अमिताभको सुटिङस्थलमा गोली हानी एकको हत्या

0 8
एजेन्सी : बलिउडका चर्चित अभितनेता अमिताभ बच्चनको फिल्म सुटिङस्थलमा गोली चल्दा एकजनाको ज्यान गएको छ ।

अमिताभ बच्चनले फिल्म सुटिङ गरिरहँदा मुम्बईमा फिल्म सिटीको गेटमा गोली चलेको हो । मोटरसाइकलमा सवार युवाले गोली चलाउँदा त्यहाँ रहेका एकजनाको ज्यान गएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार गोली चलेका बेला फिल्म सिटीमा दर्जनौ फिल्मको सुटिङ चलिरहेको थियो ।

गोली चलेकै स्थानमा रहेका अभिनेता अमिताभ बच्चनले ट्वीट गर्दै गोली चलेको जानकारी दिए । गोली चल्दा उनी २० फिटनजिकै रहेको जानकारी दिएका छन् । घटनास्थलबाट करिब २ सय मिटर परस शाहरुख खानको फिल्म रईसको सुटिङ भइरहेको थियो ।

अमिताभले ट्वीटमा गोली चलेपनि सबै कलाकार सुरक्षित रहेको जनाए । घटनामा राजु सिन्धे नामका व्यक्तिको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोली चलेको स्थानमा सञ्जय लीला भन्सालीको फिल्मको सुटिङ भइरहेको थियो । कलाकार रहेको स्थानमा गोली हानी  हत्या भएपछि त्यहाँ सुरक्षा बढाइएको छ । गोली हान्ने दुबै युवा तत्कालै फरार भएका छन् ।