दलालको अखडा बन्यो यातायात कार्यालय

0 14
कर्मचारीको काम गर्छन् दलाल
इटहरी  : कोसी अञ्चल यातायात कार्यालय दलालको अखडामा परिणत भएको छ । दलालहरुले कार्यालयको दैनिक काम गरिरहँदा कर्मचारी भने रमितेमा परिणत भएका छन् ।
गणतन्त्र आएपछि सरकारले जनताका काम छिटोछरितो गर्न सबै सरकारी कार्यालयलाई लिखित निर्देशन दिएपनि कोसी अञ्चल यातायात कार्यालयको दलालहरुले चलाउँछन् ।
यातायात कार्यालयका कर्मचारीहरुलाई सवारी चालक अनुमति पत्रको ढड्डा र सवारी साधनको रेर्कडबारे जानकारी नहुँदा दलालहरुकै भर पर्नुपरेको हो ।
‘नत सरकारी पोसाक लगाएका छन् । न त कर्मचारीको परिचय पत्र पनि भिरेका छन्’, एक सेवाग्राहीले भने, ‘यातायात कार्यालयमा दादागिरी देखाउँदै कर्मचारीको कुर्सीमा दलाल बसिरहँदा पनि स्थानीय प्रशासनले कारबाही गर्न सकेको छैन ।’
बिहीबार इटहरीस्थित कोसी अञ्चल यातायात कार्यालयको सवारी फाँटमा पुग्दा दलाल फडिन्द्र पौडेल  धमाधम सवारी साधनको नामसारी गरिरहेका थिए ।
पौडेलले कार्यालयमा काम गरिहेको तस्बिर अन्नपूर्ण समाचारदाताले तस्बिर कैद गरेका थिए । तस्बिर कैद गरेपछि पौडेल मुसुमुसु हाँस्दै कार्यालयको फाइल बोकेर अर्को फाँटतर्फ लागे ।
पौडलसँगै अन्य दुई दलाल पनि कार्यालको फाइलमा धमाधम सवारी धनीको नामसारी गरिहेका थिए । यो कार्यालयमा हाल दैनिक २४ जना बढी दलालहरुले कर्मचारी सरह काम गरिरहेका छन् ।
दलालहरुले सवारी साधनको नामसारी गर्दा सवारीधनीबाट ५ सय देखि एक हजार सम्म लिने गरेका छन् । जुन रकमबाट यातायात कर्मचारीले ३ सय रुपैयाँ लिने गरेको सुनसरीमा बजाज कम्पनीको सोरुम चलाउँदै आएका एक व्यवसायीले नाम नछाप्ने सर्तमा अन्नपूर्णलाई बताए ।
यातायात कार्यालय इटहरीमा दलालहरुले सर्बसाधारणलाई दैनिक ठगी गर्ने गरेका छन् । कर्मचारीले समेत दलाललाई कार्यालयको काम सुम्पेको भन्दै पूर्वखेलकुदमन्त्री गोपी अछामी र एमाओवादी सुनसरीका अध्यक्ष निर्मल बराल लगायतको टोलीले कार्यालयमा भ्रष्ट्राचार बढेको भन्दै दोषी कर्मचारी र दलालमाथि कारबाही माग गरेका छन् ।
एमाओवादी सुनसरी अध्यक्ष बरालले सरकारी कार्यालयमा अनियमितता रोक्न देशभर अख्तियारका क्षेत्रिय कार्यालय खोलिएपनि यातायात कार्यालयमा अख्तियारका आँखा नपुगेको भन्दै यातायात कार्यालयको अनियमितता नियन्त्रण गरी दोषीउपर कडा कारवाही गर्न माग गरेका छन् ।
कोसी अञ्चलभरीका मोटरसाइकल र स्कुटी पास गर्दा दलालले ५ सय देखि एक हजार रुपैयाँ असुली कर्मचारीसँग भागबण्डा गर्ने गरेको धरानका प्रभाव खतिवडाले बताए ।
उनले यातायात कार्यालयमा दलाललाई प्रवेशमा रोक लगाएर कर्मचारीबाटै छिटोछरितो सेवा दिनुपर्ने माग गरे । इटहरी यातायात कार्यालयमा दलालहरुले दैनिक सयांै सेवाग्राहील ठगिरहेका छन् ।

यसमा यातायातका कर्मचारीहरुको प्रत्यक्ष संलग्नता रहेको सेवाग्रहीको भनाइ छ । पुन्य पौडेल, गोपाल घिमिरे, शान्तिराम खनाल, फडिन्द्र पौडेल, लोकनाथ थापा, लोकेन्द्र सुवेदी, मनिन्द्र भट्टराई र रोशन गौतम लगायतका दलालहरुले यातायात कार्यालयलाई अड्डा बनाएको स्थानीयबासीले बताए ।

सवारी चालक अनुमति पत्रमा कम्पयुटर टाइप गर्न पनि कर्मचारीको मिलेमतोमा दलालहरुले कार्यालय बाहिर पठाई रकम असुल्ने गरेका छन् ।
दलालहरुले यातायात कार्यालयमा राखिएको बैंक भौचरसमेत कव्जामा लिएर सेवाग्राही ठगिरहँदा समेत सय मिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालय मौन बस्नु रहस्यमय देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।
यातायात व्यबस्था कार्यालय कोसीका कार्यालय प्रमुख उपसचिव विष्णु पौडेलले कार्यालयमा दलाल छिराएर काम गर्न लगाउने कर्मचारीमाथि छाविन गरी कारबाही गरिने दाबी गरे ।
उनले यातायात कार्यालयमा आउने सेवाग्राहीले नै दलाललाई काम लाउने गर्ला समस्या सिर्जना भएको बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविराज पन्थले यातायात कार्यालयमा भएको अनियमितता र ग्रैह कर्मचारीलाई काम गर्न लगाएको विषयमा छानविन गरी दोषिमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

-Source: Annapurna Post