सनथ जयसूर्याले नेपालविरुद्ध क्रिकेट खेल्ने

0 4
भूकम्पपीडितलार्इ सहयोग जुटाउन नेपाल र विश्व ११ भिंड्ने
 काठमाडौं : भूकम्पपीडित नेपाली नागरिकको सहयोगार्थ मलेसियामा हुने च्यारिटी क्रिकेट म्याचमा श्रीलंकाका चर्चित क्रिकेटर सनथ जयसूर्याले सहभागिता जनाउने भएका छन् ।

भूकम्पपीडितका लागि सहयोग जुटाउन विश्व ११ र नेपाली क्रिकेट टिमबीच हुने खेलमा जयसूर्याले विश्व ११ टिमबाट खेल्ने घोषणा बिहीबार गरेका हुन् ।

श्रीलंकालार्इ विश्व च्याम्पियन बनाएका जयसूर्याले मलेसियन क्रिकेट एसोसियसनको प्रस्ताव स्वीकार गर्दै भूकम्पपीडितको सहयोगका लागि विश्व ११ बाट खेल्ने घोषणा जयसूर्या ट्वीटरमार्फत गरेका हुन् ।

उनले ट्वीट ब्याट फर नेपाल अभियान अन्तर्गत हुने उक्त च्यारिटी खेलमा सहभागिता जनाउन आफू तयार रहेको जानकारी दिएका हुन् । नेपालविरुद्धको खेलमा जयसूर्यासँगै श्रीलंकाका अर्का खेलाडी रोसन महानामले पनि खेल्ने भएका छन् ।

मलेसियाको क्वालालाम्पुरस्थित किनरारा ओभलमा नेपाली राष्ट्रिय टिम र विश्व ११ बीच ५० ओभरका खेल हुने भएको छ । खेलको मिति भने टुंगो लागिसकेको छैन ।