विद्यालय लाग्यो पीडितको घर बनाइदिन

0 12

८ जेठ, काठमाडौ । काठमाडौको शंखमुलस्थित सहारा नेशनल स्कुलले भक्तपुरमा भूकम्पपीडितहरुका लागि टहरा बनाउने अभियान थालेको छ ।

विभिन्न संघ संस्थाहरुले अस्थायी टहरा बनाउने अभियान थालेपछि यो स्कुलले पनि भक्तपुरमा केही घर टहरा बनाइदिने घोषणा गर्दै निर्माण कार्य थालेको छ ।

भक्तपुरको मञ्जुश्री नगरपालिका-९ झिँगटी टोलमा बुधवारदेखि टहरा बनाइदिने अभियान सुरु गरेको विद्यालयका कार्यकारी प्रमुख देवेन्द्र भट्टराईले बताए ।

आ-आफ्नो तहबाट सहयोग भइरहेकोले आफूहरुले पनि स्कुलको तर्फबाट १० दिनसम्म श्रमदान गरि कम्तीमा १२ वटा घर टहरा बनाइदिने भट्टराईले बताए । उक्त टोलमा अधिकांश वृद्धवृद्धा र एकल महिलाहरु मात्रै रहेकोले श्रमदान गर्न लागिएको पनि उनले बताए ।

वैशाख १२ को भूकम्पले झिँगटी टोलमा चार जनाको मृत्यु भएको थियो ।

यसअघि सहारा नेशनलले सिन्धुपाल्चोकको पोखरे गाविसको कालीबनमा पहिलो पटक राहत बाँडेको थियो ।

स्कुलले ५० सेट ट्रयाकसुट, २० जोर आउट कपडा, ७ बोरा चिउरा, ५ बोरा चामल, २० केजी दालमोट र पाँच हजार बराबरको औषधी कालीवनमा पीडितहरुलाई वितरण गरेको भट्टराईले बताए ।