भूकम्पबाट प्रभावित सुत्केरीको पीडा

0 4

काठमाडौँ, जेठ ७ – विनाशकारी भूकम्पबाट सबैभन्दा बढी सुत्केरी तथा गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भए । भूकम्पबाट प्रभावित सुत्केरी तथा गर्भवती महिलाहरू अन्य समयमा सर्वसाधारणका लागि सहज पहुँच नभएका स्थान नारायणहिटी दरबार, सिंहदरबार र टुँडिखेल (सैनिक मञ्च) लगायतका खुला स्थानमा अहिले पाल टाँगेर बसिरहेका छन् ।

ती पालमुनि बस्ने सुत्केरी र गर्भवती महिलामध्ये कोहीले श्रीमान् गुमाएका छन्, कोहीले काखको बच्चा गुमाएका छन् त कोहीले आफन्त र भएको सबै सम्पत्ति गुमाएका छन् । उनीहरूका आ–आफ्नै दुःख र पीडाहरू छन् ।

गत १२ गतेको विनाशकारी भूकम्पपछि खुला स्थान खोज्दै टुँडिखेलमा आइपुगेकी रामेछाप–४ सेतोपहाडकी सुत्केरी महिला राधिका पौडेलको रामेछापमा रहेका दुईवटै घर ध्वस्त भए । नरदेवीमा रहेको कोठासमेत बस्न नमिल्ने गरी चर्किएको छ । कोठामा भएको सामान निकाल्न सकिएको छैन । वैशाख ७ गते सुत्केरी भएकी राधिकालाई अहिले टुँडिखेलमा ओरेक नेपाल नामक संस्थाले दुई छाक खाना खुवाउँदै आएको छ ।

“सुत्केरी भएका बेलामा तीन÷चार पटक खाना खानुपर्छ, त्यत्तिकै मात्रामा पौष्टिक आहारको आवश्यकता पर्छ, तर भूकम्पका कारण समयमा एक छाक खान पनि गाह्रो छ, बच्चालाई दूध नै पुग्दैन”, राधिकाले गुनासो गरे ।

त्यसैगरी सिंहदरबारमा बस्दै आएकी नुवाकोट माइत भएकी २० दिनकी सुत्केरी महिला शर्मिला ढकालले भूकम्पका कारण माइती गुमाउनुप¥यो । माइतमा भएको घर र गोठ बस्न नमिल्ने गरी क्षतिग्रस्त भयो । “बीस दिनको बच्चा छ, समयमा एक छाक खान छैन, यही बेलामा दाइ र भाउजूको घरले च्यापेर मृत्यु भयो, यहाँ त्रिपालमा बस्दै आएकी छु, डर लागेको छ फेरि भूकम्प आउने हो कि भनेर”, उनले दुखेसो गगरे ।

टुँडिखेलमा ओरेक नेपालको संरक्षणमा रहँदै आउनुभएकी विराटनगरकी शान्ति खवासीको पेटमा नौ महिनाको बच्चा छ । उनलाई अहिले खान बस्नका लागि त समस्या छैन । तर, भूकम्पको त्रासले सताइरहेको छ । चिन्ता छ । भाडामा बसिरहेको सोह्रखुट्टेमा रहेको भवन बस्न नमिल्ने गरी चर्किएको छ । अब कहाँ बस्ने, के खाने सताएको छ खवासीलाई । राधिका, शर्मिला र शान्ति जस्तै खुला स्थानमा बस्दै आएका अन्य महिलाका पनि उस्तै पीडा छन् ।

व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले विनाशकारी भूकम्पका कारण सुत्केरी महिलामा परेको प्रभावबारे विशेष ध्यान दिन सम्बन्धित निकायलाई सुझाव दिँदै आएको छ ।

परोपकार प्रस्तुति तथा स्त्रीरोग अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमले सञ्चारमाध्यममा आएको जस्तो सुत्केरीको सङ्ख्या आएको छैन, तर पेटभरि खान, सुत्न नपाएर र मनोवैज्ञानिक रोगका कारण बिरामी परेर सुत्केरी र गर्भवती महिला आउने गरेका छन् भने । प्रस्तुति अस्पतालको एउटा भवन चर्किएको हुँदा सुत्केरी महिलालाई बाहिर पालमुनि राखेर उपचार गराइएको छ ।