त्रास फैलाउने ज्योतिषीदेखि सर्वसाधारण प्रहरी निगरानीमा

0 8

८ जेठ, काठमाडौ । ठूलो भूकम्प आउने भविष्यवाणी गर्दा ज्योतिष् ओजराज लोहनी प्रहरीको फन्दामा परे । भूगर्भविदहरुले नै भूकम्प आउने/नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ठूलो भूकम्प आउनसक्ने भविष्यवाणी गरेपछि प्रहरीले मंगलवार उनलाई नियन्त्रणमा लिएको थियो ।

वैशाख १२ को भूकम्पपछि निरन्तर आयरहेको धक्काका कारण त्रसित सर्वसाधारणमा अफवाह फैलाएर अनाहक थप त्रास बढाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेर उनलाई टेकु कार्यालय पुर्यायो । चार घण्टा प्रहरी नियन्त्रणमा रहेपछि उनले आफ्नो आशय बंग्याएर अरुले नै अफवाह फैलाएको बयान दिएपछि उनी हाजिर जमानीमा रिहा भएका छन्, नागरिक दैनिकमा खबर छ ।

ज्योतिष लोहनी मात्र होइन, भूकम्पसम्बन्धी भविष्यवाणी गरेर सर्वसाधारणलाई डर, त्रास फैलाउने र सामान्यतर्फ उन्मुख जनजीवन फेरि अस्तब्यस्त पार्न खोज्नेलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

कुन क्षेत्रमा भूकम्पको जोखिम कति बढी छ भन्ने सम्मको जानकारी भूगर्भविदहरुले दिन सक्छन् तर कुन ठाउँमा कहिले र कति शक्तिशाली भूइँचालो जाँदैछ भनेर पूर्वानुमान गर्ने सामर्थ्य आधुनिक विज्ञसँग छैन । जापानजस्तो विकसित र सर्वाधिक भूइँचालो गइरहने देशले पनि कम्पन कहिले सुरु हुन्छ भनी उद्घोष गर्न सक्दैन ।

वैशाख १२ को शक्तिशाली धक्कापछि यस्तो उढन्ते कुरा फैलाएर सर्वसाधारणलाई त्रसित पार्ने प्रवृत्ति बढेको छ ।