रामेछापको ऐतिहासिक ठोसे बजार सग्लो रहेन

0 15

८ जेठ, रामेछाप । बैशाख १२, १३ र २९ गते आएको विनाशकारी भूकम्पका कारण रामेछाप जिल्लाको ऐतिहाँसिक ठोसे बजार ध्वस्त भएको छ । भूकम्पले ठोसे बजारका सबै घरहरु भत्किएका छन् । रामेछापको पुरानो ऐतिहासिक बजारको रुपमा रहेको ठोसे बजारमा कुनै पनि घरहरु बाँकी छैनन् ।

नेपाल र भोटको लडाइँका बेलामा स्थानीय फलामखानीबाट फलाम उत्पादन गरी दैनिक ९ नाल बन्दुक उत्पादन गरी काठमाडौँ पठाउने ठोसे बजार भग्नावशेषको रुपमा परिणत भएको छ । ठोसे बजारमा रहेका करिब १ सय ५०  वटा घरमध्ये अब कुनै पनि घर बाँकी नरहेको स्थानीय गौतम श्रेष्ठ बताए ।

Ramechap-3
ठोसे बजारमा विक्रम सम्वत  १८३३ बाट बसोबास सुरु भएको इतिहास रहेको छ । भूकम्पको कारण १८३३ मा डिट्ठा भक्तबहादुर कार्कीले बनाएको बजारकै पहिलो घर पनि भत्किएको छ । सो घरमा उनका नाति भुवनबहादुर कार्कीको परिवार बस्दै आएको थियो ।

स्वीडेनबाट ल्याएका मेसिनबाट फलाम प्रशोधन गरी बन्दुकलगायतका विभिन्न हतियार बनाएर भोटको लडाइँमा सहयोग गर्ने ठोसे बजार रामेछाप जिल्लाको पुरानो र इतिहास बोकेको बजार हो । रामेछापको उत्तरी क्षेत्र र सगरमाथाको प्रवेशद्वारको रुपमा रहेको ठोसे बजारबासीहरु अहिले घरबारविहीन भएका छन् ।
Ramechap2
१२ र १३ गते आएको भूकम्पको कारण सामान्य क्षति भएको ठोसे बजारमा २९ बैशाखमा आएको भूकम्पले सबै घरहरु भत्काएको थियो । भग्नावशेष बनेका घरहरुबाट सेनाले अहिले स्थानीयको सामान निकाल्न सहयोग गरिरहेको छ ।

अब ठोसे बजारलाई आधुनिक बजारको रुपमा विकास गर्नुपर्ने माग पनि स्थानीयको रहेको छ । बजार व्यवस्थापनको लागि राज्यले सहयोग गर्नुपर्ने स्थानीयको माग छ ।