँ नाराबाजी भईरहेको थियो । बिरामीको मृत्यु भएको १२ घण्टापछि मात्र अस्पताल पुगेका अध्यक्ष बस्नेत हाँस्दै गेटभित्र छिरेको देख्नासाथ भीड थप आक्रोशित बन्यो । कडा सुरक्षाबीच बस्नेत अस्पताल प्रवेश गरे । उनी अस्पताल प्रवेश गर्नासाथ मृतकका आफन्त र परिवारसँग वार्ता सुरु गरे । अस्पतालभित्र वार्ता चलिरहँदा बाहिर अस्पतालविरुद्ध चर्का नारा चलिरहेका थिए । सुरक्षाकर्मीहरुलाई भीड नियन्त्रण गर्न हम्मे–हम्मे परेको थियो ।

Birta-2पारिवारिक स्रोतका अनुसार डाक्टरले यशोदाको नियमित जाँच गरिरहेका थिए । ‘अवस्था सामान्य छ । जेठ ६ गते प्रशुति गराउनुपर्छ भन्नुभएको थियो ।’ मृतकका ससुरा नन्दिकेशर निरौलाले भने– ‘अप्ठ्यारो अवस्था भए अन्तै लैजान्छौं भन्दा पनि डाक्टरले नर्मल छ नआत्तिनु भने ।’ ‘सिकारु’ले शल्यक्रिया गरेर अन्तिम अवस्थामा पुगेपछि मात्र मेडिकल डाईरेक्टर डा. अनिल बस्नेत प्रवेश गरेको परिवारको आरोप छ । यशोदाको ज्यान गईसकेपछि डाक्टर अतालिएर रगत माग्न थालेको पारिवारिक स्रोत बताउँछ ।

शल्यक्रिया गरेर बच्चा निकालिसकेपछि यशोदाको अवस्था नाजुक बन्दै गएको अस्पताल प्रशासनले स्वीकार गरेको छ । शल्याक्रिया गरेर निकालिएको शिशुलाई हाल शिलिगुडी लगिएको छ । ‘अस्पताल प्रशासन नै बेपत्ता बन्यो अनि बच्चा यहाँ राखेर के गर्नु ?’– परिवारका एक सदस्यले भने । पेटबाट बच्चा निकालिसकेपछि यशोदाका परिवारलाई डाक्टरहरुले बच्चाले पेटभित्र हुँदै दिसा खाईसकेको जानकारी दिएका थिए । ‘यशोदाको बारेमा सोध्दा ब्लड चाहिएको मात्र बताए ।’ मृतकका जेठाजु विष्णु निरौलाले भने– ‘लगातार तीन पटकसम्म हामीलाई रगत मागे । अन्तिम अवस्थामा मात्र डाक्टर अनिल प्रवेश गरेका हुन् ।’

डाक्टर अनिल प्रवेश गरेको केही क्षणमै यशोदाको ज्यान गएको जानकारी गराईएको थियो । ‘घरमा ९१ वर्षका वृद्ध बुवा हुनुहुन्छ । यो खबर सुनेर उहाँको अवस्था कस्तो होला ?’ मृतकका ससुरा प्रश्न गर्दै थिए– ‘अस्पतालको दायित्व यति हो ?’ मृतकका परिवारका अनुसार उनीहरु कानुनी लडाई लड्ने पक्षमा छैनन् । उनीहरु शव लिएर जान तयार थिए । तर, अस्पताल प्रशासनबाट संवेदनाका शव्द नपाउँदा उनीहरु निराश थिए ।

छलफलका क्रममा सुरुमा अस्पतालका अध्यक्ष बस्नेतले हस्पिटल नै बन्द गरिदिन्छु भन्दै घुक्र्याउँदै थिए । ‘नहुनुपर्ने घटना भयो । यो मेरो हातभन्दा बाहिरको कुरा हो ।’ उनले प्रष्ट्याउन खोजे– ‘सफलता पाएका डाक्टरहरु राखेको छु । राम्रो सेवा दिनलाई नै हस्पिटल खोलेको हुँ ।’
शल्यक्रियामा संलग्न डाक्टर अमित देव बेपत्ता थिए । डाक्टर अनिलले यशोदालाई ९ महिनायता निरन्तर चेकजाँच गरिरहेको स्वीकार गरे ।

‘अपरेसन थिएटरमा सामान्य ढंगले शल्याक्रिया भईरहेको थियो । बच्चा निकालिसकेपछि अवस्था बिग्रियो ।’ थिएटरमा अबेर प्रवेश गरेका उनले सुरुदेखि नै सबै देखेझैं गरेर भने– ‘उहाँले सास फेर्न अप्ठ्यारो भो भन्दा–भन्दै समस्या ह्वात्तै बढ्यो ।’ तर पनि उनले अस्पतालको गैरजिम्मेवारी र डाक्टरको त्रुटीका कारण ज्यान गएको हुन नसक्ने बताएका थिए । डाक्टर अनिलले त्रुटी होईन भन्नासाथ आक्रोशित आफन्त र परिवार उनीमाथि झम्टिएका थिए ।

लामो छलफलपछि पीडित परिवार र अस्पताल प्रशासनबीच ७ बुँदे सहमति भयो । सहमतिपछि शुक्रबार दिउसो आफन्तले शब बुझेका छन् । उपचारको क्रममा अस्पतालको तर्फबाट गम्भिर त्रुटी भएको स्वीकार गर्ने, अस्पतालको तर्फबाट सार्वजनिक रुपमा माफी माग्ने, उपचारमा संलग्न डाक्टर अमितकुमार देवलाई बर्खास्त गर्ने, अस्पतालको ब्यवस्थापनमा सुधार गर्ने, अक्षयकोषको ब्याजले प्रत्येक तीन महिनामा एकजनालाई निःशुल्क उपचार गर्ने गरी मृतकको नाममा अस्पतालमा अक्षयकोष स्थापना गर्ने, ७ दिनसम्म नयाँ बिरामी भर्ना नलिने लगायतका सहमति भएपछि आफन्तले शब बुझेका हुन् ।