जमिन कसरी हल्लियो? तथ्यांक अझै गोप्‍य

0 4
काठमाडौं : भूकम्प मापन केन्द्रले विनाशकारी भूकम्प आएको एक महिना बित्न लागिसक्दा पनि जमिन कसरी हल्लियो भन्ने तथ्यांक (ग्राउन्ड मोसन डाटा) सार्वजनिक गरेको छैन। यो तथ्यांकको अभावमा कुन ठाउँको जमिन कसरी हल्लियो, डाँडाका घर किन भत्के र कुन-कुन ठाउँ भूकम्पीय जोखिममा छन् भन्ने अध्ययन हुन सकेको छैन।
अन्य विकसित देशमा भूकम्प र त्यसका परकम्प गएलगत्तै यस्ता तथ्यांक तत्काल वेबसाइटमै राखेर सार्वजनिक गर्ने गरिए पनि नेपालमा सार्वजनिक गर्ने चलन नभएकाले अनुसन्धानमा अप्ठेरो परेको भूगर्भविद् बताउँछन्।
‘डाँडाका घरहरू किन भत्किए भन्ने अहिले सबैको चासो छ’, केन्द्रसँग ग्राउन्ड मोसन डाटाका लागि ताकेता गरिरहेका एक विदेशी विश्वविद्यालयका प्राध्यापक एवं भूगर्भविद्ले आफ्नो नाम नछाप्न आग्रह गर्दै भने, ‘डाटा नै नपाएर हामीले पूर्ण विश्लेषण गर्न पाएका छैनौं।’
ती विज्ञका अनुसार त्यस्तो डाटा ‘मोडलिङ’ गरेर ‘वेभ ट्रान्सफर’ कति भयो भन्ने थाहा हुन्छ, जसका आधारमा माटो र चट्टान के कति दरले हल्लिएको भन्ने तथ्य थाहा लाग्छ।
त्यसबाट कुन कुन बस्ती र क्षेत्र जोखिममा छन् भन्ने पनि थाहा हुन्छ। ‘भूकम्प आएपछि कसरी हल्लाउँछ र घरहरू कसरी त्यसको जोखिममा पर्ने रहेछन् भन्ने थाहा लाग्छ’, ती विदेशी विज्ञले भने।
केन्द्रले तथ्यांक सार्वजनिक नगर्दा विभिन्न देशका विभिन्न विज्ञले अनुमानका भरमा विश्लेषण गर्ने हुनाले सही जानकारी नआउने अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटीका सहप्राध्यापक एवं जियोटेक्निकल इन्जिनियर विनोद तिवारीले बताए।
‘डाटा पाएमा विश्वभरका विज्ञहरूको तथ्यांकमा आधारित रहेर एउटै मत आउँथ्यो’ उनले अन्नपूर्णसँग भने, ‘यसले नेपाललाई फाइदा पुग्थ्यो, जति ढिलो गर्‍यो जनता उति अन्योलमा पर्नेछन्।’
नेपालमा रहेका सबै भूकम्प मापन स्टेसन फ्रान्स सरकारले खडा गरिदिएको हो। उसले अनुमति नदिएसम्म नेपालले जमिन कसरी हल्लियो भन्ने डाटा (तथ्यांक) सार्वजनिक गर्न सक्दैन।
डाटा किन सार्वजनिक नगरेको भन्ने प्रश्नमा केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपालमा भूकम्प मापन केन्द्र नै नभएको बताए। ‘अरूले दिएको स्टेसन छ’, उनले भने, ‘सरकारको लगानीमा स्टेसन नभएकाले अरूको सहयोगमा राखिएको छ, भन्नेबित्तिकै डाटा पाउन सजिलो छैन।’
राजधानीमा एउटासहित देशभर ठूलो धक्का मापन गर्ने स्टेसन जम्मा सातवटा मात्र छन्। अन्य भूकम्प मापन गर्ने २१ केन्द्र छन्। ‘हामीसँग साधन स्रोत र लगानी भइदिएको भए यस्ता डाटा सजिलै र छिटै आउँथे’, अधिकारीले भने, ‘यस्तो डाटा लिन सबैलाई आतुरी छ।’
अधिकारीका अनुसार अनुसन्धानका लागि यस्तो डाटा कसले छिटो पाउने भन्ने तँछाडमछाड नै हुने गरेको छ। ‘हामीले भूकम्प र परकम्पका डाटा समय समयमा भवन विभागलाई उपलब्ध गराउँदै आएका छौं’, उनले भने, ‘सार्वजनिक नै नगर्ने भन्ने होइन, तर समय लाग्छ।’
खानी तथा भूगर्भ विभाग स्रोतका अनुसार नेपालमा रहेका सबै भूकम्प मापन स्टेसन फ्रान्स सरकारले खडा गरिदिएको हो। उसले अनुमति नदिएसम्म नेपालले जमिन कसरी हल्लियो भन्ने डाटा सार्वजनिक गर्न सक्दैन। ‘उसको अनुमति नपाएसम्म डाटा सार्वजनिक गर्न हामीलाई गाह्रो छ’, स्रोतले भन्यो।
जमिनमुनिको माटोअनुसारको संरचना बनाउन यस्तो डाटा उपयोगी मानिन्छ। उपत्यकालगायत देशका अन्य ठाउँमा माटो परीक्षणबिना घर बनाइएका कारण क्षति धेरै भएको भूगर्भविद्हरूको ठम्याइ छ।
उनीहरूले माटो परीक्षण गरेर त्यसअनुसारको संरचना निर्माण गरेमात्र भूकम्प आउँदा नभत्कने बताउँदै आएका छन्। गत वैशाख १२ र २९ गतेका विनाशकारी भूकम्पले देशभर करिब पाँच लाख घर ध्वस्त भएका छन्।